अवैध उत्खनन रोक्न महोत्तरीका सबै क्रसर बन्द
बर्दिबास : जिल्ला समन्वय समितिले महोत्तरीले जिल्लाभरका क्रसरहरु बन्द गराएको छ । समितिको बुधबार बसेको बैठकले बुधबारदेखि नै तत्कालका लागि सबै क्रसर उद्योग बन्द गराउने निर्णय गरेको हो ।
अवैधरुपमा सञ्चालित क्रसर उद्योगले चुरेभावर क्षेत्र दोहन गरेर कुरुप बनाएको गुनासो उठेपछि जिल्ला समन्वय समितिले क्रसर उद्योगीहरुलाई उद्योगको आधार प्रमाण पेश गर्न पत्रचार गरेको थियो ।
अनुगमन समितिले गत पुसमै ७ दिन भित्र समन्वय समितिको कार्यालयमा उद्योगको कागजपत्र पेश गर्न निर्देशन दिएको थियो । दुई महिना बित्न लाग्दा पनि उद्योगीहरुले पत्रको उत्तर पठाएनन् ।
‘क्रसरवलाहरुले महोत्तरीका नदीमा अवैध दोहन गरिरहेका जनगुनासो छ,’ जिल्ला समन्वय समितिका प्रवक्ता सुदीपकुमार झाले भने, ‘क्रसर बन्दको निर्णयले परेको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।’ महोत्तरीमा चार दर्जनभन्दा बढी क्रसर सञ्चालन छन् । जसमा धेरै जसो अवैध छन् ।