१० ओभरमा झारिएको खेलमा यूएईलाई १०५ रनको चुनौती
काठमाडौं : १० ओभरमा झारिएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १०५ रनको चुनौती दिएको छ।
टीट्वान्टी शृङ्खला अन्तर्गतको तेस्रो खेल वर्षाका कारण १० ओभरमा झारिएको थियो। नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा २९ रन बनाए भने सन्दीप जोराले ११ बलमा २८ रन बनाए। जोरा पाँचौ विकेटको रुपमा ८.३ ओभरमा बाहिरिए ।
खराब सुरुवात गरे पनि कप्तान पारस र सन्दीपले ब्याटिङ सम्हालेका थिए । कप्तान खड्का पाँचौ ओभरको अन्तिम बलमा आउट भए। १४ बल खेलेका पारसले एक छक्का र चार चौकाको मद्दतमा २९ रन बनाएका हुन् ।
पहिलो, दोस्रो र तेस्रो ओभरमा पवन शरार्फ, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी आउट भए। पवन ०.४ ओभरमा आउट भए भने २.३ ओभरमा बाहिरिए। त्यैगरी तेस्रो ओभरको रुपमा दीपेन्द्रसिंह ऐरी ३.३ ओभरमा आउट भएका हुन्।
ज्ञानेन्द्रले ९ बलमा ११ रन बनाए। ऐरी ३ बलमा २ रन बनाएर आउट भए भने शरार्फ ४ बल खेल्दा शून्य रनमै आउट भए। छैटौं विकेटको रुपमा करण केसी पाँच बलमा १० रन बनाएर आउट भए । बिनोद साताै विकेटकाे रुपमा १३ बलमा २१ रन बनाएर आउट भए । आठाै विकेटकाे रुपमा सोमपाल कामी शून्य रनमै आउट भए ।
नेपालले आठ विकेटको क्षतिमा १०४ रन बनाएको हो ।
दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी ओभलमा हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको छ।
अघिल्लो दुईमध्ये नेपाल र यूएईले एक–एक खेल जितेकाले शृंखला १–१ को बराबरीमा छ। शृंखला जित्न दुवै टोलीलाई यो खेल पनि जित्नु आवश्यक छ। पहिलो खेलमा यूएई २१ रनले विजयी भएको थियो। दोस्रो खेल नेपालले चार विकेटले जित्दै शृंखला बराबरी गरेको थियो।
यसअघि यूएईविरुद्धको एकदिवसीय शृंखला २–१ ले जितेको नेपालले आइतबार हुने तेस्रो तथा निर्णायक खेलसँगै टीट्वेन्टी शृंखलासमेत जित्ने योजना बनाएको छ।
नेपालसामु अन्तिम टीट्वेन्टी खेल जित्दै केही ऐतिहासिक उपलब्धि हात पार्ने अवसर रहेको छ। नेपालले सन् २०१४ को टीट्वेन्टी विश्वकपपछि दुई वर्षका लागि टीट्वेन्टी टोलीको मान्यता पाएको थियो। सो अवसरमा नेपालले दुई टीट्वेन्टी शृंखलासमेत खेलेको थियो। यद्यपि नेदरल्यान्ड्स र हङकङविरुद्धको दुवै शृंखलामा नेपाल पराजित भएको थियो।
नेदरल्यान्ड्ससँगको शृंखला नेपालले ३–१ र वर्षाका कारण तीनमध्ये अन्तिम खेल मात्रै सम्भव हुँदा हङकङसँगको शृंखला १–० ले गुमाएको थियो। त्यसैले आइतबारको अन्तिम खेल पनि जितेको अवस्थामा नेपालले अर्को ऐतिहासिक उपलब्धि हात पार्ने छ।