हिरो गोल्डकपमा म्यानमारसँग हार्यो नेपाल
काठमाडौं : नेपाली महिला फुटबल टोलीले भारतको भुवनेश्वरमा सञ्चालित हिरो गोल्डकपमा म्यानमारसँग पराजित भएको छ। शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोलले पराजित भएको हो।
भारतीय फुटबल संघले नेपालको विराटनगरमा आगामी फागुन २८ देखि चैत ८ सम्म हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि हिरो गोल्डप आयोजना गरेको हो। हिरो गोल्डकप प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरानले प्रतिस्पर्धा गर्नेछन्। दोस्रो खेलमा माघ २८ गते भारतसँग र तेस्रो खेल फागुन १ गते इरानसँग खेल्नेछ।
राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल फागुन ३ गते हुनेछ। विराटनगरको सहिद रंगशालामा हुने महिला साफको समूह विभाजन यसअघि नै भइसकेको छ।
नेपाल समूह ‘ए’मा छ। नेपालको समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन्। समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलंका छन्।