उधारोमा उखु बेच्न बाध्य
मंलगवा : किसानलाई दिनुपर्ने उखुको भुक्तानी बाँकी राखेको सर्लाही धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण चिनी उद्योगले फेरि उखु खरिद गर्न थालेको छ। करोड रुपैयाँ लिन बाँकी राखेर पुनः उद्योग सञ्चालन भएपछि किसान थप निरास भएका छन्। भुक्तानी नदिइ उद्योग सञ्चालन गर्न नदिन सरकारसँग पटकपटक माग गर्दा पनि उद्योग सञ्चालनमा आएपछि किसान चिन्तित बनेका हुन्।
कात्तिक मसान्तभित्र दिन्छु भनेर कागजात गरेका उद्योगीले किसानलाई भुक्तानी नदिइ उद्योग सञ्चालन गरेको उखु किसानको आरोप छ। उद्योगीले किसान र सरकारलाई पटकपटक ठग्दै आएको किसानको आरोप छ। राज्यले उखुको मूल्य निर्धारण गरे पनि उद्योगले रकम नै नतोकी नेट पुर्जी दिने गरेको छ। रकम नै नतोकी उद्योगले नेट पुर्जी दिएपछि किसान थप चिन्तित बनेका हुन्।
पैसा नदिइ उद्योग सञ्चालनमा आएपछि फेरि किसानलाई उद्योगीले ठग्ने मनसाय बनाएका गोडैता नगरपालिका ११ सिसौटियाका धिरेन्द्र यादवले बताए। उद्योगमा आएका किसानलाई बेवास्ता गरी उद्योग सञ्चालनमा ल्याएपछि आफूहरूको पैसा डुब्ने खतरा बढेको उनको आरोप छ। उनको एक लाख ७५ हजार रुपैयाँ उद्योगले बाँकी राखेको छ। आफूजस्ता थुप्रै किसानलाई उद्योगले डुबाएको छ।
उद्योगलाई बन्द गरेर किसानलाई पैसा दिलाएन भने फेरि भोलिका दिनमा किसान चिच्याउने यादवले बताए। अन्नपूर्ण चिनी उद्योगले पैसा नदिएसम्म उखु नदिने उनले बताए। क्रसर तथा टाढाको उद्योगलाई उखु दिन्छु। तर, यस्तो बेइमान उद्योगलाई कुनै पनि हालतमा उखु नदिने उनले दाबी गरे।
उद्योगले किसानलाई करिब २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
पैसा दिएर उद्योग सञ्चालन गर्न उद्योगीलाई पटकपटक भन्दा पनि कुनै सुनवाइ नगरेको धनकौल गाउँपालिका–५ का जयमंगल महतोले बताए। उद्योगीले कात्तिक मसान्तसम्म पैसा दिन्छु भनेका थिए। तर, माघ दोस्रो सातासम्म पनि उद्योगीले पैसा दिएका छैनन्। उद्योगीले पैसा दिन आलटाल गरेपछि आफूहरू आत्मदाह गर्न जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापनपत्र बुझाएको महतोले बताए। साहुसँग ऋण लिएर खेती गरेको छु। एक कठ्ठामा तीन हजार खर्च हुन्छ। पटकपटक ताकेता गर्दा कुनै सुनवाइ नभएपछि आफूहरू उद्योग परिसरमा आत्मदाह गर्ने निर्णय गरेको महतोले बताए।
सात जना किसानले आत्मदाह गर्ने निर्णय गरेका थिए। प्रमुख जिल्ला अधिकारीले आत्मदाह नगर्न अनुरोध गरेका थिए। तर, उद्योग सञ्चालनमा आएपछि फेरि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइ आत्मदाह गर्ने महतोले बताए। उद्योगले किसानलाई करिब २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। चार वर्षदेखिको पैसा उद्योगले बाँकी राखेको किसानको आरोप छ।
प्रतिक्रिया दिनुहोस !