गण्डकी प्रदेशले अन्तका स्याउ नखाने ! मन्त्रीले सुनाए योजना
गोरखा : गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पाँच वर्षभित्र गण्डकी प्रदेशलाई स्याउमा आत्मनिर्भर बनाउने बताएका छन्।
केयर नेपालले छोप्राकमा गरेको कार्यक्रममा मन्त्री बस्नेतले मुस्ताङ, मनाङ, गोरखालगायतका जिल्लामा स्याउ उत्पादनलाई प्रवर्द्धन गरी गण्डकी प्रदेशलाई विदेशी स्याउमुक्त प्रदेश बनाउने बताएका हुन्।
‘पाँच वर्षभित्र गण्डकी प्रदेशलाई स्याउमा आत्मनिर्भर बनाउने योजना हामी बनाएका छौं’, गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले भने, ‘हाम्रो प्रदेशमा चीन र भारतबाट आएको स्याउ तथा अरु प्रदेशबाट आएको स्याउ नखाने, गण्डकी प्रदेशकै स्याउमा आत्मनिर्भर बनाउने योजना हामीले बनाएका छौं।'
मन्त्री बस्नेतले अन्य कृषि उपजमा पनि आत्मनिर्भर हुने योजना सुनाए। 'मासु, अन्न र दूधमा आत्मनिर्भर हुने हामीले योजना बनाएका छौं’, उनले भने।
गाउँमा सडक आएन भनेर चिन्ता गर्ने तर सडक आएपछि सडकको प्रयोग गरेर के व्यापार गर्ने भनेर चिन्ता नगर्ने प्रवृत्ति रहेकोमा उनले चिन्ता गरे।
मन्त्री बस्नेतले प्रदेश सरकारको बजेटबाट चोरकाटेदेखि छोप्राकसम्मको ११.४ किलोमिटर सडकलाई कालोपत्रे गर्ने प्रक्रिया सुरु गरेको बताए। ‘यो सडक कालोपत्रे गर्न यहाँका बासिन्दाको बारम्बारको माग सम्बोधन भएको छ। एक करोड ३६ लाख बजेट परिसकेको छ। अब कालोपत्रे सुरु हुन्छ’, मन्त्री बस्नेतले भने, ‘बहुवर्षे योजना अन्तर्गत अबको दुई वर्षभित्र यो बाटो पिच हुनेछ।'
बस्नेतले गण्डकी प्रदेशका आवश्यक सबै ठाउँमा झोलुङ्गे पुल निर्माण गरिसक्ने बताए। ‘मेरो मन्त्रालयभित्र झोलुंगे पुलको काम पनि पर्छ। हामी यसै वर्ष कुनकुन ठाउँमा झोलुंगे पुल आवश्यक पर्छ भनेर डीपीआर तयार गर्छौं’, उनले भने, ‘अबको पाँच वर्ष हामी हाम्रो प्रदेशका सबैठाउँमा झोलुंगेपुल निर्माण गरिसक्नेछौं।’