समयमा काम नसक्नेलाई कालोसूचीमा

समयमा काम नसक्नेलाई कालोसूचीमा

गोरखा : ०७२ सालको भूकम्पको केन्द्रबिन्दु बारपाकसम्म सडक कालोपत्रे काम समयमा पूरा नगर्ने ठेकेदारलाई कालोसूचीमा राखिने भएको छ। भूकम्पको दुई वर्षभित्र सडक कालोपत्रे हुने प्रधानमन्त्रीबाट आश्वासन पाएका बारपाकवासीको सपना तुहाउने नागार्जुन त्रिशूली जेभीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको ११ किलो बारपाक सडक योजना कार्यालयले जनाएको छ।

नागार्जुन त्रिशूली जेभीले ०७१ साल असारदेखि सडकको १२ देखि १७.५ किमिसम्मको करिब ६ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का लिएको थियो। चैतसम्म कालोपत्रे सक्नुपर्ने नागार्जुनले सम्झौता अवधिमा ७० प्रतिशत मात्रै काम सकेको छ। ठेकेदार कम्पनीले काम अघि नबढाएको र म्याद थप पनि प्रस्ताव नगरेको इन्जिनियर शंकर पौडेलले जानकारी दिए।

सम्झौताअनुसार काम नगरेको, सम्पर्कमा नआएको ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु भएको इन्जिनियर पौडेलले बताए। ‘कार्यालयले नागार्जुनको मोभिलाइजेसन बैंक ग्यारेन्टी रोक्का गरिसकेको छ’, उनले भने, ‘कालोसूचीमा राख्ने यो पहिलो प्रक्रिया हो।’

कार्यालयले फरक–फरक ठेकेदार कम्पनीमार्फत ४ प्याकेजमा गोरखा, बारपाक सडकखण्डको काम थालेको थियो। तर, पहिलो खण्डको जिम्मा लिएको नागार्जुन–त्रिशूली जेभीले ३० प्रतिशत काम छाडेर सम्पर्कविहीन भएको कार्यालयले जनाएको छ। ‘नागार्जुनले गर्ने काममा अझै पाँच किलोमिटर कालोपत्रे गर्न बाँकी छ’, इन्जिनियर पौडेलले भने, ‘सडकमा बेस हालिसकेको छ। अब कालोपत्रे बिच्छ्याउने काम बाँकी छ तर सामग्री नभएको भन्ने बाहाना बनाएर उनीहरू काम छाडेर सम्पर्कविहीन भएका छन्।’

१० करोड रुपैयाँमा ठेक्का लिएको कम्पनीले ७ करोड रुपैयाँ भुक्तानी लगिसकेको कार्यालयले जनाएको छ। सडकको दोस्रो प्याकेजअन्तर्गत १७.५ देखि २२.५ किमिसम्मको सडक कालोपत्रेको जिम्मा पाएको कन्काई जेभीले ६० प्रतिशत काम सकेको छ। कन्काईले असारसम्म सम्झौताअनुसार कालोपत्रे गरिसक्नुपर्ने हुन्छ। हालसम्मको कार्यप्रगतिअनुसार कन्काईले निर्धारित समयमा काम सम्पन्न गर्न सक्ने देखिएको इन्जिनियर पौडेलले जानकारी दिए। ‘एक वर्ष भयो कन्काईले काम थालेको’, उनले भने, ‘सडकका कटिङ सकेर सब–बेस हालिसकेको छ। यही गतिमा काम गरे ठेक्का अवधिमा काम पूरा हुन्छ।’

गोरखा बारपाक सडकको तेस्रो प्याकेजको जिम्मा लिएको लोहनी एन्ड ब्रदर्सले निर्धारित समयमा काम नसकेर दोस्रो पटक समय थपेको छ। थपिएको म्यादअनुसार वैशाखसम्म २२ देखि ३० किलोमिटरको आठ किमि कालोपत्रे गर्नुपर्ने हुन्छ। हालसम्म यस कम्पनीको करिब ५० प्रतिशत मात्रै प्रगति देखिएको कार्यालयले बतायो। ‘यस खण्डमा वनका कारण केही ढिलाइ भयो’, उनले भने, ‘वनको विवाद मिलाएका छौं, अब नाली बनाउन बाँकी छ। मुख्य काम धेरै सकिएको छ।’

आवश्यकताअनुसार निर्माण सामग्री पाए थपिएको समयमा काम सक्ने ठेकेदारले प्रतिबद्धता जनाएको उनले बताए। अन्तिम प्याकेजमा ३० देखि ४६ किलोमिटर कालोपत्रेको जिम्मा पाएको रसुवा एलाइट जेभीले पनि ५० प्रतिशत मात्र काम सिध्याएको छ। निर्धारित समयमा काम नसकेपछि चैतका लागि म्याद थपेको छ। यस खण्डमा भौगोलिक हिसाबले पनि निर्माण कठिनाइ भएकाले ढिलाइ भएको इन्जिनियर पौडेलको भनाइ छ। थपिएको समयमा काम सक्न ठेकेदार कम्पनीलाई सचेत बनाएको उनले बताए।

सडक निर्माण गर्न आवश्यक पर्ने नदीजन्य सामग्री अभाव हुन नदिन सम्बन्धित गाउँपालिकालाई कार्यालयले पत्राचार गरेको छ। असार मसान्तसम्म बारपाकसम्मको सडक कालोपत्रे सक्ने लक्ष्य भए पनि हालसम्म सो सडकको समग्रमा ५० प्रतिशत मात्रै काम भएको ११ किलो–छेपेटार–भालुस्वाँरा सडक आयोजना कार्यालयले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.