सिरियाबारे अमेरिका-टर्की बार्ता

सिरियाबारे अमेरिका-टर्की बार्ता

वासिङटन : अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र टर्कीका विदेशमन्त्री मेभलत कावुसोग्लुबीच सिरियाका बारेमा टेलिफोन वार्ता भएको छ । अमेरिकी विदेशमन्त्री पोम्पेओ र कावुसोग्लुबीच सिरियामा जारी द्वन्द्वबारे छलफल हुनुका साथै सिरियामा शान्ति स्थापनाका लागि के गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो ।

सोमवार फोनवार्ता भएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । उनीहरूबीच सिरियाली द्वन्द्वका साथै त्यहाँ अमेरिकी संलग्नताको विषयमा पनि छलफल भएको थियो ।

सिरियामा केही वर्षदेखि अमेरिकी सेना तैनाथ छ । अमेरिकी सेनालाई त्यहाँबाट फिर्ता गर्ने बारेमा पछिल्लो समयमा अमेरिका र अरू देशहरूबीच वार्ता भइरहेको छ । सिरियामा अमेरिकी सेनाको पक्षमा लड्दै गरेका कुर्दिस लडाकुको संरक्षण र त्यसका साथै सिरिया र टर्कीको सीमा क्षेत्रमा आईएस लडाकुको घुसपैठ तथा संलग्नताको विषयमा पनि कुराकानी भएको अमेरिकी विदेशमन्त्रालयले स्पष्ट पारेको छ ।

सिरियामा आईएसले कुर्दिस विद्रोहीलाई तारो बनाउने गरेका छन् । साथै त्यहाँको सत्तापक्षीय सेनाले पनि कुर्दिसका विरुद्ध आक्रमण गर्दै आएको छ । अमेरिकाले सिरियामा सेना पठाएर उनीहरूको समन्वयमा तथा टर्केली सेनासँग मिलेर काम गरिरहेको छ । ती कुर्दिस विद्रोहीहरूको पक्षमा अमेरिकी सेनाले काम गरेको सिरियाली राष्ट्रपति बसर अल असद पक्षले विरोध गर्ने गरेको छ ।

ती कुर्दिस विद्रोहीलाई टर्कीको सीमा क्षेत्रमा काम गर्न दिएको र त्यसको संरक्षण अमेरिकी सेनाले गरेकोमा टर्की र अमेरिकाको बीचमा पछिल्लो समयमा असमझदारी बढेको छ । त्यस विषयमा अमेरिकाले पछिल्लो समयमा सिरिया र टर्कीको सीमा क्षेत्रमा सुरक्षित क्षेत्र स्थापना गर्ने प्रस्ताव राखेको छ । दुवै देशको सीमा क्षेत्रको करिब ३२ किलोमिटर क्षेत्रलाई सुरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने र त्यस क्षेत्रमा कुनै पनि किसिमको सैन्य गतिविधि हुन नदिने भनी यस्तो प्रस्ताव अमेरिकाले गरेको छ ।

यसरी अमेरिकाले गरेको प्रस्तावलाई टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानले स्वीकार गरेका छन् । यद्यपि उनले त्यस क्षेत्रलाई आतंकवादीबाट पनि सुरक्षित राख्न सक्नुपर्ने तर्क राख्दै आएका छन् ।

सोमबारको फोनवार्ताका क्रममा उक्त क्षेत्र प्रस्तावअनुसार नै सुरक्षित हुनुपर्ने र त्यसलाई टर्कीको विरुद्धमा कुनै पनि हालतमा प्रयोग गर्न दिन नहुने प्रस्ताव टर्कीका राष्ट्रपति एर्दाेगानले गर्नुभएको बताइएको छ ।

सिरियामा विगत लामो समयदेखि द्वन्द्व जारी छ । उत्त, द्वन्द्वका कारण उत्पन्न असहज परिस्थितिको असर टर्कीलाई परेको भन्दै टर्कीले आफ्नो सीमा क्षेत्रको सुरक्षा व्यवस्थामा निकै कडाइ गर्ने गरेको छ । तर पछिल्लो समयमा सिरियामा भित्रिएको अमेरिकी सेनाले कुर्दिस विद्रोहीलाई साथमा लिएर सिरिया सरकारविरुद्ध काम गरेपछि आफ्नो देशको सीमा क्षेत्रमा सुरक्षा खतरा झन् बढ्दै गएको टर्कीको भनाइ छ ।

सिरियामा कैयौँ वर्षअघिदेखि जारी द्वन्द्वको समाधान शान्तिपूर्ण रूपमा गर्ने प्रयास भए पनि त्यो सम्भव हुन सकेको छैन । संयुक्त राष्ट्रसंघले थालेका विगतका शान्ति प्रयास सफल हुन सकेनन् ।

यहाँ विगत सात वर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा ४ लाख ३० हजारभन्दा बढी नागरिकको ज्यान गएको छ । लाखौँ नागरिक घाइते छन् भने लाखौँ व्यक्ति शरणार्थी हुन बाध्य छन् । सिन्ह्वा 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.