स्कुलमा साझा मेट्रोको दन्त शिविर, प्राय: बालबालिकाको दाँतमा किरा
काठमाडौ : पछिल्लो समय बालबालिकाको दाँतमा किरा लाग्ने प्रमुख समस्याको रूपमा देखिएको छ।विभिन्न ठाउँमा संचालन गरिएका दन्त शिविर र अस्पतालमा परीक्षण गर्न आउने प्रायजसो बालबालिकाका दाँतमा किरा लाग्ने समस्या देखिएको सम्बन्धित चिकित्सक बताउँछन्।
कागेश्वरी मनोहरा नगरपालिका- ५ थलीस्थित मिनिल्याण्ड अंग्रेजी हाइस्कुलको आयोजनामा गरिएको दन्त शिविरमा दाँत परीक्षण गरेका प्राय: सबै बालबालिकाका दाँतमा किरा लागेको पाइएको डा रन्जु खड्काले जानकारी दिइन्।
स्कुलमा करिब २ सय बालबालिकामा दन्त परीक्षण गरिएको थियो, प्राय: सबै बालबालिकाको दाँतमा किरा लागेको,गिजा सुन्निएको र सही तरिकाले दाँत नमाझ्ने गरेको पाइएको उनले बताइन्।
उनले भनिन्, 'कतिपय अभिभावकमा दाँत माझ्ने सही तरिकाबारे ज्ञान नहुँदा त्यसको मारमा बालबालिका पर्ने गरेको बताइन्।उनले अहिलेका बालबालिकामा सही तरिकाले दाँत माझ्ने तरिकाबारे ज्ञान नभएको समेत जिकिर गरिन्।
जोरपाटीस्थित साझा मेट्रो डेन्टल क्लिनिकको सहयोगमा स्कुलले शनिबार एक दिने दन्त शिविर सम्पन्न गरेको हो। शिविरमा तीनजना चिकित्सकसहित पाँचजनाको टोलीले यु केजीदेखि १० कक्षासम्मका विद्यार्थी र अभिभावकको दन्त परीक्षण गरेको थियो।
शिविरमा २ सयभन्दा बढी बालबालिका तथा अभिभावकको दन्त परीक्षण र १२ जना बालबालिकाको दाँत झिकिएको साझा मेट्रो डेन्टल क्लिनिकका अध्यक्ष मुक्तिनाथ न्यौपानेले जानकारी दिए।
वर्षमा दुई पल्ट विशेषज्ञसँग दाँत परीक्षण गराउनुपर्ने डा अविकल कृष्ण पालिखेले बताए।उनले बालबालिकामा सही तरिकाले दाँत माझ्ने ज्ञानको अभाव हुँदा सानै उमेरका नानीहरु दाँतको समस्याबाट प्रभावित हुने गरेको बताए।
परीक्षणका क्रममा चिकित्सकले बालबालिकालाई ब्रस गर्ने तरिका र दाँतलाई स्वस्थ्य राख्ने तरिकाबारे सुझाएका थिए। पढाइका साथसाथै बालबालिकालाई सानै उमेरदेखि आफ्नो स्वास्थ्यप्रति ख्याल राख्ने बानीको विकास गर्न शिविर संचालन गरिएको स्कुलका प्रिन्सिपल मणीराम वाग्लेले बताए।
साझा मेट्रोले मिनिल्याण्ड स्कुलमा तीनवर्षदेखि निशुल्क दन्त शिविर संचालन गर्दै आएको छ।दाँत तथा मुखको उपचार सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले साझाले ग्रामीण क्षेत्रका बालबालिकालाई लक्षित गरी निशुल्क दन्त शिविर संचालन गर्दै आएको छ। साझाले अहिलेसम्म मुलुकका विभिन्न ठाउँमा करिब ४० भन्दा बढी निशुल्क दन्त शिविर संचालनमा ल्याइसकेको छ।