रुवाइन् मनीषाकी आमाले

रुवाइन् मनीषाकी आमाले

पोखरा : छोरीको किताब विमोचन गरिन् र सरासर मञ्चबाट लट्ठी टेकेर ओर्लिन खोजिन्। उद्घोषकले केही शब्द राखिदिन आग्रह गरेपछि माइकतिर सोझिइन्। ‘धेरै वर्षअघि मनीषालाई पाउँदा हस्पिटलमा मेरो बुवाले यस्तो अनुहार लगाएकोथ्यो’, आफ्नै अनुहार खुम्च्याउँदै थर्थराउँदो आवाजमा उनी बोलिन्, ‘त्यो दिन मैले आफ्नो छोरीको अनुहार हेरेर सोच्याथें, तँलाई यस्तो बनाउँला छोरी, जम्मै बुवाहरूलाई तेरोमाथि गर्व होला।’

अभिनेत्री मनीषा कोइरालाकी आमा सुष्मा पोखरामा शनिबार सुरु ‘अन्तर्राष्ट्रिय नेपाल लिटरेचर फेस्टिभल’को सुरुआतमा छोरीको किताब ‘हिल्ड’ विमोचनपछि बोल्दै थिइन्। उनले ससुरा बीपी कोइरालाबारे पनि बेलीविस्तार लगाइन्।

‘मेरो ससुरा बीपी त्यो बेला लन्डन हुनुहुन्थ्यो, एउटा कार्ड पठाउनुभाथ्यो र लेख्नुभाथ्यो—नानु अहिलेसम्म त तिमीले मेरो नाति पाइसक्यौ होला’, सुष्माले भनिन्, ‘अनि मैले लेखेँ—बाबा मैले त छोरी पाएँ। उहाँले लेख्नुभा’छ, होइन यो कोइरालाहरूको गर्वको कुरा हो।’ सुष्माले सुक्काउँदै ती कुरा सुनाउँदा दर्शकदीर्घा भावुक भयो।

आमा सुष्माले त्यतिका कुरा सुनाइसकेपछि अभिनेत्री मनीषाको आत्मकथामाथि अभिनेता राजेश हमालसँग गफिइन्। क्यान्सरले गाँज्दा जीवन सकिएको अनुभव गरेकी उनले निको भइसकेपछि भने त्यही रोगका कारण जीवन र जगत्लाई हेर्ने दर्शनै बदलिएको सुनाइन्। पेन्गुइनले प्रकाशन गरेको मनीषाको किताब उनकी आमा सुष्मा कोइराला, अभिनेता राजेश हमाल, फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारी र पेन्गुइनका प्रतिनिधि अल्केशले सार्वजनिक गरेका थिए।

सुष्मा कोइरालाले महिलामाथिकै विभेदको कुरा सुनाउनुअघि नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले महिलालाई सहभागिता र अवसर नदिएर पनि हिंसा भइरहेको भन्दै ‘महिलामाथि अन्याय’ शीर्षकमा प्रमुख वक्ताको रूपमा धारणा राखेकी थिइन्। उनले पछिल्ला घटनालाई हेर्दा नेपाल प्रहरी परिमार्जन गर्नुपर्ने खाँचो औंल्याइन्। त्यसअघि अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक हरिबहादुर थापाले सुशीला कार्कीले अकुत सम्पत्ति आर्जनमा रामाज्ञाप्रसाद चतुर्वेदी र जयप्रकाश गुप्तालाई भ्रष्टाचारी ठहर गरेपछि उनको बेन्चमा पेसी तोकिनै आनाकानी भएको सुनाए। ‘कार्कीको बेन्चमा परेका भ्रष्टाचारसम्बन्धी मुद्दामा कसैले उन्मुक्ति पाएनन्, सबै भ्रष्टाचारी ठहर भए’, उनले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले फेस्टिभलमा छलफल हुने र भएका विषयवस्तुले नेपालको सांस्कृतिक पहिचान र समृद्धिलाई टेवा पुर्‍याउने आशा व्यक्त गरे। ‘यस्ता प्रकारका कार्यक्रमहरूले नेपाली सांस्कृतिक पर्यटनको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्नेछन्’, उनले भने। पर्यटन बोर्डका सीईओ दीपक जोशी र साहित्य सम्मेलनको मुख्य प्रायोजक आईएमई ग्रुपका हेमराज ढकालले पनि साहित्यसँगको सहकार्य फलदायी हुने विश्वास राखे।

बुकवर्म फाउन्डेसनले र्‍यान्डम रिडर्स सोसाइटीसँगको सहकार्यमा तेस्रोपटक पोखरामा लिटरेचर फेस्टिभल आयोजना गरेको हो। सन् २०११ मा काठमाडौंमा सुरु फेस्टिभलको यसपालि सातौं संस्करण हो। पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख जोर्ज जोन र एलियम्मा जोनले शनिबार कार्यक्रम उद्घाटन गरे। त्यसअघि साहित्यकार सरुभक्तले जोर्ज जोन पोखराको उच्च शिक्षाको उज्यालो ल्याउने प्रमिथस भएको बताए।

शनिबार ‘अझै रमिता छ’ शीर्षकमा मञ्जु श्री थापा र कृष्ण धरावासीसँग केदार शर्माले संवाद गरे। सरुभक्त, गनेस पौडेल र तीर्थ गुरुङसँग ‘पागल बस्तीपछिको पोखरेली आख्यान’ विषयमा कुमारी लामाले संवाद गरिन्।

निकाला स्ट्रिनसँग कञ्चन बुढाथोकीले ‘द आर्ट अफ दी ग्राफिक मेम्बायर’ बारे संवाद गरेकी थिइन्। ‘अन्सर्टेन जर्निज’ किताब विमोचनसँगै एज पनिरसल्भान, जनकराज सापकोटा र सब्रिना तोप्पासँग रम्यता लिम्बूले संवाद गरिन्।

पाँचौं सेसनमा कान्तिपुरका प्र्रधान सम्पादक नारायण वाग्ले र स्तम्भकार खगेन्द्र संग्रौलाले ‘सम्पादक र स्तम्भकार’ शीर्षकमा अन्तरसंवाद गरे। उक्त अवसरमा संग्रौलाले स्तम्भकारको भूमिका सरकारको प्रतिपक्षीका रूपमा रहेका धारणा राखे। उनीहरूबीच रोचक घोचपेचसमेत चलेको थियो। सोही समयमा लेखक मोहम्मद हनिफको पुस्तक ‘रेड बड्र्स’का विषयमा कुन्द दीक्षितले संवाद गरे। कार्यक्रमको अन्तिम सत्र थियो, ‘ठाडै ठट्टा’। यो सेसनमा आआफ्नो प्रस्तुति दिए— सीमा गोल्छा, शैली बस्नेत र आयुष श्रेष्ठले। फेस्टिभल १० पुससम्म चल्नेछ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.