फुटबल कला पस्कँदै ‘टेकगज’ र ‘रिमझिमकली’

फुटबल कला पस्कँदै ‘टेकगज’ र ‘रिमझिमकली’

सौराहा(चितवन) : रहरलाग्दो हात्तीको एउटा छावा गुडिरहेको बल नियन्त्रण गर्ने कोसिस गर्दै थियो। बललाई गोलपोस्टमा छिराउने उसको प्रयास थियो। उसको प्रयासलाई रोक्ने कोसिसमा थिई उस्तै उमेरकी ‘रिमझिमकली’। यिनीहरूबीच फुटबल हान्न निकै प्रतिस्पर्धा भएको थियो। १० दिनदेखि उनीहरूको अभ्यास निकै रोमाञ्चक थियो। सौराहामा हुने हात्ती महोत्सवमा ‘टेकगज’ र ‘रिमझिमकली’ले आफ्नो कला देखाउँदै छन्।

यिनीहरू प्हिलोपटक सहभागी हुन लागेका हुन्। सहभागिताका लागि उनीहरूलाई अभ्यास गराइएको हो। चितवन राष्ट्रिय निकुञ्जका दुई छावाले महोत्सवका लागि फुटबल अभ्यास गरिरहेका छन्। ठूला हात्तीहरूलाई छक्काएर बल हान्न सिपालु भएका छन्। उमेरले पाँच वर्ष पुगेको ‘टेकगज’लाई रामजीवन चौधरीले सिकाउँदै छन्। चौधरीको इशारामा बललाई आफ्नो नियन्त्रणमा लिएर विपक्षी पोस्टमा छिराउन सिपालु भएको छ टेकगज। बल देखेपछि टेकगजको नजर त्यतै पुग्छ। तीव्र गतिमा दौडिएर आफ्नो कला देखाउन सिपालु भएको छ। बल हान्न नपाएसम्म विपक्षीलाई घेरामा राख्ने कला सिकेको छ। टेकगजले बल हान्न र गोल गर्न छिटो सिकेको पनि माहुते रामजीवन चौधरीले बताए।

टेकगजको प्रयासलाई साँढे पाँच वर्षकी ‘रिमझिमकली’ले खुबै चुनौती दिँदै थिई। विपक्षीबाट बल खोसेर गोल हान्ने कला अद्भुत छ। सुरुमा बल देख्दा भाग्ने गरेको भए पनि रिमझिमकलीको अहिले निकै प्रगति भएको छ। अहिले बल देखेपछि त्यसलाई आफ्नो कब्जामा लिन आतुर हुन्छे। ‘सुरुमा बल देख्दा भाग्ने गर्थी। सिकाउँदै गएपछि बलको पछि दौडन थालेकी छ’, माहुते रामदयाल चौधरीले भने।

क्षेत्रीय होटल संघले बर्सेनि आयोजना गर्दै आएको १५औं संस्करणको अन्तर्राष्ट्रिय हात्ती महोत्सव बुधबारबाट सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ। पर्यटक प्रवद्र्धन गर्न आयोजना गरिने महोत्सवको अन्तिम तयारी भएको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए।

महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने प्रतियोगिता, छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती शृंगार प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिनेछ। पर्यटक तान्नकै लागि महोत्सव केन्द्रित गरिएको हो।

पहिला अन्तर्राष्ट्रिय हात्ती दौडका रूपमा आयोजना गरिन्थ्यो। केही वर्षयता यसलाई परिमार्जित गरेर हात्ती महोत्सवका रूपमा आयोजना गर्न थालिएको हो। क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै महोत्सव गर्ने गरिन्छ। हात्ती दौडबाट प्रारम्भ भएको महोत्सवमा बेग्लै आकर्षणका रूपमा ‘हात्तीपोलो’ आयोजना सुरु गरिएको छ। अहिले हात्तीलाई चौरमा लगेर नियमित पोलो खेलको अभ्यास गराइएको छ। ‘दर्शकको रोजाइअनुसार पोलोलाई निरन्तरता दिएका हौं। हात्तीको कलाले दर्शक मोहित हुनु नै हाम्रो सफलता हो’, पोलोका संयोजक अञ्जनकुमार पाण्डेले भने। महोत्सवका क्रममा सौराहाको बाघमारा सामुदायिक वनमा हात्तीको कला हेर्न स्वदेशी र विदेशी पर्यटकको ठूलो भीड लाग्ने गर्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.