बनेन बूढीगंगाको डीपीआर
अछाम : अछाममा बूढीगंगा हाइड्रोपावरको डीपीआर दसैँअगावै तयार भइसक्ने भनिए पनि अझै बन्न सकेको छैन।आयोजना निर्माणका लागि सम्झौता भएको अढाई वर्ष बितिसकेको छ। ०७३ असार १४ गते अस्ट्रेलियन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीसँग १८ महिनाभित्र डीपीआर तयार गरिसक्ने गरी सम्झौता भएको थियो।
चमेलियापछि सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजनाको काम डीपीआर नबनेका कारण ढिलाइ भएको हो। जलाशययुक्त ३५ मेगावाट क्षमताको दार्चुलाको चमेलिया जलविद्युत् आयोजनापछि अछामको बूढीगंगा, सरकारले बनाउन लागेको प्रदेशका लागि दोस्रो ठूलो जलविद्युत् आयाजना हो।
आयोजनाको डीपीआर तयार नभएपछि टेन्डर प्रक्रियामा रोकिएको छ। ०७७ सालमा आयोजना निर्माण सक्ने लक्ष्य लिएको थियो तर डीपीआर नै तयार नभएपछि आयोजनाको अवधि लम्बिने भएको छ।
आयोजनाका निमित्त प्रमुख इन्जिनियर सेरोक्स सुकुपायो भने डीपीआरको काम अन्तिम चरणमा पुगेको दाबी गर्छन्।आयोजना स्थल जिल्लाको घुघुरकोटको ठाँटीमा पूर्वाधार निर्माणअन्तर्गत कार्यालयको ५ वटा भवन, पावर हाउससम्म जाने पहुँचमार्ग बनिसकेको आयोजनाले जनाएको छ। पावर हाउससम्म जाने पहुँचमार्गमा पर्ने नदीमा पक्की पुलको निर्माण पनि ५० प्रतिशत भइसकेको छ।
डीपीआर नबनेकै कारण आयोजनाको कामले गति लिन नसकेको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले बताए। उनले आयोजनाको काम सुस्त गतिमा भएको भन्दै स्थानीय चिन्तित बनेको बताए। आयोजना नेपाल सरकार, ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागबाट निर्माण गर्न लागिएको हो।
आयोजना निर्माणका लागि साउदी फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टले ३ अर्ब र कुबेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टले १ अर्ब ८० करोड संयुक्त ऋण लगानी गर्नेछ भने बाँकी रकम नेपाल सरकारले लगानी गर्नेछ।