छेकम्पारको धारोमा हिउँको लहरो
गोरखा : लगातारको हिमपातले गोरखा छेकम्पारका पानीका स्रोत जम्न थालेका छन्। धारामा हिउँ जमेर पानीको समस्या हुन थालेको स्थानीय सोनाम पाल्जोर लामाले जानकारी दिए।
‘मान्छेले घरमा ल्याएर राखेको पानी चाहिँ भान्सा कोठाको तापले जमेको छैन’, उनले भने, ‘याकचौंरीलाई खुवाउन चाहिँ समस्या भएको छ। हिउँको ढिक्का फुटाएर तताएर खुवाएका छौं।’ गाउँमा एकफिट भन्दा बाक्लो हिउँ जमेको उनले बताए।
हिमपातका कारण धार्चे गाउँपालिका १ को एक मात्र विद्यालय बन्द भएको छ। विद्यार्थी विद्यालयमा आउन नसकेपछि विद्यालय बन्द गरिएको मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए।
‘लाप्राकको माथिल्लो गाउँ, गुप्सीपाखामा एकफिट हिउँ जमेको छ’, गुरुङले भने, ‘हिउँ र पानीमा रुझ्दै आएका बालबालिकाहरुको बिचल्ली भयो। त्यसैले दुई पिरियड पठाएर घर फर्काइयो।’
एनआरएनएले बनाउँदै गरेको गुप्सीपाखाको एकीकृत बस्ती निर्माणको काम पनि अबरुद्ध भएको उनले बताए।