चेल्सीको जितले प्रशिक्षक सारीलाई राहत

चेल्सीको जितले प्रशिक्षक सारीलाई राहत

लन्डन : युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता ‘युरोपा लिग’ को शुक्रबार बिहान  भएको खेलमा इङ्लिस क्लब चेल्सीले स्विडिस प्रतिद्वन्द्वी माल्मोमाथि २-१ गोलको जित हात पारेको छ । अन्तिम ३२ टोलीबीचको भिडन्तको पहिलो लेग खेलमा माल्मोलाई उसैको मैदानमा हराएपछि चेल्सीले अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

उक्त जितले चेल्सीका प्रशिक्षक माउरिजियो सारीलाई पनि केही राहत दिएको छ । गत आइतबार घरेलु लिग इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग चेल्सी ६-० गोलले पराजित भएपछि प्रशिक्षक सारीको निकै आलोचना भएको थियो । म्यानचेस्टर सिटीसँगको उक्त लज्जास्पद हारपछि प्रशिक्षक सारीको विकल्प खोजिने चर्चा पनि सुरु भएको थियो ।

माल्मोविरुद्धको खेलमा चेल्सीले दुबै हाफमा एक÷एक गोल गर्‍यो । खेल सुरु भएको ३०औं मिनेटमा रोस बार्कलीले चेल्सीका लागि पहिलो गोल गरेका थिए । उनले पेड्रोको पासमा गोल गरेका हुन् । उनले सन् २०१९ सुरु भएपछि चेल्सीका लागि गरेको यो पहिलो ‘अवे गोल’ हो ।

यसैगरी ५८औं मिनेटमा ओलिभर गिरोडले टोलीको अग्रता दोब्बर बनाएका थिए । गिरोडले युरोपियन प्रतियोगितामा लगातार चौथो खेलमा गोल गरेका हुन् । उनी सन् २०१३ को मेपछि चेल्सीका लागि युरोपियन प्रतियोगिताको लगातार चार खेलमा गोल गर्ने पहिलो खेलाडी हुन् । सन् २०१३ मा भने भिक्टर मोसेसले लगातार चार खेलमा गोल गरेका थिए ।

निर्धारित समयको खेल सकिनुभन्दा १० मिनेटअघि घरेलु टोली माल्मोका लागि आन्द्रेस क्रिस्टिन्सनले जवाफी गोल फर्काएका थिए । जारी सिजनको युरोपा लिगमा भने चेल्सी हालसम्म अपराजित रहँदै आएको छ । प्रतियोगिताको दोस्रो लेग खेल फेब्रुअरी २१ तारिखमा चेल्सीको घरेलु मैदानमा खेलिने छ ।

‘मेरो विचारमा हामी एउटा राम्रो खेल खेल्दै फेरि लयमा फर्किएका छौं । यो जितले हाम्रो आत्मविश्वास पनि बढाएको छ । हाम्रो अगाडिको यात्रा भने अझै सहज छैन’, जितपछि प्रशिक्षक सारीले भनेका छन् । उनको प्रशिक्षकत्वमा हालसम्म ४० खेल खेलेको चेल्सीले २७ जित हात पारेको छ भने आठ खेलमा पराजय भोगेको छ । यी खेलमा चेल्सीले ७१ गोल गरेको छ भने ४० गोल खाएको छ ।

स्विडिस क्लब माल्मो युरोपा लिगको घरेलु मैदानमा खेलिएको खेलमा सन् २०१५ को नोभेम्बरयता पहिलो पटक पराजित भएको हो । सन् २०१५ को नोभेम्बरमा माल्मोलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले घरेलु मैदानमै ५-० गोलले हराएको थियो ।

यसैगरी चेल्सी सन् १९६७ को सेप्टेम्बरपछि माल्मोलाई उसैको घरेलु मैदानमा हराउने पहिलो इङ्लिस क्लब बनेको छ । सन् १९६७ को सेप्टेम्बरमा इङ्लिस क्लब लिभरपुलले माल्मोलाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो ।

शुक्रबार विहान खेलिएको अर्को खेलमा स्पेनिस क्लब भ्यालेन्सियाले स्कटल्यान्डको सेल्टिकलाई उसैको मैदानमा २-० गोलले हरायो । भ्यालेन्सियाका लागि ४२औं मिनेटमा डेनिस चेरिसेभ र ४९औं मिनेटमा रुबेन सोब्रिनोले एक÷एक गोल गरेका थिए । दोस्रो लेग खेल भ्यालेन्सियाको मैदानमा खेलिने छ ।

इटालियन सिरिए क्लब नापोलीले भने स्विट्जरल्यान्डको एफसी जुरिचलाई उसैको मैदानमा ३-१ गोलले पाखा लगाउँदै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनायो । क्लब ब्रुगले घरेलु मैदानमा साल्जबर्गलाई २-१ गोलले हरायो भने भिल्लारियलले स्पोर्टिङ सीपीमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो ।

भिक्टोरिया पल्जनले पनि घरेलु मैदानको फाइदा उठाउँदै डाइनामो जाग्रेबलाई २-१ गोलले हरायो । साख्तर डोनेस्क र इनरिच्ट फ्राँकफर्टबीचको खेल भने २-२ गोलको बराबरीमा सकियो । स्पेनिस क्लब रियल बेटिस पनि रेन्ससँग ३-३ गोलको बराबरीमा रोकियो । ओलम्पियाकसले डायनामो किभलाई २-२ गोलको बराबरीमा रोक्यो ।

स्पेनिस क्लब सेभिलले भने बलियो इटालियन प्रतिद्वन्द्वी लाजियोलाई उसैको मैदानमा उसैको मैदानमा १-० गोलले हराउँदै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनायो । सेभिलका लागि विसम बेन एदरले निर्णायक गोल गरे ।

अर्को इटालियन क्लब इन्टर मिलानले रापिड वियनालाई उसैको मैदानमा १-० गोलले पाखा लगायो । बेनफिकाले पनि गालातसारेलाई उसैको मैदानमा २-१ गोलले पराजित गर्‍यो । बलियो इङ्लिस क्लब आर्सनल भने बेलारुसको बेट बोरिसोभसँग उसैको मैदानमा १-० गोलले पराजित भयो ।

घरेलु टोली बोरिसोभका लागि पहिलो हाफको अन्तिम समयमा स्टानिस्लाभ ड्रागुनले निर्णायक गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि आर्सनलका एलेक्जेन्डर लाकाजेट्टी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

बेट बोरिसोभका एलेक्जेन्डर फिलिपोभिचलाई कुइनोले प्रहार गरेका कारण लाकाजेट्टीले रातो कार्ड पाएका थिए । त्यसअघि दोस्रो हाफको खेल सुरु हुनासाथ लाकाजेट्टीले नै गरेको एउटा गोललाई रेफ्रीले अफ साइड घोषित गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.