भेनेजुएला-भाइचाराका परकम्प

भेनेजुएला-भाइचाराका परकम्प

वैदेशिक विषयमा प्रतिक्रिया जनाउने र कूटनीति सञ्चालन गर्ने मामिलामा बहुकेन्द्रहरू कायमै रहनु नेपालको ठूलो समस्या हो


अघिल्लो साता विराटनगरमा नर्थ-साउथ कलेक्टिभ्सले गरेको ‘नेपालको बदलिँदो वैदेशिक सम्बन्ध’ शीर्षक छलफल कार्यक्रममा एक सहभागीले ठट्टामि िश्रत प्रश्न गरे- नेपालमा परराष्ट्र मन्त्रालयचाहिँ कतिवटा छन् ?

यसो हेर्दा परराष्ट्र अड्डा त धेरैतिर देखिँदो रहेछ ! त्यो प्रधानमन्त्री कार्यालयमा पनि रहेछ । बालुवाटारमा पनि रहेछ । कहिलेकाहीं शीतलनिवासतिर पुग्दो रहेछ । कहिलेचाहिँ भद्रकालीले त्यो भूमिका खेल्दो रहेछ । घुम्दै-फिर्दै भर्खर त्यो खुमलटार पनि पुगेछ, जहाँबाट टाढाको भेनेजुएलालाई लिएर प्रचण्ड चिन्ता प्रकट भएको छ ।

दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा राष्ट्रपति निकोलस मडुरोविरुद्ध आन्दोलित नेता हुवान गुइदोले सडकबाटै आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेपछि त्यहाँ राजनीतिक संकट अरू गहिरिएको छ । अमेरिकालगायत उसका गठबन्धन राष्ट्रहरूले गुइदोलाई मान्यता दिएका छन् भने चीन, रुसलगायतले मडुरोप्रति नै समर्थन जारी राखेका छन् । छिमेकी भारतको पनि पुरानै राष्ट्रपतिप्रति समर्थन रहेजस्तो देखिन्छ । शक्तिराष्ट्रहरूको यो खिचातानीमाझ किन हो सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो कित्ता प्रष्ट्याउन चाहेका छन् ।

उनले माघ ११ गते मडुरोका पक्षमा वक्तव्यमात्र जारी गरेनन्, त्यहाँ ‘साम्राज्यवादी कु’ को ‘ग्य्रान्ड डिजाइन’ रचेको भन्दै अमेरिकाको चर्को आलोचना गरे । र, त्यसको प्रतिवाद गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वानसमेत गरे । यो वक्तव्य पढ्दै गर्दा मलाई अहिलेका पुष्पकमल दाहाल होइन, ‘जनयुद्ध’ कालका प्रचण्डको झल्को आयो । उसबेला उनका विज्ञप्तिहरूमा ‘साम्राज्यवाद’, ‘कु’, ‘ग्य्रान्ड डिजाइन’ जस्ता ठूल्ठूला शब्दावली परेका हुन्थे । नेपाली सेनालाई ‘शाही अमेरिकी सेना’ भन्थे । अहिले अचानक प्रचण्डको पुरानो रूप देखापर्‍यो । भेनेजुएलामा पोखिएको उनको क्रान्तिकारिता फगत एउटा वक्तव्यमा सीमित हो या सोचाइमै वामपन्थी पुनर्जागरण आएको हो, त्यो प्रष्ट छैन । तथापि दक्षिण अमेरिकी वामपन्थप्रति चासो र सहानुभूति राख्ने ठूलो जमातले भने यसलाई सकारात्मक रूपमा लिएको छ । त्यसो त यसले देशमाथि भावनात्मक कूटनीतिको भार बढाएको ठान्नेहरूको संख्या पनि कम छैन ।

जहाँसम्म भेनेजुएलाको कुरा हो, त्यहाँ वामपन्थी ह्युगो चावेज सत्तामा आएदेखि नै अमेरिकाको वक्रदृष्टि परिरहेको छ । चावेजका उत्तराधिकारी मडुरोलाई उसले रुचाउने कुरै भएन । त्यसैले मडुरोविरुद्ध चर्केको आन्दोलनलाई उसले सबैखाले सहयोग पुर्‍याएको हो । रुसको त्यहाँ सैन्यस्वार्थ गाँसिएको छ । चीन भेनेजुएलाको सबभन्दा ठूलो लगानीकर्ता हो । भारतले त्यहींबाट सस्तोमा अप्रशोधित पेट्रोलियम ल्याउन पाइरहेको छ । त्यसैले उनीहरूको रुची भावनात्मकभन्दा आ-आफ्नो राष्ट्रिय स्वार्थबाट निर्देशित रहेको बुझ्न सकिन्छ । एक-अर्काकहाँ दूतावाससमेत नखोलेका नेपाल र भेनेजुएलाबीच न व्यापार छ न त जीवन्त राजनीतिक-कूटनीतिक सम्पर्क । तापनि त्यहाँको मामिलामा नेपालको सत्तारुढ दलले चीन र भारतभन्दा चर्को स्वर निकालेको छ ।

यदि यसो गरेर वामपन्थी भाइचारा दर्शाउन खोजिएको हो भने प्रश्न उठ्छ, के नेपाली कूटनीति त्यस्तो बाटो लिनसक्ने हैसियतमा छ ? के हाम्रो परराष्ट्र मामिला वैचारिक मान्यताबाट निर्देशित हुनसक्छ ? यदि त्यो होइन, एउटा सार्वभौम मुलुकमाथि बाह्य हस्तक्षेप भएकोमा विरोध गरिएको हो भने त्यसमा एकरुपताको खाँचो छ । नजिकको भुटानी सीमामा केहीअघि भारत र चीनका सेनाले परेड खेल्दा हामी बोलेनौं । श्रीलंका र माल्दिभ्समा हालै ठूलो संवैधानिक संकट आउँदा नदेखे झैं गर्‍यौं ।

हामी विस्तारै यस्ता वैदेशिक चुनौतीहरूको चाङछेउ पुग्दैछौं, जसलाई चतुरतापूर्वक चिर्न नसक्दा नसोचिएको संकट आउन सक्छ ।

सिरियाको नरसंहारप्रति आँखा चिम्लियौं । अफगानिस्तानमा विदेशीको नांगो नाच चल्दा पनि चुप लाग्यौं । बर्माको सत्ताले रोहिंग्या समुदायमाथि ज्यादती गर्दा र उनीहरूमध्ये केही काठमाडौंमै शरण लिन आउँदा समेत हामीले मुख खोलेनौं, उल्टो त्यहाँकी शासकलाई बोलाएर सम्मान गर्‍यौं । भेनेजुएलाको घट्नामा पनि हामी मौन बस्नुपर्छ भन्ने आशय होइन । तर विश्वभर हुने सबै घट्नामा नेपालले बोल्नैपर्छ भन्ने बाध्यताचाहिँ छैन । आखिर कुनै पनि मुलुकले कहाँ-कहिले-कसरी बोल्दा राष्ट्रिय हित प्रबद्र्धन हुन्छ, त्यसलाई हेरेरै प्रतिक्रिया जनाउने हुन् । बरु हाम्रो राजनीतिक नेतृत्वले पनि यो कौशल सिक्दा काम लाग्छ ।

प्रचण्डको भावनात्मक आह्वानलाई अन्तर्राष्ट्रिय जगत्ले कति सुन्यो थाहा छैन, तर उनकै सहअध्यक्ष केपी ओलीलाई भने चसक्क पारेजस्तो देखियो । किनभने यता उनको सरकारले वर्षौंपछि अमेरिकासँग घनिष्ठता बढाइरहेको थियो, अर्कोतिर यसैबेला आफ्ना सहअध्यक्ष प्रचण्डले ‘साम्राज्यवादी’ विरुद्ध क्रान्तिकारी दनक दिँदै थिए । यो पृष्ठभूमिमा नेपालको आधिकारिक धारणा के हो भनेर अमेरिकी जिज्ञासा आउनु स्वाभाविक थियो । आफ्नै अध्यक्षले पार्टीको लेटरप्याडमा जारी गरेको हस्ताक्षरित विज्ञप्तिलाई ‘निजी’ भनेर टार्न त सकिन्थ्यो, तर विश्वस्त पार्न सम्भव थिएन । त्यही विरोधाभास व्यवस्थापन गर्न चार दिनपछि परराष्ट्र मन्त्रालयले अर्को विज्ञप्ति निकाल्नुपर्‍यो ।

त्यो विज्ञप्तिले अर्को प्रश्न उब्जाएको छ । के सत्तारुढ दल र सरकारको विदेश नीति फरकफरक हुनसक्छ ? झट्ट हेर्दा प्रचण्ड र परराष्ट्रको विज्ञप्ति एउटै डोरीमा बाँधिएजस्तो पनि लाग्न सक्छ, तर अन्तर्यमा त्यो देखिन्न । प्रचण्डका दुई कुरा प्रष्ट थिए ः राष्ट्रपति मडुरोप्रति समर्थन र अमेरिकी भूमिकाको आलोचना । परराष्ट्रको विज्ञप्तिमा त्यो आशय छैन । त्यसमा कुनै पनि मुलुकको राजनीतिक र संवैधानिक बाटोबारे निर्णय लिने अधिकार ‘त्यहींका जनतामा निहित रहेको’ उल्लेख गर्दै बाह्य हस्तक्षेप हुन नहुने आधारभूत मान्यतामात्र प्रष्ट्याइएको छ । यसको दुइटै अर्थ लाग्छ । जस्तो चुनाव भएपनि वर्तमान राष्ट्रपति मडुरो जनताबाटै निर्वाचित भएका हुन्, भोलि सडक आन्दोलन सफल भएर गुइदो सत्तामा पुगे भनेपनि जनताको निर्णयलाई नै स्वीकारेको अर्थ लाग्छ । यसमा अमेरिका, रुस, चीन कसैको पनि बाह्य हस्तक्षेप हुनु भएन !

भेनेजुएलाप्रकरणमा नेपालको सत्तारुढ दलका अध्यक्षको एउटा, सत्ताको अर्को धारणा देखापरेको छ । यसले कूटनीतिक अस्पष्टता बढाउनेबाहेक केही गर्दैन । यदि प्रचण्डले लिएको दृष्टिकोण ठीक हो भने सरकारले त्यसैलाई अनुमोदन गर्नुपथ्र्यो, होइन भने सरकारको नीतिअनुसार प्रचण्डले बोल्नुपथ्र्यो । मुलुकको कूटनीति बहुद्वार र बहुमुखीय प्रवृत्तिबाट सञ्चालन हुन सक्दैन । निश्चय पनि कतिपय वैदेशिक मुद्दालाई लिएर देशभित्र, पार्टी-पार्टीभित्र, सत्तारुढ दल र सरकारभित्रै पनि फरकफरक धारहरू हुनसक्छन् । त्यसमा मतैक्य हुन नसक्दा सरोकारवालाबीच छलफल र परामर्शको प्रक्रिया अपनाउन सकिन्छ । तर जुन बाटोबाट राष्ट्रिय स्वार्थ जगेर्ना हुन्छ, अन्ततः त्यसैलाई अपनाउनुपर्ने हुन्छ । अनि एउटा दृष्टिकोण तय गरेपछि फेरि विरोधाभास प्रकट भइरहनु हुन्न ।

कम्तिमा राजनीतिक दलहरूले घरेलु मामिलामा विवाद गर्दै रहेपनि वैदेशिक मामिलामा एक ठाउँमा उभिनुपर्ने बेला आइसकेको छ । तर समस्या के छ भने- पूर्वप्रधानमन्त्री स्तरका राजनीतिज्ञले समेत कूटनीतिक भेटघाट गर्दा परराष्ट्रका ‘नोटटेकर’ राख्नुपर्ने खाँचो महसुस गरेको पाइन्न, न त आचारसंहिताविपरीत राजदूतहरूसँग दिनरात भेट्ने क्रम रोकिएको छ । जबकि उनीहरूले विदेशीसँग जनाएका अनौपचारिक प्रतिबद्धता पूरा नहुँदा सारा मुलुकले सास्ती व्यहोर्नुपर्ने हुन्छ । हाम्रा पूर्वप्रधानमन्त्रीहरूले दिल्ली गएर गरेको पूरा नहुने वाचा पनि भारतीय नाकाबन्दीको एउटा कारक थियो भन्ने विस्तारै खुल्दैछ ।

वैदेशिक विषयमा प्रतिक्रिया जनाउने र कूटनीति सञ्चालन गर्ने मामिलामा बहुकेन्द्रहरू कायमै रहनु नेपालको ठूलो समस्या हो । भेनेजुएलाको विषयलाई लिएर पनि परराष्ट्रभन्दा पहिले सत्तारुढ दलका अध्यक्षबाटै लिखित धारणा आउनु पर्ने आवश्यकता त थिएन होला, तर त्यो किन आयो भने- कूटनीतिक मामिलामा कसले बोल्ने, के बोल्ने र किन बोल्ने भन्ने कुरामा बुझाइकै स्तरमा समस्या छ । आरम्भमा उल्लेख गरिएजस्तो कतिपय मामिलामा परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच पनि समन्वय भएको देखिन्न । केन्द्र र प्रदेश सरकारबीच कूटनीतिक सीमा निर्धारणमा अझै केही अस्पष्टताहरू छन् । जंगी अड्डाले चलाउने सैन्यकूटनीति र मुलुकको समग्र कूटनीतिबीच पनि तालमेल मिलिरहेको छैन । यसैले गर्दा शक्तिराष्ट्रहरू सैन्य संस्थापनमा पहुँच र प्रभाव बढाउने खुला प्रतिस्पर्धामा लाग्न पाएका छन् ।

भेनेजुएला त टाढाको मामिला भयो । त्यहाँ हुने ठूलै उथलपुथलले पनि हामीलाई प्रत्यक्ष असर पारिहाल्दैन । तर विस्तारै हामी यस्ता वैदेशिक चुनौतीहरूको चाङछेउ पुग्दैछौं, जसलाई चतुरतापूर्वक चिर्न नसक्दा नसोचिएको संकट आउन सक्छ । जस्तै केही आसन्न कूटनीतिक प्रश्नहरू हेरौं ः भारतसँग सन् १९५० को सन्धि प्रतिस्थापनको संवेदनशील प्रक्रिया कसरी टुंग्याउने ? चीनको आक्रामक आगमनलाई कसरी सहज बनाउने ? भारत र चीनबीचको प्रतिस्पर्धालाई कसरी व्यवस्थापन गर्ने ? यी दुई छिमेकी मिलेर हामीलाई ‘टु प्लस वान’को सूत्रअनुरूप चलाउन खोजे भने के गर्ने ? अमेरिकाको हिन्द-प्रशान्त रणनीतिको अंग बन्नबाट कसरी जोगिने ? नेपालमा भारत-अमेरिका भर्सेज चीनको परिदृश्य देखापर्‍यो भने के गर्ने ?

हाम्रा आफ्नै पुरातन समस्याहरू त छँदैछन्, विश्वको शक्ति सन्तुलन चीन र भारततिर सर्न थाल्दा अरू पराकम्पहरू आउने पक्कापक्की छ । कूटनीतिक मामिलामा आन्तरिक स्पष्टता÷एकता भएमा मात्र त्यसको सामना सम्भव हुन्छ । आखिर विदेश नीति भनेको आन्तरिक नीतिकै विस्तारित रूप न हो । जसरी अहिले यो विस्तार हुँदै भेनेजुएलासम्म पुगेको छ !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.