राष्ट्रिय वाणिज्य बैंक सबै जिल्लामा
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक ७७ वटै जिल्लामा पुगेको छ। बैंक स्थापनाको ५४ वर्षमा दुई १७ वटा शाखा विस्तार गरेको छ।
बैंकको ५४ औं वार्षिकोत्सव कार्यक्रममा बिहीबार कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलर्ले हरेक वडामा बैंकका शाखा पुग्नुपर्ने बताए। ‘बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम विपन्नवर्ग, उत्पादनशील क्षेत्र तथा पूर्वाधार र युवास्वरोजगारका क्षेत्रमा प्राथमिकताका साथ कर्जा लगानी गर्नुपर्छ’, उनले भने।
कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पछि स्थापना भएका निजी क्षेत्रका बैंकले शाखा विस्तार र निक्षेप तथा कर्जा विस्तारमा राष्ट्रिय वाणिज्य बैंकलाई उछिन्दा त्यसतर्फ सचेत हुनुपर्ने बताए।
वाणिज्य बैंकले सरकारले तोकेको सहुलियत कर्जा वितरणमा देखाएको तत्परताप्रति प्रशंसा गरे। राष्ट्र बैंकले सेवाग्राहीलाई हरेक ६/६ महिनामा केवाईसी अपडेट गरेर पठाउन भनेको भए पनि त्यस्तो अपडेट ठाउँ, ठेगाना र सम्पर्क नम्बर परिवर्तन भएको हकमा मात्रै लागू हुने र अनाहकममा ग्राहकलाई दुःख नदिन उनले आग्रह गरे। हाल बैंकको आधारदर (वेस रेट) ६.३३ प्रतिशत भएकाले यसका दुई प्रतिशत प्रशासन तथा निक्षेप खर्च थपेर कर्जा प्रवाह गर्न सकिने बताए।
‘यसो गर्दा बैंकले ८.३३ प्रतिशतमा कर्जा दिन सक्छ’, उनले भने, ‘महिला उद्यमीले २.३३ प्रतिशतमै कर्जा पाउन सक्छन्।’ सरकारले गत भदौमा सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि पास गरेर महिला उद्यमीका लागि ६ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ। अन्य सहुलियत कर्जा पनि ३.५५ प्रतिशतमा पाउनेछन्। कार्यविधिअनुसार अन्य पाँच प्रकारका कर्जालाई सहुलियत ब्याज अनुदान दिने भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले विगत १० वर्ष यता बैंकको सबै वित्तीय सूचक सकारात्मक ढंगले अगाडि बढेको बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाबारे जानकारी गराएका थिए। २०७५ पुस मसान्तसम्म बैंकले एक खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३४ अर्ब कर्जा लगानी गरेको छ। बैैंकले यस अवधिमा खुद नाफा एक अर्ब ९६ करोड रुपयाँ पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस !