गाउँपालिका केन्द्रमै छैन बिजुली

गाउँपालिका केन्द्रमै छैन बिजुली

गोरखा : गोरखाको दुर्गम धार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजार चार वर्षदेखि विद्युत्विहीन अवस्थामा छ। गाउँपालिकाको वडा नम्बर ५ स्थित माछाखोलामा विद्युत् सेवा नहुँदा कार्यालयको काम प्रभावित भएको गाउँपालिका प्रमुख सन्तोष गुरुङ बताउँछन्।

‘कार्यालयमा कम्प्युटर छ, प्रिन्टर छ, फोटोकपी मेसिन छ। तर बिजुली नहुँदा सञ्चालन गर्न सकेका छैंनौं’, उनले भने, ‘गाउँपालिकालाई प्रविधिमैत्री एवं सञ्चारमैत्री बनाउने भनेर नीति तथा कार्यक्रम पास गरेका छौं। कर्मचारी पनि प्रविधिमैत्री छन्। तर बिजुली नहुँदा प्राविधिक सामान सञ्चालन गर्न पाइएको छैन।’

विद्युत् सेवा नहुँदा सेवाग्राही फोटो खिचाउन एक दिनको बाटो टाढा आरुघाट जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ। भूकम्पले स्थानीय भालुखोला लघुजलविद्युत् आयोजना क्षतिग्रस्त भएपछि धार्चे गाउँपालिका-५ माछाखोला, लप्सीबोट र खानीवेशी गाउँ विद्युत्विहीन बनेका हुन्।

लप्सीबोटका करिब १ सय ५० घरधुरी, माछाखोलाको करिब ८० घर र खानीवेशीका करिब २० घरमा विद्युत् सेवा नभएको वडाध्यक्ष तुलबहादुर गुरुङ बताउँछन्। ‘सबै लघुजलविद्युत् आयोजना भूकम्पका बेला क्षतिग्रस्त भएका थिए। अरू ठाउँको त करिब बनिसके। तर यहाँको बन्न सकेन’, उनले भने, ‘भूकम्पपछि आएका संघसंस्थाले घरघरमा सोलार त दिएको छ। तर कहिले घाम लाग्छ, कहिले लाग्दैन। घाम नलाग्दा बत्ती बाल्न पनि पाइँदैन। मोबाइल चार्ज गर्न नपाएर सञ्चार सम्पर्कसमेत बन्द हुन्छ।’ बिजुलीको अभावमा गाउँलेले धेरै सास्ती खेप्नुपरेको उनको भनाइ छ।

माछाखोला बजार मनास्लु पर्यटन पदमार्गमा पर्ने व्यापारिक केन्द्र पनि हो। तर बिजुली नहुँदा यहाँका होटल व्यवसायी र पर्यटकले समेत सास्ती भोग्नुपरेको स्थानीय कान्छी गुरुङ बताउँछिन्। ‘माछाखोलामा धेरै पर्यटकीय होटल छन्। तर बिजुली छैन’, उनले भनिन्, ‘कुनै होटल सोलारकै भरमा छन् भने कुनैले साँझ एकछिन जेनेरेटर चलाएर सेवा दिने गरेका छन्।’ सुविधा दिएर पर्यटक आकर्षित गर्नुपर्ने बेलामा माछाखोलामा आउने पर्यटकलाई टीभी हेर्ने व्यवस्था गर्न पनि नसकिएको भन्दै उनले बताए। ‘सोलारबाट मोबाइल चार्ज गर्दा मोबाइल पनि चाँडै बिग्रिने रहेछ। गाउँलेलाई घाटैघाटा छ’, उनले भनिन्।

बजार क्षेत्रमा धमाधम बन्दै गरेको नयाँ घरमा वेल्डिङ गर्न समस्या भएको उनको भनाइ छ। ‘माछाखोला व्यापारिक केन्द्रका रूपमा विकास भइरहेको छ’, उनी भन्छिन्, ‘तर घर बनाउनेहरूले वेल्डिङ गर्न पाएका छैनन्। काठको उद्योग, फर्निचर उद्योग चलाउन पनि पाएका छैनन्।’ बादल लाग्दा सञ्चार सम्पर्कविच्छेद हुने उनको भनाइ छ। विद्युत् सेवा नहुँदा लप्सीबोट गाउँ र खानीवेशीका बासिन्दा रेडियो सुन्न तथा टेलिभिजन हेर्नबाट समेत वञ्चित भएको स्थानीयको गुनासो छ।

लप्सीबोटका बासिन्दाको समेत नामावली समेटेर अर्को गाउँमा विद्युत् योजना आएको छ। यसले आफूहरू ठगिएको लप्सीबोटका बासिन्दाको गुनासो छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.