अध्ययनसँगै आयआर्जन

अध्ययनसँगै आयआर्जन

दमक : संखुवासभाका आवाज शेर्पा अहिले झापाको कमल गाउँपालिका ७ स्थित सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको प्राविधिक शिक्षाअन्तर्गत डिप्लोमा इन एग्रिकल्चरको तेस्रो वर्षमा अध्ययनरत छन्। उनी बिहानै विद्यालय जान्छन्। त्यसपछि विद्यालय परिसरकै च्याउखेतीको टनेलमा दिन बित्छ।

सोही विद्यालयमा आफूसँगै अध्ययनरत ५ साथीसँग मिलेर उनले सामूहिक च्याउखेती गरिरहेका छन्। च्याउखेतीको नाम नै ‘६ भाइ च्याउखेती’ राखिएको छ। अध्ययनका लागि भेला भएका दैलेखका राजेश बिसी, काभ्रेका शेरबहादुर लामा, सुनसरीका पिन्टु मेहेता, उदयपुरका नितेश बस्नेत र पाँचथरका जेनर श्रेष्ठ दिनभर अध्ययनपछि आफूले लगाएको च्याउखेतीमा बसेर रमाउने गरेका छन्। उनीहरूका टनेलभित्र ६ सय बल छन्। तीन चरणमा लगाइएको च्याउमध्ये पहिलोबाट च्याउका मुना निस्किन थालेको छ। एउटा बलबाट चारपटकसम्म च्याउ टिप्न सकिने दैलेखका बीसी बताउँछन्।

एक बलबाट पाँच किलोसम्म च्याउ आउने गरेको पाँचथरका श्रेष्ठले बताए। अहिले सुरुमा ६० हजार रुपैयाँ लगानी गरेको लामाले बताए। उनले भने, ‘विद्यालयले १५/२० हजार रुपैयाँ निब्र्याजी ऋण दिएको छ। अरू हामी साथीले सात हजारका दरले उठाएर च्याउ लगाएका छौं।’ अध्ययनसँगै आर्जन पनि हुने भएकाले आफूहरू अझै उत्साही भएको उनले बताए। आफूले पढेको कुरा व्यवहारमा उपयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको शेर्पाको भनाइ छ। गर्न चाहे स्वदेशमै हुने उनले बताए।

यहाँ च्याउखेतीमात्र होइन, प्राविधिक विषय पढ्ने विद्यार्थीले बंगुर र कुखुरापालनसमेत गरेका छन्। तीन बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेतीसमेत गरेका छन्। अहिले यहाँ टीएसएलसीअन्तर्गत १८ महिने प्लान्ट साइन्सका विद्यार्थीले आईपीएम प्रविधिबाट तरकारी खेती गरिरहेका हुन्। बारीमा कोवी, राजमा, बन्दा, खुर्सानीलगायत तरकारी बाली लगाएका छन्। पढाइ अनुसारको प्रयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको पिन्टु मेहेताले बताए। उनले भने, ‘पढेर हातमा सर्टिफिकेट लिनुमात्र अध्ययन गर्नुको उपलब्धी होइन रहेछ। यसलाई व्यवहारमा उतार्न सक्नु प्रमुख कुरा रहेछ।’ केही भएन भने विदेशतिर लाग्नु पर्ने सोच बनाएका मेहेताको अहिले भने मनस्थिति फर्किएको छ।

यो विद्यालयमा पढाइ हुने प्राविधिक विषयमा युवाको आकर्षण बढ्दो छ। १८ महिने प्लान्ट साइन्स, एनिमल साइन्स (भेटेनरी) र तीन वर्षे डिप्लोमा इन एग्रीकल्चर पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद सेढाईंले बताए। विभिन्न २८ भन्दाबढी जिल्लाका दुई सयभन्दा बढी विद्यार्थीले सीटीईभीटीअन्तर्गत सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम (टीईसीएस) अध्ययन गरिरहेको उनले जानकारी दिए। यहाँ अध्ययनरत विद्यार्थीका लागि विद्यालयले अध्ययनसँगै आयआर्जनसमेत गरेको उनले बताए। विद्यार्थीलाई स्वदेशमै रोजगार बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ। प्राविधिक शिक्षाका लागि सीटीईभीटीले वार्षिक १५ लाख रुपैयाँ दिँदै आएको सेढाईंले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.