स्वकीय र सहयोगीको पारिश्रमिक उनीहरुकै खातामा
हेटौंडा : प्रदेश नम्बर ३ का मुख्यमन्त्री तथा मन्त्रीहरुले स्वकीय सचिव र सहयोगीहरुको पारिश्रमिक सिधै उनीहरुको खातामा पठाउने व्यवस्था गरेको छ ।
संघीय सरकारका मन्त्री तथा सांसदहरुले स्वकीय सचिवको पारिश्रमिक पनि आफ्नै खातामा संकलन गरेको समाचार सार्वजनिक हुन थालेपछि प्रदेश ३ सरकारका मन्त्रीहरुले भने सिधै उनीहरुको खातामा पठाउने व्यवस्था गरेको हो ।
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको आठजना र अन्य पाँचजना मन्त्रीहरुको पाँच÷पाँच जना स्वकीय सचिव सहित सहयोगी रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
‘सम्बन्धित व्यक्तिहरु सबैको आ–आफ्नो खातामा रकम पठाउने व्यवस्था गरेका छौँ’, मुख्यमन्त्री कार्यालयका लेखा अधिकृत देवी प्रसाद गौतमले भने ।
मुख्यमन्त्री, मन्त्रीहरुको पारिश्रमिक र अन्य सुविधासँगै स्वकीय सचिव र अन्य सहयोगीहरुको पारिश्रमिक वापत मासिक १२ लाख १६ हजार रुपैयाँ खर्च हुने मुख्यमन्त्री कार्यालयको तथ्याङ्क छ । प्रदेश ३ का मुख्यमन्त्री र मन्त्रीहरुका स्वकीय सचिव, अन्य सहयोगी र सवारी चालक गरी ३८ जना सहयोगी छन् ।
काठमाडौंमै घर भएका संघीय संसदका केही सांसदले घरभाडा लगायत दोहोरो सुविधा लिए पनि ३ नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले घरभाडा वापत सुविधा लिएका छैनन् । मुख्यमन्त्री र मन्त्रीहरुलाई सरकारी आवास उपलब्ध गराइएकाले घरभाडा नदिएको मुख्यमन्त्री कार्यालयका लेखा अधिकृत गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस !