क्वार्टरफाइनलमा पुग्यो म्यानचेस्टर सिटी
लन्डन : इङ्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटी एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। म्यानचेस्टर सिटी शनिबार राति खेलिएको खेलमा दोस्रो श्रेणीको क्लब न्युपोर्ट काउन्टीलाई ४—१ गोलको फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो।
म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले दुई गोलको योगदान गरे। पहिलो हाफमा बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई गतिलो चुनौति दिएको घरेलु टोली न्युपोर्ट काउन्टीले दोस्रो हाफमा भने लय गुमाएको थियो। त्यसैले म्यानचेस्टर सिटीले चारवटै गोल दोस्रो हाफमा गरेको थियो।
खेलको ५१औं मिनेटमा म्यानचेस्टर सिटीका लागि लेरोय सानेले पहिलो गोल गरेका थिए। म्यानचेस्टर सिटीका लागि लेरोय सानेले पछिल्ला ३२ खेलमा २५ गोलका लागि कुनै न कुनै रुपमा योगदान पुर्याएका छन्। यस अवधिमा साने आफैले १२ गोल गरेका छन् भने १३ गोलका लागि साथीलाई पास उपलब्ध गराएका छन्।
साने ले पछिल्ला आठ खेलमा मात्र म्यानचेस्टर सिटीको नौ गोलमा योगदान पुर्याएका छन्। ७५औं मिनेटमा फोडेनले टोलीलाई २—० को अग्रता दिलाए। ८८औं मिनेटमा न्युपोर्ट काउन्टीका पाड्रिङ एमोन्डले जवाफी गोल फर्काउँदै खेललाई २—१ को स्थितिमा ल्याएका थिए। उनले जारी सिजनको एफए कपमा गरेको यो पाँचौं गोल हो।
यसैगरी ८९औं मिनेटमा म्यानचेस्टर सिटीका लागि फोडेनले ब्यक्तिगत रुपमा दोस्रो गोल थपेका थिए। म्यानचेस्टर सिटीका लागि फोडेनले हालसम्म पाँचवटै गोल घरेलु प्रतियोगितामा गरेका हुन्। उनले एफए कपमा तीन र लिग कपमा दुई गोल गरेका छन्।
यसैगरी खेलको अन्तिम समयमा अनुभवी खेलाडी रियाद माहरेजले म्यानचेस्टर सिटीका लागि चौथो गोल गरे। हारसँग सन् १९९० पछि एफए कपको क्वार्टरफाइनलमा पुग्ने न्युपोर्ट सिटीको सपना पनि तुहिन पुग्यो।
म्यानचेस्टर सिटी सन् २०१६÷१७ सिजनपछि पहिलो पटक एफए कपको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो। समग्रमा भने म्यानचेस्टर सिटी २५औं पटक एफए कपको क्वार्टरफाइनलमा पुगेको हो। न्युपोर्ट काउन्टीले भने एफए कपको आफुले खेलेका पछिल्ला १२ खेलमा केवल दोस्रो हार भोगेको हो। यस अवधिमा न्युपोर्ट काउन्टीले सात खेल जितेको थियो भने तीन खेल बराबरीमा सकिएको थियो।