सांसददेखि मन्त्रीसम्म बालबालिका
जनकपुरधाम : ‘सम्माननीय सभामुखज्यू, जनकपुरको शैक्षिक अवस्था धराशायी बन्यो। नामी राराब क्याम्पसको पढाइ बिग्रियो,’ बालसंसद् विवेक झाले सदनमार्फत सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘ध्वनि प्रदूषणले पढाइ गर्न गाह्रो भयो। समस्या तुरुन्त समाधान गरियोस्’ उनको बोल्ने समय सकिएको जनाउ सभामुख राजन शर्माले दिएपछि शून्य समयको बोली टुंग्याए।
सदनमा उपस्थित ५० भन्दा बढी सांसद्ले गड्गडाहट ताली ठोके। दर्शक दीर्घामा रहेका आगन्तुकहरू खित्का छोडेर हाँसे। यस्तै माहोल थियो जनकपुरको बिसहराचोकस्थित मिथिला इन्स्टिच्युट अफ टेक्निोलोजी कलेजको सभाकक्षमा। स्कुले बालबालिका सभामुख, सत्तापक्ष, प्रतिपक्ष, मन्त्रीहरूको भूमिकामा थिए।
‘डिस्कसन अन क्लिन इन्भाइरोमेन्ट इन नेपाल’ शीर्षकमा नमुना युवा सदन चलाइएको हो। सभामुखको भूमिकामा रहेका विद्यार्थी राजन शर्माले शून्य समय र विशेष समय छुट्ट्याउँदै नमुना संसदीय अभ्यासको बहसको सुरुआत गरेका थिए।
संविधानमा ३० वटा मैलिक हकहरू छन्। जसमध्ये एक मौलिक हक हो, स्वच्छ वातावरणसम्बन्धी। यस्ता सार्वजनिक महत्त्वका विषयमा सरकार गम्भीर हुन नसकेको चर्चा बहसमा गरिएको थियो।
नमुना सदनमा विद्यार्थी सांसद प्रिंकाले ‘स्वच्छ वातावरण’ विधेकको प्रस्ताव पेस गरिन्। विधेक उपर पौने दुई घण्टासम्म गहन बहस भयो। संविधानको धारा, उपधारा, अनुसूचीलाई उल्लेख गर्दै वातावरण संरक्षणमा सरकार चुकेको भन्दै चर्को बहस भयो।
विधेयक पेस गर्दै प्रिंकाले भनिन्, ‘वातावरणबिना बाँच्न सकिँदैन। चुरे दोहोनले मानवजीवन संकटमा पर्ने खतरा बढ्दै गयो।’ वन संरक्षण बिना स्वच्छ हावाको कल्पना गर्न नसकिने उनले बताइन्। विधेकको समर्थनमा सांसद अनिक शाहले कानुन बन्यो तर वातावरण संरक्षण नभएको बताए। ‘हावा, पानी, माटो प्रदूषित हुने क्रम बढ्यो’, अर्का विद्यार्थी सांसद अभिषेक कायस्थले भने।
बोल्ने तर काम नगर्ने परम्पराले गाँजेको नमुना सांसद अलिशा अधिकारीले बताइन्। विधेक उपर बहस गर्न एक सांसदलाई तीन÷तीन मिनेट समय छुट्ट्याइएको थियो। उक्त विशेष समयमा बोल्दै सांसदहरूले प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सहर जनकपुरधाम जताततै फोहोरमैला, धुलो, धुवाँ, प्रदूषण, सडक दायाँबायाँ, तालपोखरीको किनारा, मठमन्दिर छेउमा दिसापिसाब गर्नाले वातावरण प्रदूषित भएको चर्चा गरेका थिए।
स्वच्छ वातावरणमा स्वस्थ जीवन जिउने नागरिकको मौलिक हकका रूपमा लेखिए पनि कार्यान्वयन हुन नसकेको नमुना सांसद मनीषा श्रेष्ठले बताइन् । ‘जनकपुर उपमहानगर क्षेत्रमा फोहोरमैला व्यवस्थापन गर्न नसक्नुमा सरकारी कर्मचारीको इच्छाशक्ति कमजोर नै मुख्य बाधक छ,’ उनले औंल्याइन् ।
अर्का वक्ता प्रिया शर्माले स्वच्छ वातावरण सिर्जना गर्नका निम्ति आफू र घरपरिवारबाटै सरसफाइको थालनी गर्नुपर्ने बताइन् । उनले भनन्, ‘घरपरिवार, छरछिमेक र समाज मिलेर सरसफाइमा ध्यान दिएमा प्रदूषणबाट मुक्त भइन्छ।’ स्वच्छ र स्वस्थ जीवन जिउन सकिने विचार राखिन्।
टोनी हागन फाउन्डेसन र मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजद्वारा संयुक्त रूपमा आयोजित नमुना युवा सांसद कार्यक्रममा अर्का विद्यार्थी विवेक अग्रवालले नियम कानुन बनाएर मात्र राज्य जिम्मेवारीबाट पन्छिएको बताए। ‘राज्यले बनाएको नियमकानुन पालना गर्दै वातावरण प्रदूषण न्यूनीकरण गर्नु नागरिकको पनि कर्तव्य हो,’ बालिका नेहा झाले भनिन्, ‘तर हामी अरूलाई दोष देखाएर बसेका छौं। ’
नमुना वन तथा वातावरण मन्त्रीको भूमिकामा देखिएकी शिक्षा दीक्षितले सांसदहरूले उठाएको प्रश्नहरूको उत्तर सदनमा दिएकी थिइन्। ‘सरकारले कानुनमात्रै बनाउँदैन, कानुन पालना नगर्नेलाई कारबाही र वन, वातावरण जोगाउनेलाई पुरस्कृत पनि गर्ने योजना ल्याउँदै छ,’ उनले भन्ने बित्तिकै सदनमा उपस्थित सबैले एकसाथ गडगडाहट ताली बजाए। करिब १७ वर्षकी बालिकाले डेढ घण्टामा २० भन्दा बढी सांसदले वातावरण स्वच्छता, वनविनाश र सरसफाइ प्रदूषणबारे उठाएको प्रश्नको उत्तर दुई मिनेटमा दिँदा सबै छक्क परेका थिए।
प्राडा. भोगेन्द्र झाले बालबालिकालाई किताबी ज्ञानसँगै प्रयोगात्मक शिक्षणको खाँचो रहेको उल्लेख गरे। जलवायु परिवर्तन रोक्न वनजंगल जोगाउनुपर्नेमा वनस्पतिविज्ञ डा. पीके झाले जोड दिए।
नागरिकको अधिकारबारे संविधान, सांसद, सरकार, दल र दलका नेताबीच निकै चर्चा हुने गर्छ । संविधानमा उल्लेखित ३० वटा मौलिक हकमध्ये एउटा स्वच्छ वातावरणको हकको विषयमा चर्चा हुन नसकेको प्रदेश २ का संसद रामआशिष यादवले जनाए।
स्वच्छ जनकपुर, सुन्दर जनकपुर, सेभ द जनकपुर हिस्टोरिकल एवं सरसफाइ अभियानता प्रदेश २ का सांसद यादवले भने, ‘वनजंगलको सुरक्षा, वृक्षरोपण, पानीको मुहान संरक्षण, फोहोर मैला व्यवस्थापन, ऐतिहासिक सम्पदाहरूको संरक्षण, सरसफाइमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले चासो राख्नुपर्छ।’ छिट्टै प्रदेश सरकारले वातावरण संरक्षण विधेक ल्याउन लागेको उनले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस !