सय वर्षे सत्यमोहनको युवा जोश

सय वर्षे सत्यमोहनको युवा जोश

ललितपुर : ‘दुई/चार किलोमिटर हिँड्न समस्या छैन। ठमठम हिँडेरै बोलाएको ठाउँमा पुग्छन्। घण्टौं बोलिरहन सक्छन्। ऊर्जावान छन्। शरीर अझै कुप्रिएको छैन। अथाह ज्ञानका कुरा गर्छन्। सुनिरहुँ लाग्छ’, बाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको शतवार्षिकी मनाउने तयारीबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संस्कृतिविद् जोशीको प्रशंसाका खर्चेका शब्द हुन् यी।

जोशी बुधबार ९९ वर्ष ११ महिना ८ दिनका भए। अबको ८२ दिनमा अर्थात् वैशाख ३० गते सय वर्ष पुग्दै छन्। महानगरपालिकाले गत वर्ष नै उनको शतवार्षिकी भव्य कार्यक्रमसहित वर्ष दिनभर मनाउने घोषणा गरेको थियो। त्यति नै बेला जोशीको दैनिकी सजिलो बनाउन तथा स्वास्थ्यमा सहरको प्रदूषणले असर नगरोस् भनेर एउटा कार, ड्राइभर र मोबाइलको चाँजो मिलाइदिएको थियो।

महानगरले शतवार्षिकी कार्यक्रम मनाउने उद्घोष गरेपछि ‘सय वर्ष मनाउनका लागि भए पनि बाँच्नै पर्ने बाध्यता भयो’, ठट्यौली पारामा जोशीले भनेका थिए, ‘खानपान र स्वास्थ्यमा ध्यान दिनेछु। ’

महानगरपालिकाले बुधबार जोशीको सम्मानमा वर्षभर गरिने कार्यक्रम सार्वजनिक गरेको छ। मेयरको अध्यक्षतामा एक सय ११ जनाको समिति बन्यो। माघ २५ मा कार्यपालिका सदस्य एवं ३ नम्बरका वडाध्यक्ष श्रीगोपाल महर्जनको अध्यक्षतामा १५ सदस्यीय कार्यसम्पादन समिति कमिटीले उनको सम्मानमा के–कस्ता कार्यक्रम गर्ने भन्ने अनुमोदन गरेको हो। समितिका निर्णय बुधबार सार्वजनिक भएको मेयर महर्जनले बताए।

उनका अनुसार जोशीको तस्बिरअंकित हुलाक टिकट, स्वर्ण मुद्रा निष्कासन गरिने भएको छ। महानगरपालिकाभित्रका उपयुक्त स्थानका सडक र पार्कमा जोशीको नाम राखिनेछ। उनको नाममा आर्ट ग्यालरीमा आर्ट प्रदर्शन गरिने, दिनचर्या समेटेर अडियो भिडियोको अभिलेख राख्ने, जोशी प्रतिष्ठान एवं अध्ययन केन्द्र स्थापना गर्ने, विद्यालयका पाठ्यक्रममा उनको नाम राख्ने, उनको जन्म शताब्दिको पहिलो दिन राष्ट्रपतिको आतिथ्यमा चीन र भारतका राजदूतसहित कार्यक्रम गर्ने, नेपाल–भारतसँगको सम्बन्धबारे अशोक सम्राट्का छोरी चारुमतीबारे र्‍याली प्रदर्शन गरिनेछ।

रानीपोखरीभन्दा दुई सय वर्ष पुरानो पिंमबहाल पोखरी बनाउने, त्यस्तै महानगरपालिकाको लोगो र जोशीको तस्बिरसहित उत्तर मोहडाबाट सगरमाथा चढ्न लागेकी पत्रकार कल्पना महर्जनलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेलगायत कार्यक्रम महानगरपालिकाले गरेको छ। मेयर महर्जनले भने, ‘यी प्रस्तावित खाका हुन्, परिमार्जन गर्दै लैजानेछौं । ’

चारुमतीको मञ्चन

जोशीको एउटा ठूलो चाहना अशोक सम्राट्का छोरी ‘चारुमती’ नाटकको प्रदर्शन गर्ने पनि हो। जोशीलाई उद्धृत गर्दै महर्जनले भने, ‘चारुमती नाटक देखाउने उहाँको ठूलो चाहना छ। ’ करिब १८ वर्षपहिले जोशी आफंैले निर्देशन गरेको वृत्तचित्र चारुमती प्रदर्शन गर्ने क्रममा थियो। त्यति नै बेला दरबार हत्याकाण्ड भयो। बल्लतल्त जुटाएका कलाकार तितरवितर भए। उनले भने, ‘त्यो बेलाका बाल कलाकार ठूला भइसके, कता पुगे कता। ’

नाटक मञ्चनका लागि कलाकारको खोजी भइरहेको जानकारी उनले दिए। चारुमती नाटक मञ्चन गर्ने ठूलो रहर जोशीमा छ। यो काम जोशीको अगुवाइमा मात्रै सम्भव हुने देखिएको मेयर महर्जनले बताए। त्यस्तै, कात्तिक नाचसम्बन्धी जोशीले लेखेका कथालाई लिपिबद्ध गर्ने योजना पनि महानगरको छ। उनले लेखेका गीत फत्तेमानलगायतले गाएको र खोजी गरी क्यासेटमा उतार्ने लक्ष्य पनि महानगरको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.