माथिल्लो तामाकोशी : ३ प्रतिशत काम सक्न अझै एक वर्ष

माथिल्लो तामाकोशी : ३ प्रतिशत काम सक्न अझै एक वर्ष

दोलखा : राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँकी तीन प्रतिशत निर्माण कार्य सम्पन्न गर्न अझै एक वर्ष लाग्ने भएको छ। आयोजनाको ठाडो सुरुङमा पाइप जडान कार्यमा ढिलाइ भइरहेका बेला लट–३ को एन्ड्रिज हाइड्रोले गर्ने सहमति भएसँगै संशोधित कार्यतालिका अनुसार ३ प्रतिशत कार्य सम्पन्न गर्न अझै एक वर्ष लाग्ने भएको हो। आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार लट–३ सँग भएको नयाँ सम्झौतापछि संशोधित कार्यतालिकाअनुसार २०७६ कात्तिक मसान्तमा व्यावसायिक उत्पादन थाल्ने लक्ष्य छ।

लट–२ अन्तर्गतको ठाडो सुरुङमध्ये तल्लो पेनस्टक, बिफुरकेसन, डिस्ट्रिब्युटर्सलगायत अत्यन्त जटिल तथा चुनौतीपूर्ण रहेको जडान कार्र्यका लागि आयोजनालाई थप आर्थिक भार नपर्ने गरी एन्ड्रिज हाइड्रोले गर्ने गरी सम्झौता भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिए। पहिलेको तुलनामा सडक केही सजिलो भएकाले ५० वटा पेनस्टक पाइप ढुवानीको काम निरन्तर भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए।

आयोजनाको माथिल्लो भर्टिकल साफ्ट ३१० मिटर र तल्लो भर्टिकल साफ्ट ३७३ मिटर पाइप जडानका लागि तयारी अवस्थामा भए पनि दुवै ठाडो सुरुङको जडान कार्य सुरु हुन सकेको छैन। माथिल्लो भर्टिकल साफ्टमा अढाइ मिटर लम्बाइका १२४ वटा र तल्लो भर्टिकल साफ्टमा पाँच मिटर लम्बाइका ७४ वटा पाइप जडान गर्न बाँकी छ। दोलखाको उत्तरी विगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाको काम समग्रमा ९७ दशमलव ५० प्रतिशत सम्पन्न भइसकेको छ। सिभिल निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको छ भने लट–२ ले सन्तोषजनक रूपमा कार्य गरिरहेको छ।

भूमिगत पावरहाउसको काम करिब सम्पन्न भइसकेको र टेस्ट गर्न तयारी अवस्थामा रहेको प्रवक्ता न्यौपानेको भनाइ छ। त्यसैगरी प्रसारणलाइन र रामेछापको बेतालीमा निर्माणाधीन सबस्टेसनको काम पनि कार्यसूचीअनुसार नै रहेको आयोजनाले जनाएको छ।

२०७२ को विनाशकारी भूकम्प र काममा अवरोधले महँगिएको आयोजना खाडीचौर–चरिकोट सडकमाभएको ढिलाइ र ऋणबापतको रकमले थप महँगिन पुगेको छ। आयोजनाले मासिक २८ करोडभन्दा बढी ऋणको ब्याज बुझाइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए। आयोजना ढिलाइ र ब्याजकै कारण यो सम्पन्न हुने बेलासम्म यसको लागत ७० अर्ब नाघ्ने उनको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.