न्यानो पार्ने साथी गाँती

न्यानो पार्ने साथी गाँती

गाँती टाउको, कान र शरीर छोपिने गरी घाँटीको पछाडि गठरी लगाइदिएर बाँधिने कपडा हो। गाँतीले बालबालिकाको घाँटी कसिने जोखिम रहन्छ। आगो ताप्न घुरमा बस्दा गाँतीको टालो लत्रिएर आगोमा पर्दा आगलागीबाट शरीर जल्ने खतरा पनि त्यत्तिकै हुन्छ।


जनकपुरधाम : भाइबहिनीहरू हिजोआज चिसो निकै बढेको छ। जाडो छल्न न्यानो कपडा चाहिन्छ। हुने खानेले बाक्लो लुगाफाटो सजिलै किन्छन्। तर, हुँदा खानेका लागि तराईको शीतलहर दुःखदायी बन्छ।

पुसको सुरुदेखि नै बढेको जाडोको मारमा गरिब बालबालिका परेका छन्। विशेषगरी मुसहर, डोम, बाँतरलगायतका जातिका मानिसले जाडो छल्न आफ्ना छोराछोरीलाई टालोको गाँती बाँधिदिने गरेका छन्। गाँतीले केही हदसम्म उनीहरूलाई कठ्याँग्रिदो चिसोबाट जोगाउँछ।

गाँती टाउको, कान र शरीर छोपिने गरी घाँटीको पछाडि गठरी लगाइदिएर बाँधिने कपडा हो। ओछ्यानमा ओछ्याउने तन्ना, बर्को र पुरोनो सुती साडीको टुक्रालाई गाँतीको रूपमा प्रयोग गर्ने गरिन्छ। गाँतीले बालबालिकाको घाँटी कसिने जोखिम रहन्छ। आगो ताप्न घुरमा बस्दा गाँतीको टालो लत्रिएर आगोमा पर्दा आगलागीबाट शरीर जल्ने खतरा पनि त्यत्तिकै हुन्छ।

गाँतीले बालबालिकाको जीवन कष्टपूर्ण मात्र होइन जोखिमपूर्ण पनि बनाएको छ। उनीहरूलाई बाँधिने गाँतीको सट्टा ज्याकेट, टोपीलगायतका न्यानो लुगाको व्यवस्था गर्न स्थानीय सरकारले चासो देखाएको देखिन्न। आर्थिक विपन्नताले गर्दा दलित मुसहरहरूले न्यानो लुगा किन्न नसक्ने कारणले गाँतीबाट बालबालिकालाई न्यानो बनाउने प्रयास गर्ने भोरका अध्यक्ष राजकुमार महतोले बताए। मुसहर जातिको लागि काम गर्दै आएको यस संस्थाका अध्यक्ष महतोले गाँती गरिब बालबालिकाका लागि एक प्रकारको ‘पासो’ जस्तै रहेको सुनाए। उनले भने, ‘ गाँतीले शीतलहर छल्दैन। बच्चाहरू उल्टै जोखिममा पर्छन्। तर बाध्यता छ।

विपन्नताले गर्दा उनीहरूले न्यानो लुगा किन्न सक्दैनन्।’ जनकपुर अञ्चल अस्पतालस्थित बर्र्नवार्डका डा. राजेश साहले खुकुलो लुगा लगाएर आगो ताप्दा लुगामा आगो सल्किएर आगलागीबाट शरीर जलेर घाइते भएकाहरू उपचारको लागि अस्पतालमा आउने गरेको बताए। उनका अनुसार विशेष गरेर महिला र बालबालिका यस्ता जोखिममा पर्ने गरेका छन्। ‘लुज लुगा लगाएर पछाडि फर्केर आगोमा ढाड सेक्दा आगो लागेको पत्तै हुँदैन’, उनले भने।

सरकारी तथा गैरसकारी संघसंस्थाहरूले जाडोमा न्यानो लुगाफाटोको नाममा सिरक, डसना, ब्ल्यांकेट र म्याट बाँड्ने गर्छन्। तर यस्ता गरिब बालबालिकाले लागाउने ज्याकेट, टोपी, स्विटरलगायतका न्याना लुगाफाटा उनीहरूको नजरमा परेको देखिन्न।

महोत्तरीस्थित भंगहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले गरिबका छोराछोरीलाई शीतलहरबाट बचाउन आफूहरूले कम्बल बाँडे तापनि न्याना लुगा बाँड्नुपर्छ भन्ने होस नआएको बताए। तराईको शीतलहरले गरिब बालबालिकाको जीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ। भंगहमा दलित समुदायका बालबालिकाको जनसंख्या महोत्तरीको अन्य क्षेत्रमा भन्दा बढी छ। न्यानो लुगाफाटोको अभावमा उनीहरू बिरामी पर्न थालेका छन्। रुखाखोकी, दम, निमोनियाबाट ग्रसित भएर उपचारको लागि जिल्ला अस्पताल जलेश्वर आउने बालबालिकाको चाप पनि बढेको डा.राजीव झाले जानकारी दिए। ‘चिसोबाट बिरामी परेर आउने बच्चाहरूमध्ये अधिकांश गरिब समुदायकै छन् ’, उनले भने।

शीतलहरमा बालबालिकालाई पनि न्यानो लुगाफाटो बाँड्नुपर्छ भन्ने आफ्नो दिमागमा पनि नआएको र कसैले चासो पनि नजगाइदिएको महोत्तरी मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलले बताए। उनले भने, ‘त्यसैले हाम्रो योजनामा बालबालिकाको लागि न्यानो कपडा वितरण गर्ने आफ्नो योजनामा पर्न सकेन। अब योजना बनाउँदा उनीहरूलाई प्राथमिकतामा राख्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.