अनशनविरुद्ध अनशन

अनशनविरुद्ध अनशन

काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे दुई जना अनशन बसिरहेका छन्। डा. गोविन्द केसी र विजय थापा। पुरानो सम्झौताबमोजिम विधेयक संशोधन गर्नुपर्ने केसीको माग छ भने जस्ताको तस्तै लागू हुनुपर्ने थापाको। दुवै जना इलाम पुगेर अनशन बसेका थिए। दुवैलाई झापाको भद्रपुर हुँदै सेनाको हेलिकोप्टरमा शुक्रबार काठमाडौं ल्याइयो। दुवैलाई उपचारका लागि एउटै अस्पतालमा राखिएपछि वातावरण अझ बिग्रिने भय बढेको छ।

दुवै अनशनकारीलाई शुक्रबार त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल ल्याएपछि कार्यकारी निर्देशक प्रा.डा. पे्रमकृष्ण खड्का चिन्तित छन्। परस्परविरोधी माग राखेर अनशनरत दुवै जनालाई उपचार गर्नुपर्ने बाध्यतामा छ, अस्पताल। ‘समस्याको गाँठो सुल्झने भन्दा झन् कस्सिने हो कि भन्ने चिन्ता छ,’ खड्काले भने, ‘दुवै पक्षका आआफ्नै विचार छ। अडान छ। समर्थक पनि छन्। अस्पतालमै द्वन्द्व हुने हो कि भन्ने चिन्ता छ।’

शुक्रबार बिहान साढे तीन बजे केसीलाई उतारेको सेनाको हेलिकोप्टरले छ घण्टापछि भद्रपुरबाट अर्का अनशनकारी थापालाई पनि ल्यायो। अस्पतालमा दुवै पक्षका समर्थकहरु भेट्न गइरहेका छन्। उद्धारमा चासो देखाएपनि सरकारले माग सम्बोधनमा भने बेवास्ता गरेको छ।

यो खिचातानीको स्थितिमा झडप वा घुसपैठ हुने हो कि भन्ने भय बढेको छ। त्यसैले शुक्रबार प्रहरी परिचालन गरियो। परिचालित प्रहरी संख्या भने महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाले खुलाउन चाहेनन। ‘आवश्यक संख्यामा प्रहरी तैनाथ गरिएको छ। सिभिल डे«समा पनि छन्,’ लामाले भने। केसीको उपचार कक्षबाहिर दुई जना प्रहरी राखिएको छ। आकस्मिक कक्षमा पनि दुई जना प्रहरी छन्।

चिकित्सा शिक्षा सुधारका माग राख्दै सोह्रौं अनशनमा छन् केसी। १० दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्थालाई ध्यान दिंदै अस्पतालले उपचार टोली बनाएको छ। डा. सुवासप्रसाद आचार्यको संयोजकत्वमा रहेको टोलीमा डा. प्रमेशसुन्दर श्रेष्ठ, डा. सूर्य देवकोटा, डा. पंकज पन्त, डा. रविन नेपाली र नर्सिङकी गंगा थापा छन्।

थापाको उपचार भने आकस्मिक कक्षमा भइरहेको छ। शुक्रबार मध्याह्न प्रधानमन्त्री कार्यालयबाट कार्यकारी निर्देशक खड्कालाई फोन गरेर थापाको उपचार व्यवस्था मिलाउन निर्देशन दिइएको थियो।

तर शुक्रबार साँझ ७ बजे थापा आकस्मिक कक्षबाट उठेर माइतीघर मण्डलामा अनशन बस्न पुगेका छन्। ‘आईसीयूमा राख्न अनुरोध गरेका थियौं। अस्पतालका कार्यकारी निर्देशकले खाली छैन भन्ने जवाफ फर्काउनु भयो। त्यसपछि जे त होला भन्दै माइतीघर मण्डलामा आएका हौं,’ थापाका सहयोगी पुष्प भण्डारीले बताए। काठमाडौं कागेश्वरीका २७ वर्षीय थापा ८ दिनदेखि अनशन बसिरहेको भण्डारीको भनाइ छ।

संक्रमणको जोखिम

केसी र थापालाई एकै ठाउँमा राख्दा आपसी द्वन्द्वको मात्र नभई आगन्तुकका कारण रोगको संक्रमण बढ्ने जोखिम समेत छ। केसीलाई भेट्नेहरूको ताँती छ। उनी आगन्तुकलाई हेर्छन् र सामान्य कुराकानी पनि गर्छन्। शुक्रबार उनलाई भेट्न कांग्रेस सांसद गगनकुमार थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र उच्च प्रहरी अधिकृतहरू पुगेका थिए।

सीडीओ आचार्यले केसीलाई सोधे, ‘कस्तो छ तपाईंलाई ? ’

‘यस्तै छ। ठिकै छ,’ केसीले जवाफ फर्काए। मुखमा मास्क नलगाएका आचार्यलाई डा. केसीले संक्रमणको जोखिम औल्याउँदै अर्कोपटक आउँदा मास्क लगाउनसमेत सुझाए।

केसी कमजोर र थकित देखिन्छन्। उनका भतिजा किशोरका अनुसार केसीलाई निमोनियाले थप गलाएको छ।

अर्को भवनमा उपचाररत थापाबारे भने कमैलाई मात्र चासो छ। केही समर्थकले उनलाई भेट्ने गरेका छन्। थापालाई कसैले परिचालन गरेको हुनसक्ने आशंका केसीले व्यक्त गरेका थिए।

रमिते सरकार

चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक रहेका प्राध्यापक केदारभक्त माथेमा सरकारी चाला देखेर छक्क पर्छन्। दुवैलाई एउटै अस्पतालमा राख्नु सरकारी अपरिपक्वता भएको उनी बताउँछन्। ‘सरकार अभिभावक हो। उपचार पाउने हक सबैको हुन्छ। तर एकै ठाउँमा ल्याएर राख्ने काम अपरिपक्वता हो। अरु अस्पताल पनि त थिए नि !’ उनले भने।

तर, सरकार यतिबेला तमासे देखिएको छ। केसीले संसदीय सर्वोच्चतालाई चुनौती दिएको आरोप प्रधानमन्त्री केपी ओलीले नै लगाएका छन्। शुक्रबार सांसदहरूको प्रश्नको जवाफ दिँदै ओलीले एक जना अनशन बसेर देश बन्धक बन्ने अवस्था आउन नहुने बताए। उनी केसीलाई गलाएरै छोड्ने अडानमा रहेको स्रोतले बतायो। यसबाट गतिरोधको गाँठो झन् कस्सिने देखिन्छ। त्यसैले यो विषयलाई राजनीतिक रङ दिन थालिएको छ। नेकपा नेताहरुले केसीलाई कांग्रेसले उचालेको आरोप लगाइरहेका छन्।

‘सुखी नेपाली र समृद्ध नेपालको नारा लगाउने सरकार सानो कुरामा अल्झेर हुँदैन। अभिभावकत्व दिन सक्नु पर्छ,’ माथेमाले भन्छन्, ‘राजनीतिक कलह गर्ने बेला होइन यो। कसैले उचालेर उचालिने व्यक्ति डा. केसी होइनन। उनलाई सबैले चिनेकै छन नि !’

कर्मचारीको चिन्ता

केसीको अवस्था गम्भीर हुँदै जाँदा समस्या झन् चर्किने र रेजिडेन्ट चिकित्सक आन्दोलनमा उत्रिए सेवा प्रवाहमा रोकिने चिन्ता अस्पतालमा छ। त्यसैले छिटो समस्या समाधान गर्न अस्पतालका कर्मचारी आग्रह गर्छन्।

विगतका अनशनमा सेवा बन्द गर्ने र नगर्ने भन्ने तर्क अस्पतालभित्रै उठेको थियो। अस्पताल प्रशासन प्रमुख सूर्यप्रसाद अधिकारी भन्छन, ‘आपसमै झगडा र हात हालाहालको अवस्था पनि आयो। डा. केसीको अनशनमा नैतिक समर्थन गरेपनि सेवा प्रवाह बन्द गर्नेतर्फ कोही नगइदिए जनताले सेवा पाउँथे।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.