अनुदान माग्दै आन्दोलन
मलंगवा : उखुको अनुदान रकम माग गर्दै सर्लाहीका किसान आन्दोलित भएका छन्। आन्दोलनको पहिलो दिन किसानले उखुको लाक्रासहित हरिवनमा विरोध प्रदर्शन गरेका छन्।
गत वर्षकै अनुदान रकम प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा र चिनी उद्योगले राखेको बक्यौता रकम पाँच रुपैयाँ ३६ पैसा नपाएपछि किसान आन्दोलित भएका हुन्। निरन्तर ध्यानाकर्षणपछि पनि उद्योगले अनुदान नदिएपछि उनीहरू आन्दोलित बनेका हुन्। पूर्वघोषित कार्यक्रमअनुरूप पहिलो दिन हरिवनको कृष्णा चोकदेखि लाक्रासहित इन्दुशंकर चिनी उद्योगसम्म प्रदर्शन गरेका थिए।
दोस्रो दिन मंगलबार एक घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने र तेस्रो दिन बुधबार दुई घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्। तीन दिनको आन्दोलनपछि राज्यले कुनै सुनवाइ नगरे आन्दोलनको स्वरूप परिवर्तन गर्ने किसानले जनाएका छन्।
कृषि मन्त्रालयका दुई चार कर्मचारीका कारण आफूहरूले पैसा नपाएको किसानको गुनासो छ। कार्यविधिको जालझेल गरेर दुःख दिने गरेको नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले बताए। किसानको खातामा सिधा पैसा गएपछि कमिसन नपाउने भएर कर्मचारीले किसानलाई झुलाउने गरेको उप्रेतीको आरोप छ।
३६ प्रतिशतमा ऋण लिएर खेती गरेका किसानको खेत अहिले लिलाम हुने अवस्थामा छ। छोराछोरीको पढाइलेखाइ खर्च किसानले तिर्न सकेका छैनन्। नगदेबाली उखु खेती उधारो खेतमा परिणत भएपछि किसान चिन्तित बनेका छन्।
बारम्बार अर्थ, कृषि, उद्योग मन्त्रालय धाउँदा पनि किसानले अनुदान रकम पाउन नसकेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताएका छन्। कृषि मन्त्रालयका केही कर्मचारीको गलत नियतका कारण अनुदान रकम लिने प्रक्रिया झन्झटिलो बनाइएको मैनालीले बताए।
उखु काटेर उद्योगमा पुर्याउने समयमा किसानलाई आफ्नो पैसा लिन आन्दोलन गर्नुपरेको छ। किसानको वास्तविक समस्या समधान गर्न पटकपटक वार्ता भए पनि कुनै सुनवाइ हुन सकेको छैन। विभिन्न किसानको प्रपञ्च गरेर किसानलाई दुःख दिने काम भएको छ। उखु रोपेको २२ देखि ३० महिना भए पनि किसानलाई पैसा दिएको छैन। यो बालीले किसानको प्रगति हुनुको साटो सर्वनास गर्ने काम गरेको छ।
आन्दोलनमा सहभागी प्रदेशसभा सदस्य डिल्ली उप्रेतीले किसान वा प्रहरीको पिटाइ खान आफूहरू बाध्य भएको बताएका छन्। उनले भने, ‘किसानको पिटाइ खादैंनौ बरु प्रहरीको कुटाइ खानु परे हामी तयार छौं। हामीले अहिले रोदन पोखेका मात्रै छौं। धैर्यता टुटाएका छैनौं। जुन दिन धैर्यता टुट्छ त्यो दिन हामी चर्को आन्दोलन गर्न बाध्य हुनेछौं।’
प्रतिक्रिया दिनुहोस !