लुम्बिनीमा भारतीयको भीड
![लुम्बिनीमा भारतीयको भीड](https://annapurnapost.prixacdn.net/media/albums/Indian-bus_20190103040002_1sEwH71LcA.jpg)
बुटवल : अंग्रेजी नयाँ वर्ष मनाउन सयौं भारतीय पर्यटक नेपाल भित्रिएका छन्। बेलहिया नाका हुँदै नेपाल भित्रिएका भारतीयका कारण सोमबार बेलहिया सडक जाम भएको छ। नेपाल भित्रिने साधनलाई पटके पास उपलब्ध गराउने यातायात व्यवस्था कार्यालयको तथ्यांकअनुसार पछिल्लो एक सातामा करिव एक हजार दुई सय गाडी नेपाल भित्रिएका छन्। ती सबै गाडी पर्यटक बोकेर भित्रिएका हुन्।
भारतीयको पहिलो रोजाइमा लुम्बिनी, पोखरा, सौराहा र काठमाडौं छन्। लुम्बिनी क्षेत्रमा खोलिएका स्तरीय होटलले भारतीय आवागमनलाई बढाएको पर्यटन व्यवसायी बताउँछन्। सोमबारमात्रै बेलहिया नाका हुँदै दुई सय २२ पर्यटक गाडीले पटके पास लिएको यातायात कार्यालय प्रमुख सन्तोषकुमार सिंहले जानकारी दिए।
भारतीय पर्यटक कार, जीप, बस लिएर नेपाल प्रवेश गर्ने गरेका छन्। सो बापत पटके पास लिनुपर्ने हुन्छ। भन्सारमा भने छुट्टै दस्तुर दैनिक हिसाबले तिर्नुपर्छ। लुम्बिनी क्षेत्रमा खोलिएका होटलहरू भरिभराउ छन्। लुम्बिनी र बुटवलमा भएको सडक महोत्सवमा समेत भारतीय नागरिकको सहभागिता हुने गरेको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले सडक महोत्सवले भाररतीय पर्यटकलाई आकर्षण गरेको छ। ‘भारतीयहरू नेपाली संस्कृतिमा बढी भुल्ने गरेका छन्, यस्ता गतिविधिले धेरै पर्यटक भिœयाउन सकिन्छ’, उनले भने।
पर्यटकको ओइरो लागेपछि यस क्षेत्रका सबै होटल भरिएका छन्। पाँचतारे होटल टाइगर प्यालेसमा रहेको क्यासिनोले समेत भारतीय पर्यटकलाई आकर्षण गरेको छ। रूपन्देहीमा तीनवटा क्यासिनो चालु अवस्थामा छन्। लुम्बिनी क्षेत्रमा रहेका अधिकांश होटलसमेत भरिएको होटल व्यवसायी मिथुनमान श्रेष्ठले बताए। लुम्बिनीमा भएको सडक महोत्सवमा सयौं पर्यटक रम्ने गरेको उनले बताए।
पोखरा सडक महोत्सवका लागि पनि सयौं भारतीय पुग्ने गरेका छन्। नौतनवा, गोरखपुर क्षेत्रका भारतीय पोखरा र सौराहामा पुग्ने गरेका छन्। तेस्रो मुलुकका पर्यटकभन्दा भारतीय पर्यटक नेपालका लागि फाइदा हुने होटल व्यवसायी बताउँछन्। ‘युरोपियन लगायत अन्य मुलुकका पर्यटकको खर्च गर्ने बानी निकै कम हुन्छ, भारतीय पर्यटक खर्चालु हुन्छन्’, होटल व्यवसायी श्रेष्ठले भने।
पछिल्लो एक सातामा करिव एक हजार दुई सय गाडी नेपाल भित्रिएका छन्। ती सबै गाडी पर्यटक बोकेर भित्रिएका हुन्।
भारतीय पर्यटकका कारण यौन व्यवसाय मौलाएको भन्ने गुनासो समेत बढेको छ। तर यहाँ खुल्दै गरेका पाँचतारे होटलले भारतीय पर्यटकको आवागमन सर्वेक्षण गरेर मात्रै लगानी गर्दै आएका छन्। पछिल्लो समय लुम्बिनी क्षेत्रमा पाँचतारे होटल खुल्ने क्रम बढेको छ। टाइगर प्यालेस सञ्चालनमा आएसँगै अर्को तारे होटल पवन तयारी अवस्थामा छ। लुम्बिनीमा तारे होटलको संरचना निर्माण सुरु भइसकेकको छ।
भैरहवा विमानस्थल निर्माण सकिनै लाग्दा होटलको क्षमता विस्तारमा व्यवसायीहरू लागेका छन्। सिद्धार्थ होटल व्यवसायी संघका अध्यक्ष सीपी श्रेष्ठले पर्यटक आवागमन वृद्धिले व्यवसायीमा उत्साह छाएको बताए। ‘विगत वर्षभन्दा पर्यटक आवागमन निकै बढेको छ’, उनले भने। सरकारी तथ्यांकले समेत लुम्बिनी आउने पर्यटकको संख्यामा झन्डै २३ प्रतिशतले वृद्धि भएको छ।
पर्यटन तथा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले केही समयअघि लुम्बिनीमा आयोजित एक कार्यक्रममा लुम्बिनी मुलुककै धेरै पर्यटक घुम्ने गन्तव्य रहेको बताएका थिए। ‘लुम्बिनीमा आउने पर्यटकले धेरै उत्साहित बनाएको छ’, उनले भनेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)