क्यान्सर जित्नेहरूको उत्सव : निको भएकाहरूले केक काटे, अनुभव पनि साटे

क्यान्सर जित्नेहरूको उत्सव : निको भएकाहरूले केक काटे, अनुभव पनि साटे

भरतपुर : ८२ वर्षमा हिँडिरहेकी छन्, आशा गुरुङ। १७ वर्षअघि उनलाई क्यान्सर लागेको थियो। त्यो अहिले निको भइसकेको छ। त्यसैको खुसियालीमा बुधबार उनले केक काटिन्। केक खाएपछि भनिन्, ‘क्यान्सरले जीवन सकिन्छ भन्ने सुनेकी थिएँ, तर होइन रहेछ।’

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले क्यान्सर जित्नेहरूलाई भेटाएर उत्सव मनाउने वातावरण बनाइदिएका हुन्। जमघटमा भरतपुर महानगरपालिका–२२ पदमपोखरीकी गुरुङलगायतको सहभागिता थियो। गुरुङलाई डा. आचार्यले टीका, फूल र खादा मात्रै ओढाएनन्, बधाई पनि दिए।

गुरुङलाई पाठेघरको मुखको क्यान्सर देखिँदा परिवारका सबै चिन्तित थिए। नियमित उपचारपछि निको भएपछि उनी सबैका लागि हौसलाको पात्र बनिन्। जमघटमा गुरुङले जस्तै क्यान्सर जितेर स्वाभाविक जीवन बिताइरहेका महिलाले पनि केक काटेर खुसी साटे। उनीहरूले एकअर्काको अनुभव मात्र सुनाएनन्, आगामी दिनमा स्वस्थ जीवनका फरक योजना पनि साटासाट गरे।

चार वर्षअघि पाठेघरको मुखको क्यान्सर लागेको थाहा पाएपछि पटिहानीकै ७० वर्षीय धनमाया गुरुङ साह्रै रोइन्। परिवारसँग रमाएका बेला उनलाई आफू मर्छु भन्ने लागेको थियो। आफन्त एवं छिमेकी भेट्न पुग्दा उनी झन् निराश बन्थिन्। उनलाई खाना पनि रुच्दैनथ्यो। तर निरन्तर उपचार गराएर निको भएपछि उनले ती सबै भ्रम रहेछन् भन्ने बुझिन्। अहिले उनी पूर्ण रूपमा निको भएकी छन्। घाँस मात्र काट्दिनन्, खाना पकाउनेलगायत काममा खटिरहन्छिन्।

‘सुरुमा क्यान्सर लागेको भन्ने थाहा हुँदा साहै्र चिन्ता लागेको थियो’, धनमायाले भनिन्, ‘अहिले ठीक भएकी छु, घरमा पनि खुसियाली छाएको छ।’ नियमित उपचार पाएपछि कालिका नगरपालिका–३ पदमपुरकी शान्ति हमालको पनि पाठेघरको मुखमा लागेको क्यान्सर निको भएको छ। अरूलाई क्यान्सर लागेको सुन्दा डराउने उनी आफैंलाई छाँगाबाट खसे जस्ती भएकी थिइन्। तर सात महिना लगातार उपचार गरेपछि रोग निको भएको छ। अहिले उनी अरूलाई पनि बेलैमा स्वास्थ्य परीक्षण गराउन सुझाउँछिन्। ‘बेलैमा उपचार गर्न सके निको हुन्छ भनेर अरूलाई पनि सिकाउन थालेकी छु’, उनले भनिन्।

भरतपुर–४ पीपलचोककी इन्दिरा जमकट्टेललाई पनि २०६६ को साउनमा पाठेघरको मुखमा क्यान्सर देखिएको थियो। उनले तत्काल उपचार थालिहालिन्। उनको पाठेघर निकालिएको छ। अहिले कुनै समस्या नभएको उनको भनाइ छ।

बेलैमा परीक्षण नगराउँदा धेरै महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ। नेपालमा देखिने क्यान्सर रोगीमध्येका २० प्रतिशत पाठेघरको मुखको रहेको गरेको छ। सुरुवाती चरणको क्यान्सर उपचार गर्न सके निको हुने अस्पतालका कार्यकारी निर्देशक डा. आचार्यले बताए। ‘सुरुवाती अवस्थाको क्यान्सर उपचारबाट निको हुन्छ भन्ने सन्देश दिन खोजेका हौं’, उनले भने, ‘रोग लाग्नुअघि नै परीक्षण गरे पछिको जटिलता बेहोर्नुपर्दैन।’

बर्सेनि क्यान्सरबाट पाँच लाख ७० हजार महिलाको मृत्यु हुने गरेको तथ्यांक छ। त्यसमध्ये धेरैजसो अल्पविकसित मुलुकका महिला छन्। हरेक वर्ष जनवरीमा पाठेघरको मुखको क्यान्सरबारे विश्वव्यापी जनचेनता अभियान चलाइन्छ। सोही अभियानअन्तर्गत सचेतनामूलक कार्यक्रम गरिएको अस्पतालका क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख भोला शिवाकोटीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.