क्रिकेट टोलीलाई बधाई दिँदै प्रचण्डले भने : खेलाडीको हितमा राज्य समर्पित हुन्छ
काठमाडौँ : यूएईविरुद्धको एक दिवसीय श्रृंखलामा ऐतिहासिक जित निकालेको नेपाली क्रिकेट टोलीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।
तीन एक दिवसीय श्रृंखला २–१ ले जित्न सफल नेपाली टोलीलाई सोमबार एक वक्तव्य निकाल्दै प्रचण्डले बधाई दिएका हुन् । ‘नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक जीत हासिल गरेकोमा अत्यन्त खुसी लागेको छ’, प्रचण्डले भनेका छन्, ‘नेपाललाई पहिलो अन्तर्राष्ट्रिय सिरिजमा सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई हार्दिक धन्यवाद एवम् बधाई ज्ञापन गर्दछु ।’
प्रचण्डले एकदिवसीय श्रृंखला जित्न सफल टिमका कप्तान पारस खड्काले उत्कृष्ट प्रर्दशन गर्दै शतक बनाउने पहिलो खेलाडी भएकोमा पनि बधाई दिएका छन् । उनले शनिवार भएको दोस्रो खेलमा रोहित पौडेलले सबैभन्दा कलिलो उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्व रेकर्ड तोड्न सफल भएकोमा पनि बधाई दिएका छन् ।
‘नेपालको तर्फबाट कीर्तिमान राख्न सफल दुवै खेलाडीलाई बधाई दिँदै आगामी दिनमा अझै राम्रो प्रदर्शनको लागि उत्तरोत्तर प्रगतिको कामना गर्दछु’, प्रचण्डले भनेका छन् ।
उनले खेलाडीहरु राष्ट्रका गहना र अमूल्य नीधि भएको पनि बताएका छन् । ‘खेलाडीहरु राष्ट्रका गहना मात्र नभएर अमूल्य नीधि हुन्’, उनले भनेका छन्, ‘उनीहरुको उचित सम्मान र प्रोत्साहनमा सिंगो राज्य समर्पित हुने विश्वास दिलाउन चाहन्छु ।’