स्वर्गद्वारीका मेयरमाथि आक्रमणको प्रयास : विप्लवको चेतावनी
प्यूठान : स्वर्गद्वारी नगरपालिका प्यूठानका नगरप्रमुख नेत्रबहादुर रोकायलाई अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ।
मंगलबार दिउँसो कार्यालय समयमा विभिन्न योजनाको विषयमा छलफल भइरहेका बेला अपरिचित तीन जनाको समूहले शरीरमा प्रज्वलनशील पदार्थ खनाएको रोकायले बताए।
अपरिचित व्यक्तिले नगरपालिका र मेयरलाई ‘हाम्रो कब्जामा छस’ भन्दै धम्की दिएको नगरपालिकाले जारी विज्ञप्तीमा उल्लेख छ।
कार्यालयको नियमित काममा भने कुनै बाधा नपुगको प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम गैरेले जानकारी दिए।
यसैबीच, नगरप्रमुख रोकायलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ती जारी गर्दै कारवाहीको चेतावनी दिइएको छ। मेयरको हालको कामकारवाही नसच्चिए कठोर कदम चाल्ने उसले चेतावनी दिएको छ।
विप्लवको नाममा बेनामी चेक काटी भ्रष्टचार गरेको, उपभोक्ता समितिमा पार्टीका नेता कार्यकर्तालाई पदाधिकारी बनाएर किर्ते विल भरपाईमार्फत् मोटो रकम अनियमिता गरेको, अनावश्यक कर थोपारेको, संस्थागत रुपमा भ्रष्टाचार गरेको, प्राकृतिक स्रोतसाधनमाथि नीति नियम विपरित कमिशनको भरमा दोहन गर्न खोजेको, कर्मचारी पदपूर्तिमा विज्ञापन गरेको देखाई आफू निकट उम्मेदवारलाई नियुक्त गरेको आरोप विप्लव समूहको छ।
‘गतिविधि नसुध्रिए कठोर कदम चाल्न बाध्य हुनेछौ’,विप्लवका जिल्ला सेक्रेटरी अजयले टेलिफोनमा भने,‘राष्ट्रवादी व्यक्तिलाई सम्मान गर्छौ । तर, भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्नेलाई बाँकी राख्दैनौँ ।’
यता नगर प्रमुख रोकायले आफूमाथि लागेका आरोप पुष्टि गरेर देखाउन चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस !