माथिल्लो त्रिशूली ‘थ्री बी’ को निर्माण सुरु
![माथिल्लो त्रिशूली ‘थ्री बी’ को निर्माण सुरु](https://annapurnapost.prixacdn.net/media/albums/Upper-TrishuLi-3A-Start-Nkt-3_20190210101539_4fPNtwFlNT.jpg)
किस्पाङ (नुवाकोट) :
निर्माणाधिन माथिल्लो त्रिशूली ‘थ्री ए’ को क्यासकेड आयोजनको रुपमा विद्युत प्राधिकरण र दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को मुख्य लगानीमा निर्माण हुन लागेको यस आयोजनाको शिलान्यास आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले गरे ।
मन्त्री पुनले नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाउने योजनामा वर्तमान सरकार क्रियाशील रहेको उल्लेख गर्दै आयोजनाको निर्माण तोकिएकै समयमा सम्पन्न गर्न सम्वन्धित निकायलाई निर्देशन पनि दिए । मन्त्री पुनले अव देशमै नौ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि दर हासिल गर्न सकेमा आगामी १० वर्षमा नेपालमै १० हजार मेगावाट विद्युत थप उत्पादन गर्ने बताए ।
उनले देशमा आर्थिक वृद्धिदर बढाउनको लागि ठूला उद्योग स्थापना गर्नुपर्ने र त्यसको लागि विद्युतमा आत्मनिर्भर हुनुपर्ने वताए । नुवाकोटमै अबको केही महिनामा ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रिए सम्पन्न हुने उनले बताए ।
मन्त्री पुनले दीर्घकालीन स्थायित्वका लागि आगामी दिनमा सरकारले नदीप्रवाही भन्दा जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताए । उनले आगामी वर्षको बर्षातको समयमा देश लगभग विद्युतमा आत्मनिर्भर हुने भएकोले सरकारले धेरै विद्युत खपत गर्ने ठूला उद्योग स्थापनामा जोड दिएको समेत उनको भनाइ थियो ।
आगामी वर्ष कार्तिकमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले विद्युत उत्पादन गर्न थालेपछि ऊर्जा आयात गर्नु नपर्ने मन्त्री पुनले उल्लेख गरे । उनले सबै निर्माणाधीन विद्युतका संरचना निर्माण गरेपछि नेपालले हाल मागको ५० प्रतिशत अर्थात वार्षिक १८ अर्ब रुपैयाँको विद्युत आयात कटौति भई व्यापार घाटामा कमी आउने बताए । ‘विद्युत धेरै खपत हुने उद्योग स्थापना गर्ने, खाना पकाउनेदेखि यातायातसमेत विद्युतबाट सञ्चालन गर्ने वातावरण बनाउने छौ’ उनले अगाडि भने ।
उनले देशलाई अव जलविद्युतकै माध्यमवाट देशमा आयात भइरहेको वार्षिक २४ अर्व रुपैयाँको ग्यास आयात अन्त्य गरिने दावी गरे । अवको केही वर्षमै आम नेपालीको घरमा ग्यासको होइन, विद्युतवाट चल्ने इन्डक्सन चुल्होवाट खाना पकाउने स्थितिको सुरुवात गरिने मन्त्रि पुनले दावी गरे ।
‘ग्यास, डिजेल, पेट्रोल र विद्युत आयातको लागि विदेसिने एक खर्ब भन्दा बढी रकम नेपालमै रहन्छ । उनले अगाडि भने– ‘यसले नेपालको व्यापार घाटा कम गराउँछ ।’
विद्युत प्राधिकरणको स्वामित्वमै नुवाकोटमा २१ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत केन्द्र सन्चालित छन् । कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा अध्यक्ष कुलमान घिसिङले माथिल्लो त्रिशूली थ्रिबी निर्धारित समयभन्दा अगाडि नै निर्माण गर्न सकिएमा मुलुकभर भरपर्दो र नियमित विद्युत् आपूर्तिमा ठूलो योगदान पुग्ने बताए ।
इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग गत २०७४ साल माघ २९ गते कुल तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर र एक अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रो–मेकानिकल र हाइड्रो–मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्ने घिसिङले बताए ।
घिसिङले ठेकेदार कम्पनीले हाल निर्माण कार्यका लागि आवश्यक सम्पूर्ण निर्माण उपकरण तथा सामाग्रीको परिचालन गरी मुख्य सुरुङ (३ हजार ८ सय मिटर), विद्युत गृह, सर्ज ट्यांक लगायतका संरचनाको काम सुरु गर्ने अवस्थामा रहेको जानकारी दिए । २५ महिना निर्माण अवधि रहेको आयोजनाको काम आगामी २०७७ साल फागुन २९ गतेभित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको उनले बताए ।
नुवाकोटको किस्पाङ र रसुवाको शान्तिवजारमा निर्माण हुने यस आयोजना प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि एको क्यास्केड आयोजना हो । क्यास्केड भएकाले माथिल्लो त्रिशूली थ्रिबीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरु नारायणप्रसाद खतिवडा, हितबहादुर तामाङले देशमा अब विकास तथा समृद्धि कुनै पनि वहानामा रोकिनु नहुने र आयोजनाको काम समयमै सकेर देशलाई पूर्ण उज्यालो बनाउनुपर्ने बताए ।
सांसदहरुले देशमा अझै पनि दुई तिहाई जनता कृषिमै आत्मनिर्भर रहेका कारण कृषिलाई ऊर्जाका माध्यमबाट आधुनिकीकरण र व्यवसायीकरण गरी देशमा बढ्दो युवा पलायन रोक्नुपर्ने बताए ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ र रसुवाका प्रमुख कुलप्रसाद भट्टले जलविद्युत आयोजना नै अव देश विकासका लागि मुख्य अभियानका रुपमा सावित हुने वताए । आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत सेयर छ ।
कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।
आयोजनामा नवील बैकको अगुवाईमा गठन भएको सह–वित्तीयकरणमार्फत ऋण लगानी हुने छ । प्रवद्र्धक कम्पनी र बैकहरुबीच २०७५ साल भदौ ४ गते ऋण सम्झौता भइसकेको छ ।
आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म)े १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने आयोजनाले लक्ष्य लिएको आयोजना प्रमुख मोहनराज गौतमले जानकारी दिए । उनले आयोजनाबाट उत्पादन हुने विद्युत खरिद–बिक्रीका लागि प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको वताए ।
विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने कम्पनीका प्रबन्ध–सञ्चालकसमेत रहेका गौतमले बताए । आयोजनाको विद्युत आयोजनाको विद्युत गृहबाट करिव ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्रिबी हब सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुने लक्ष्य रहेको छ ।
माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाको निर्माणस्थल नुवाकोटको सदरमुकाम विदुरवाट १५ किलोमिटर उत्तर त्रिशूली नदीको पश्चिमी किनारामा रहेको छ । हाल आयोजनाको मुख्य सुरुङ, पावरहायस, सर्ज ट्यांकलगायतको निर्माण कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)