चेल्सीलाई हराउँदै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा
लन्डन : अन्ततः बलियो प्रतिद्वन्द्वी चेल्सीलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । म्यानचेस्टर युनाइटेडले मंगलबार बिहान स्टामफोर्ड ब्रिजमा खेलिएको महत्वपूर्ण खेलमा चेल्सीमाथि २—० को सजिलो जित हासिल गर्यो ।
म्यानचेस्टर युनाइटेडले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो । दुबै गोलमा पल पोग्बाको महत्वपूर्ण योगदान रह्यो । खेलको ३१औं मिनेटमा एन्डर हेरेराले म्यानचेस्टर युनाइटेडका लागि पहिलो गोल गरेका थिए । उनले पोग्बाको पासलाई सदुपयोग गरेका थिए ।
यसैगरी पहिलो हाफको खेलसकिनुभन्दा ठिकअघि पोग्बा आफैंले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । हारपछि चेल्सीका प्रशिक्षक माउरिजियो सारी थप दबाबमा परेका छन् । पछिल्लो समय चेल्सीले एकपछि अर्को निराशाजनक प्रदर्शन गरेपछि चेल्सीका समर्थक उनीसँग रुष्ट बन्दै गएका छन् ।
प्रशिक्षक सारीले पहिलो हाफमा दुई गोल खाए पनि आफ्ना खेलाडीले दोस्रो हाफको तुलनामा पहिलो हाफमै गतिलो प्रदर्शन गरेको प्रतिक्रिया दिए । ‘हामीले पहिलो हाफमा केही राम्रो प्रदर्शन गर्यो तर, दोस्रो हाफमा हाम्रो खेल बुझ्नै नसकिने खालको थियो’, उनले भने, ‘दोस्रो हाफमा मेरा खेलाडी आत्तिएका थिए र प्रदर्शन पनि हेर्नलायक थिएन ।’
सारीले आफू खेलाडीको प्रदर्शनबाट दुःखी भएको बताए । ‘समर्थकले मेरो बारेमा के भन्छन् भन्ने कुराको मलाई चिन्ता छैन । खेलाडीको खस्कँदो प्रदर्शनबाट भने म निकै दुःखी छु’, खेलपछि निकै चिन्तित देखिएका प्रशिक्षक सारीले भने ।
म्यानचेस्टर युनाइटेडले आफ्ना दुई प्रभावशाली खेलाडी जेसी लिनगार्ड र एन्थोनी मार्सलको अनुपस्थितिमै चेल्सीलाई हराएको हो । यी दुबै खेलाडी घाइते भएका कारण खेलमा अनुपस्थित भएका हुन् । ‘हामीले उत्कृष्ट प्रदर्शन गर्यौं र हाम्रो खेल नीति पनि सफल भयो’, खेलपछि म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरले भने ।
पछिल्ला १० मध्ये पाँच खेलमा चेल्सी पराजित भएको छ । बाँकी पाँच खेलमा भने चेल्सीले सफलता हात पारेको छ । चेल्सी घरेलु मैदानमा खेलिएको घरेलु कप प्रतियोगितामा पछिल्ला ५१ खेलयता केवल दोस्रो पटक गोल गर्न असफल भएको हो ।
यसअघि सन् २०१८ को जनवरीमा घरेलु मैदानमा खेलिएको लिग कपको सेमिफाइनलमा पनि चेल्सीलाई आर्सनलले गोलरहित बराबरीमा रोकेको थियो । म्यानचेस्टर युनाइटेडविरुद्घको खेलमा चेल्सीले दुईपटक मात्र विपक्षीको पोष्टमा प्रहार गर्न सकेको थियो ।
म्यानचेस्टर युनाइटेड एफए कपको एउटै संस्करणमा दुई बलिया प्रतिद्वन्द्वी आर्सनल र चेल्सीलाई हराउने एकमात्र टोली हो । यसअघि सन् १९९८-९९ सिजनमा पनि म्यानचेस्टर युनाइटेडले एफए कपमा आर्सनल र चेल्सीलाई हराएको थियो ।
चेल्सीलाई हराए पनि म्यानचेस्टर युनाइटेडले खेल अवधिभर ३३.१ प्रतिशत समय मात्र बललाई आफ्नो नियन्त्रणमा राखेको थियो । कुनै पनि प्रतियोगितामा म्यानचेस्टर युनाइटेडले सन् २०१८ को मार्चपछि यति कम समय बलमाथि नियन्त्रणमा राखेको यो दोस्रो पटक हो । सन् २०१८ को मार्चमा भएको लिभरपुलविरुद्घको खेलमा म्यानचेस्टर युनाइटेडका खेलाडीले केवल ३२.१ प्रतिशत समय बलमाथि नियन्त्रण राखेका थिए ।
अन्तरिम प्रशिक्षक सोल्सकरको नेतृत्वमा खेलेका १३ मध्ये ११ खेलमा म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ । उनी सन् २०१८ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेडको प्रशिक्षकको जिम्मेबारी समालेका थिए ।
सोल्सकरको प्रशिक्षकत्वमा आफुले खेलेका १२ खेलमा भएका १५ गोलका लागि पोग्बा कुनै न कुनै रुपमा संलग्न छन् । यस अवधिमा उनी आफैले नौ गोल गरेका छन् भने ६ गोलका लागि पास उपलब्ध गराएका छन् । हेरेराले भने सबै प्रतियोगितालाई मिलाएर म्यानचेस्टर युनाइटेडका लागि गरेको यो २०औं गोल हो ।
म्यानचेस्टर युनाइटेडले अब एफए कपको क्वार्टरफाइनलमा उल्भससँग भिडन्त गर्नेछ । म्यानचेस्टर सिटीले भने स्वान्सी सिटीसँग क्वार्टरफाइनल खेल्ने छ । अन्य क्वार्टरफाइनल खेल वाट्फोर्ड र क्रिस्टिल प्यालेस तथा मिलवाल र ब्राइटनबीच हुनेछ ।
हालसम्म आर्सनलले १३, म्यानचेस्टर युनाइटेडले १२ तथा चेल्सी र टोट्टनहामले आठ÷आठ पटक एफए कपको उपाधि जितेका छन् । चेल्सीले अघिल्लो वर्ष फाइननलमा म्यानचेस्टर युनाइटेडलाई नै १—० गोलले हराउँदै उपाधि चुमेको थियो ।