खोजी आफ्नै अस्तित्वको
सन्दर्भ हो, कवि सुनिता खनलाको कविता ‘चीत्कार’को। माथि उल्लिखित वर्णनहरू संकटग्रस्त अस्तित्वको सीमान्त बिन्दुबाट आएका हुन्। कवि खनालको पहिलो कविताकृति ‘ओ नायक’भरि नै छरिएका छन् अस्तित्विक प्रश्नहरू, असन्तुष्टिहरू र विद्रोहहरू। कविको परिचय अनामिक नै राख्ने हो भने पनि पाठकले सहजै भन्न सक्छन्, यो कुनै नारी सर्जकको बकपत्र हो।
संग्रहका अधिकांश कवितामा मूल पर्सोना भनेको कुनै आमा, वा आमालाई नियालिरहेकी छोरी, कुनै गृहिणी, प्रेमीसँगै छुटिसकेकी प्रेमिका, प्रेमको भ्रममा कसैको मोहपासमा परेकी सुन्दरी, दूर-सुदूर पुगेकी श्रमिक चेली, अथवा एक्लो र अवहेलित बनाइएकी कुनै विधवा हुन्। ‘आमाको बैंस, ‘चीत्कार’ तथा ‘रित्तो बगैंचा’ जस्ता कविताले नारीका प्रतिनिधिमूलक विषय उठान गरेका छन् भने नारीको दृष्टिकोणबाट लेखिएका अन्य कविता नितान्त व्यक्तिगत लाग्छन्।
कविताको पहिलो खण्ड अर्थात् ‘तरबारको पर्खाल’ दृष्टिबिन्दुमा अलि बढी निर्वयक्तिक र साझा छन् यद्यपि यस खण्डका पनि केही कविता नारीसुलभ हुन् नै। ‘दुइटा पृथ्वी’ शीर्षकको कवितामा स्वतन्त्र प्रकृतिको अगाडि मान्छेको समुदायमा किन यत्तिका विभेद र हिंसा छन् भनेर प्रश्न गरिएको छ। ‘प्रोफेसर किरात इतिहास पढाइरहन्छन्’ शीर्षकको कवितामा भ्रामक र कपोलकल्पित तथ्यहरूको जगमा बनाइको तथाकथित इतिहास, र फेरि, समाजमा फैलाइएको पूर्वाग्रहकै चस्माबाट गरिने इतिहासको अपव्याख्यामाथि प्रहार गरेको छ। ‘आगोको ठेगाना’ आगो हिंसा र अशान्तिको रूपक अलंकार हो, र आजको समयमा यसको सर्वव्यप्त उपस्थितिमाथि कविले असन्तोष प्रकट गरेकी छन्। तर, आगोको विम्बमा वर्णित आतंकको समाधान सुझाउने क्रममा कविले एक अति साधारणीकृत र अव्यावहारिक समाधान संकेत गरेकी छन्। भन्छिन्, ‘कि यो देशलाई आगोको देश घोषणा गर्नुस्÷कि यो देशलाई आगोको शेष घोषणा गर्नुस्।’ सत्य त यो हो, कि देशलाई न आगोको देश घोषणा गरिन सम्भव छ, न नै आगोको शेष।
‘माटोमा शब्द’मा सुन्दर तर्क छ- हरेक कुरा माटोमा झरेपछि नवीन, निर्दोष र निर्मल भएर उम्रन्छ। अर्थात्, मान्छेले सम्पूर्ण घमण्ड त्यागेर विनम्रताको माटोमा आफूलाई अवस्थित गरायो भने ऊ बढी प्रेममयी हुनेछ। यो कुरा मनासिब हो तर धोका, छल, ईष्र्या र लोभजस्ता नकारात्मक शब्दका बीच ‘कूटनीति’ शब्द घुसाइएको छ, जसले अर्थहरूको एउटा विचलन उत्पन्न गरेको छ। ‘नांगा केही प्रश्नहरू’ शीर्षकको कविता मानिसका सपना कहाँ कैद भएका छन् भन्ने प्रश्नमाथि केन्द्रित छ। विभिन्न शैलीका अत्याचारको चर्चा गर्दै बुद्ध र गान्धीका सिद्धान्तहरूले पनि नपुगेको मान्छे के खोज्न यत्तिको हिंस्रक भइरहेको छ भन्ने प्रश्न छ।
कवि सुनिता खनालको पहिलो कविताकृति ‘ओ नायक’ भरि नै छरिएका छन् अस्तित्विक प्रश्नहरू, असन्तुष्टिहरू र विद्रोहहरू।
यस कवितासंग्रहको मूल सरोकार भनेको विभिन्न जिम्मेवारीमा हुने नारी रूपहरूको अनुभव, असन्तुष्टि र विद्रोहको अभिव्यक्तिसहित अस्तित्वको खोजी हो। ‘गर्भिणी थियो मेरो नाम’ यस भाँतीका कविताहरूको एक प्रतिनिधि हो। यसमा हराएकी एक नारीको परिचय कुनै पुरुषको ग्रहणमा पर्यो कि भन्ने शंका गरिएको छ। हराएको नामलाई ‘पुरुषैपुरुष उत्पादन गर्ने कारखानाहरूमा’ कहिल्यै नभेटिएको जिकिर गरिएको छ, जसबाट कविताको लैंगिक आग्रह प्रस्ट हुन्छ। ‘रित्तो बगैंचा’मा पनि फूलहरूलाई नारीको रूपक अलंकारको रूपमा प्रस्तुत गरिएको छ, र आज फूलहरू प्यासी भँमरा र तेजाब पोख्दै हिँड्ने दुश्मनहरूका कारण आतंक खेपिरहेका भनिएको छ।
तर, माथि नै ‘रित्तो रित्तो भएको’ भनिएको बगैंचामा अलि तल फूलहरू आतंक खेप्न कहाँबाट आए ? फेरि, माथि त्यत्तिका दुश्मनहरूको चित्रण गरेपछि अलि तल ‘के फूलहरू आफ्नै विरुद्धमा छन् ? ’ भनिरहँदा उनीहरूको उदासीको कारण बाहिर छ वा उनीभित्रै छ, स्पष्ट हुँदैन। ‘पीडा उत्सव’ एउटा मिथकको विपठनको जसमा, आफूलाई आकाशमा उड्ने सारस, र देवदत्तले हानेको तीरलाई प्रेमको तीरको रूपमा हेरिएको छ।
शीर्ष कविता पनि बनाइएको ‘ओ नायक’ कवितामा केही अवर्णित अभावबाट ग्रसित एउटा पुरुष पात्रलाई तेजविहीन चित्रण गरिएको छ। उसको जिन्दगीबाट, हातबाट, हरफबाट वा सपनाबाट केही छुटेको जिकिर गरिएको छ। यसको अर्थ एउटा पुरुष प्रेम वा साथको अभावमा प्रभावहीन हुन्छ भन्ने संकेत गरिएको छ। तर, व्यवहारतः सबै पुरुषमा यो लागू हुँदैन। ‘रातो रुमाल’मा अलपत्र पारेर छोडिजाने हिउँ, धुवाँ र सिसाजस्तो अपत्यारिलो प्रेमीमाथिको आक्रोश छ, र ऊ जाँदा धरती अँध्यारो भयो भनिएको छ। यो अति परनिर्भरता भयो कि ?
नारी चित्रणका थप कवितामा काममा घोटिएका आमाहरू र विधवाका वेदना पोखिएका छन्। बालगणेशजस्ता आमालाई संसार मान्ने सेवक पुत्रको आकांक्षा पनि छ। ‘घर ढलेपछि’ शीर्षकको पहिलो कवितामा विदेशमा दुःख गरेर कमाएको सम्पत्तिले बनाइएको घर ढल्नुको पीडा अभिव्यक्त गरिएको छ भने यसै शीर्षकको अर्को कवितामा पनि यसैगरी घर ढलेको कुरा उल्लिखित छ, तर ढलेको घरको भग्नावशेषमा छोरी ‘बार्बी डल’ र ‘रिबन’ र छोरो ‘फुटबल र किताब’ खोजिरहेको चित्रण गरेर पुनः छोराछोरी बीचको उही पुरानो र कृत्रिम द्विचर अनावश्यक रूपमा खडा गरिएको छ।
‘साँझ पर्नुअघि’, ‘पैसा फल्ने रूख’ र ‘पातमा प्रेम’जस्ता रुमानी कविता सुनिताको काव्य क्षमताका परिचायक हुन्।
यसरी हेर्दा, सुनिता खनालसँग कविताको निनाद छ, कविताको भाषाको ज्ञान छ। उनीसँग जीवन र जगत् बारेका मौलिक दृष्टि पनि छन्, मान्यता पनि छन्। तर, उनी विरोधाभासहरूमा यदाकदा चिप्लिरहन्छिन्। नारी मुक्तिमा सैद्धान्तिक मान्यतासँग बलियोसँग जोडिन बाँकी छ। अथवा, तटस्थ हो भने, त्यो तटस्थताको अनुपात पनि बाँकी छ। चित्रित गरिएका सबै नारी निर्दोष, र उनीहरूमाथि पर्न आउने अधिकांश पीडाको जनक पुरुष ठान्नु फेसनेबल नारीवादको सम्मोहनतिर तानिनु पनि हो। नानीहरूको देशमा सधैं समस्या मात्रै देख्ने, बा मरेपछिकी आमाको जीवन अँध्यारो देख्ने, प्रेमबिनाको नायकका आँखामा सपना झरेको पैरो देख्ने अथवा फूलबारी वरिपरि जताततै जालोमात्रै देख्नेचाहिँ सम्यक दृष्टिको अभाव हो।