भीमकाय शरीरका रोली काठमाडौंमा
काठमाडौं : शारीरिक सुगठन खेलमा सबैभन्दा ठूलो शरीर भएका खेलाडी रोली विंकलार नेपाल आएका छन्।
शारीरिक सुगठन खेलको विश्वकप मानिने ‘मिस्टर ओलम्पिया’को छनोट प्रतियोगितास्वरूप नेपालमा पहिलोपटक हुन लागेको आईएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा ‘गेस्ट पोजर’का रूपमा विंकलार बुधबार नेपाल आएका हुन्।
प्रतियोगिताको दौरान उनले शारीरिक सुगठनसम्बन्धी केही महत्त्वपूर्ण ‘पोज’ प्रस्तुत गर्नेछन्। आईएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपको मुख्य आयोजक आईएफबीबी लिग नेपालले शोभा बढ्नुका साथै सहभागी खेलाडीको हौसलासमेत बढ्ने विश्वास गरेको छ।
नेदरल्यान्ड्सका नागरिक विंकलार शारीरिक सुगठन खेलमा सबैभन्दा ठूलो शरीर भएका खेलाडी मानिन्छन्। एक सय ३० केजी तौल भएका विंकलार अन्तर्राष्ट्रिय शारीरिक सुगठन खेलमा ‘द बिस्ट’ (दानव) तथा सामुराई जस्ता उपनामले परिचित छन्। प्रतियोगितामा गेस्ट पोजरका रूपमा सहभागी भएपछि उनी फेब्रुअरी १७ मा स्वदेश फर्कनेछन्।
अध्यक्ष गुरुङले प्रतियोगिताका लागि अमेरिका, बेलायत, फ्रान्स, इटाली, चीन, जापान, रुस, भारतलगायत देशबाट धेरैभन्दा धेरै खेलाडीले प्रतियोगितामा सहभागी हुन आवेदन भरेको जानकारी दिए। नेपालमा हुने छनोट प्रतियोगितामार्फत चार विधामा उत्कृष्ट हुँदै ‘प्रो कार्ड’ जित्ने चार खेलाडीले आगामी सेप्टेम्बरमा अमेरिकाको लस भेगासमा आयोजना हुने मिस्टर ओलम्पियामा सहभागिताको अवसर पाउनेछन्।