हेमनारायण गोल्डकप : वीरगन्जको विजयी सुरुवात
सिरहा : सिरहामा हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ।
सहिद सांसद हेम नारायण यादवको १५ औं स्मृति दिवसको अवसरमा आयोजित गोल्डकपको उद्घाटन खेलमा वीरगन्ज यूथ एकेडमीले धरान फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ।
सिरहाको सूर्य नारायण सत्य नारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खेल मैदानमा भएको उद्घाटन खेलमा वीरगनजका लागि क्यामरुनका खेलाडी म्याक्स वेलले सुरुवात अग्रता दिलाएका थिए। वेलले खेलको १४ औं मिनेटमा गोल गर्दै वीरगन्जलाई १–० को अग्रता दिलाए।
यस्तै वीरगंजका लागि दोस्रो गोल ४१ औं मिनेटमा कृपा चौधरीले गरे। चौधरी प्लेयर अफ दि म्याच घोषित भएका छन्।
फागुन १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५१ हजार १ सय ५१ रुपैयाँ पाउने गोल्डकप संयोजक रविन्द्र साहले जानकारी दिए।,
प्रतियोगितामा ६ वटा नेपाली र दुईवटा भारतीय क्लबको सहभागिता रहेको संयोजक साहले बताए।