क्यानभासमा प्रदेश १ को राजधानी
![क्यानभासमा प्रदेश १ को राजधानी](https://annapurnapost.prixacdn.net/media/albums/chita-kala-1_20190213082556_4CQcWbRV4K.jpg)
विराटनगर : प्रदेश १ का चित्रकारको जमघट विराटनगरमा भएको छ। चित्र बनाएर सम्मान पाए पनि व्यवसायीकरण नभएको निराशा बोकेर भेला भएका चित्रकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरको वर्तमान अवस्था चित्रका माध्यमबाट देखाउने प्रयास गरेका छन्।
उनीहरू प्रदेशको अस्थायी राजधानीलाई आफ्नो कलात्मक प्रस्तुति दिएर चित्रमार्फत उतार्ने छन्। चित्रकला संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ विराटनगर योङ हार्टको सहयोग र ललित कला संगमको आयोजनामा आयोजित दुईदिने विराट आर्ट फेयर– २०७५ मा उनीहरू चित्रमा आफ्ना कला पोख्न व्यस्त छन्। प्रदेशस्तरीय चित्रकला कार्यशाला मेलामा दुई दर्जन बढी चित्रकार सहभागी भएका छन्। चित्रकलाका अनुभवी र प्रसिद्ध कलाकारका साथै नयाँ पुस्ताका चित्रकारले एकै थलोमा बसेर नयाँ सिर्जना गरेका छन्। आर्ट फेयरमा सहभागी चित्रकारले एक्रेलिक कलरबाट क्यानभासमा चित्र सिर्जना गरेका छन् भने वाटर कलरले पेपरमा चित्र बनाएका छन्।
नयाँ र अनुभवी चित्रकारले एकै थलोमा सिर्जना गर्न पाएपछि उनीहरूबीच अनुभवको आदानप्रदानसमेत भएको छ। छरिएर रहेका कलाकारलाई एकै थलोमा जम्मा गरेर कार्यशाला आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष अनुराधा थापाले बताइन्।
कार्यशालामा सहभागी चित्रकारलाई आयोजक समितिले विराटनगर थिम दिएर चित्र सिर्जना गर्न आग्रह गरेको छ। आयोजकको आग्रहअनुसार चित्रकारले विराटनगरको पहिचान झल्किने चित्रसहित आ–आफ्नो कल्पनाअनुसारका चित्र क्यानभासमा उतार्नेछन्। आर्ट फेयरमा सहभागी चित्रकारले बनाएका चित्रहरू आइतबार प्रदर्शन र बिक्रीका लागि राखिएको छ। चित्रकलाप्रति सर्वसाधारणको ध्यान आकृष्ट गर्न र चित्रकलालाई प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक प्रदेश स्तरीय आर्ट फेयर विराटनगरमा आयोजना गरिएको लायन्स क्लब अफ विराटनगर योङ हर्टका अध्यक्ष सनातन मण्डलले बताए। उनले प्रत्येक वर्ष चित्रकालाप्रति रुचि बढाउन प्रदर्शनी गरिने जानकारी दिए। उनले यसको सबै खर्च लायन्स क्लबले बेहोर्ने बताए।
यसअघि एकल रूपमा कला सिर्जना गर्दै आएका चित्रकार संस्थागत र समूहगत रूपमा एकैथलोमा बसेर चित्र सिर्जना गर्न पाएपछि उत्साहित बनेका छन्।
प्राध्यापक एवं चित्रकार डा. बिजुकुमार थपलियाले नेपाली चित्रकलाले अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति कमाइसके पनि नेपालमै भने उपेक्षामा पर्नु बजार चित्रकलाले बजार पाउन नसकेको बताए। मिथिला चित्रकलामा पोख्त विराटनगर– १० की माधवी कर्णले लामो समयदेखि मिथिला चित्रका लामा समय खर्चंदै आए पनि संरक्षण र बजार अभावमा उत्साह मर्ने गरेको गुनासो गरिन्।
३२ वर्षदेखि चित्रकलामा रमाउँदै आएका भरत डंगोलले राज्यले एक घर एक चित्रकालको व्यवस्था ल्याउनुपर्ने बताए। ६७ वर्षीय उषा आचार्यले सानै उमेरदेखि चित्रकलामा सक्रिय लागेर रमाए पनि संरक्षण र संवद्र्धनको अभावमा केही गर्न नसेको बताइन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)