मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन
मुस्ताङ : भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ मा लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरिएको छ । हिजो नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसीन्हर्वु गुरुङले संयुक्त रुपमा भवनको उदघाटन गरेका हुन् ।
चार वटा ब्लक र सम्बद्ध संरचनाहरुसहितको यो दुई तले छात्रावास भवनको निर्माण कार्यलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । जसलाई मुस्ताङको लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो । लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले स्थानीय साँस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । बौद्ध शिक्षाका अतिरिक्त यस विद्यालयले नेपाल सरकारको शैक्षिक प्रणाली अनुरुपको गुणस्तरीय पाठ्यक्रम समेत प्रदान गर्दै आएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यस परियोजनाका सम्पूर्ण सरोकारवालाहरुलाई शुभकामना व्यक्त गरेका छन् । उनले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धतालाई दोहोर्याए । लोमन्थाङ गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाहरुले भारत सरकारको तर्फबाट प्रदान गरिने विकास सहयोगको प्रशंसा गरेका छन् । उनीहरुले नयाँ पूर्वाधारले लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको आवास सुविधा र समग्र सिकाइ वातावरणमा सुधार ल्याउन मद्दत पुग्ने कुरामा जोड दिएका छन् ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारले नेपालका सबै ७ वटै प्रदेश र ७४ वटा जिल्लाहरु समेट्ने गरी करिब ६०० वटा परियोजनाहरु अघि बढाइसकेको छ । यीमध्ये मुस्ताङ जिल्लाका १८ वटा परियोजनाहरुसहित गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरुमा ६३ वटा परियोजनाहरु रहेका छन् । विगतका वर्षहरुमा भारत सरकारले मुस्ताङ जिल्लामा ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस सहित गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरुलाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ ।
प्रतिक्रिया दिनुहोस !