नाइजेरियाका २० हजार बढी अपहरित युवती मालीमा यौनदासीको रुपमा बन्धक
नाइजेरिया : वेचविखन विरुद्धको एक संस्था ‘नापटिप’का अनुसार नाइजेरियाबाट हराइरहेका हजारौं युवती तथा महिलाहरु मालीमा यौनदासीको रुपमा बन्धक बनाइएका छन् ।
धन कमाएर नाइजेरिया फर्कने आशमा २० देखि ४५ हजारको संख्यामा नाइजेरियाका महिलाहरु मालीमा रहेको ‘नापटिप’ले बताएको छ । तीमध्ये अधिकांश महिला यौनदासीको रुपमा बन्धक बनाइएको उसको रिपोर्टमा छ ।
‘नापटिप’का निर्देशक जुली ओका डोन्हीले अन्तर्राष्ट्रिय संचारमाध्यमलाई बताएअनुसार अधिकांश महिला नाइजेरियाका विभिन्न ६ राज्यका गाउँबाट आएका हुन् ।
होटलमा राम्रो कमाइको जागिर लगाउने जस्ता प्रलोभनमा पारेर ती महिला मालीमा ल्याएइको ओका डोन्हीको भनाइ छ । तीमध्ये केहीलाई त स्कुल जाँदै गर्दा अपहरण नै गरिएको पनि संस्थाको रिपोर्टमा छ ।
मालीमा एक लाखभन्दा बढी नाइजेरियाका मानिस बसोबास गर्दैआएका छन् । जसमध्ये २० त बाध्यात्मक रुपमा यौन धन्धामा संलग्न भएका हुन् । महिलालाई घना जंगलको बाटो हुँदै माली ल्याइने भएकाले पनि यस्तो धन्धामा फसेका महिलाहरु फर्कन नसक्ने अवस्थामा रहेको बताइएको छ ।
सन् २०१४ मा हतियारधारी समूह बोको हरामले २ सय ७६ स्कुले छात्रालाई नाइजेरियाको चिबोक सहरबाट अपहरण नै गरेको थियो । त्यस क्रममा ती बालिकालाई फिर्ता गराउन विभिन्न मुलुकमा अभियान नै सुरु गरिएको थियो । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नि मिसेल ओबामा समेत संलग्न रहेको उक्त अभियानको प्रभाव विश्वभर थियो ।