रोनाल्डोको युभेन्ट्सलाई एट्लेटिकोले हरायाे, म्यानचेस्टर सिटीको प्रतिस्पर्धात्मक जित

रोनाल्डोको युभेन्ट्सलाई एट्लेटिकोले हरायाे, म्यानचेस्टर सिटीको प्रतिस्पर्धात्मक जित

म्याड्रिड : युरोपियन फुटबलको सबैभन्दा ठूलाे क्लब प्रतियोगिता च्याम्पियन्स लिगको बिहीबार बिहान भएको खेलमा एट्लेटिको म्याड्रिड र म्यानचेस्टर सिटीले जित हात पारेका छन् । अन्तिम १६ टोलीबीचको भिडन्तको पहिलो लेग खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन सिरिए च्याम्पियन युभेन्ट्सलाई २-० गोलले हरायो ।

इङ्लिस क्लब म्यानचेस्टर सिटीले भने जर्मन प्रतिद्वन्द्वी साल्केमाथि ३-२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍याे । घरेलु मैदानमा खेलिएको खेलमा ६ मिनेटको बीचमा लगातार दुई गोल गर्दै एट्लेटिको म्याड्रिडले नतिजालाई आफ्नो पक्षमा पारेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा ७८औं मिनेटमा एट्लेटिको म्याड्रिडका लागि होजे मारिया जिमेन्जले पहिलो गोल गरेका थिए । अल्भारो मोराटाको हेड प्रहारलाई मारियो मान्जुकिचले गोल हुनबाट जोगाएपछि सोही अवसरको फाइदा उठाउँदै जिमेन्जले टोलीका लागि गोल गरेका थिए ।

यसैगरी ८३औं मिनेटमा डिएगो गोडिनले अर्को गोल थप्दै प्रशिक्षक डिएगो सिमोनको टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए । क्रिस्टियाो रोनाल्डोसँग ठोक्किएर आएको बललाई सदुपयोग गर्दै गोडिनले टोलीका लागि दोस्रो गोल गरेका हुन् ।

त्यसअघि एट्लेटिको म्याड्रिडको एउटा पेनाल्टी र मोराटाले गरेका एउटा गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अयोग्य घोषित गरेको थियो । जितसँगै एट्लेटिको म्याड्रिडले प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । क्वार्टरफाइनलको दोस्रो लेग खेल आगामी मार्च १२ तारिखमा युभेन्ट्सको घरेलु मैदानमा खेलिने छ । क्वार्टरफाइनलमा पुग्न युभेन्ट्सले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्नुपर्ने भए पनि घरेलु मैदानको फाइदा भने रहने छ ।

तर, प्रतियोगिताको दोस्रो लेग खेलमा एट्लेटिको म्याड्रिडका अनुभवी स्ट्राइकर डिएगो कोस्टा र थोमस पार्टी तथा युभेन्ट्सका एलेक्स स्यान्ड्रो अनुपस्थित रहने छन् । यी तीनैजना खेलाडीले पहिलो लेग खेलमा पनि पहेँलो कार्ड पाएका थिए ।

लगातार चौथो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेका रोनाल्डोले एट्लेटिको म्याड्रिडविरुद्घ खासै गतिलो प्रदर्शन गर्न सकेनन् । खेलका क्रममा उनले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको एउटा फ्रिकिक पनि असफल भएको थियो । रोनाल्डोले हालसम्म विभिन्न क्लबबाट पाँचपटक च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन् ।

प्रशिक्षक डिएगो सिमोनको नेतृत्वमा घरेलु मैदानमा खेलिएका युरोपियन प्रतियोगिताको नकआउट चरणमा एट्लेटिको म्याड्रिड हालसम्म पराजित भएको छैन । यस्ता १६ मध्ये १२ खेलमा एट्लेटिको म्याड्रिड विजयी भएको छ भने चार खेल बराबरीमा सकिएको छ ।

च्याम्पियन्स लिगमा एट्लेटिको म्याड्रिडमात्र यस्तो टोली हो जसलाई युभेन्ट्सले अन्य क्लबको तुलनामा कम हराएको छ । यसअघि चारपटक च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेग खेलमा पराजित हुँदा युभेन्ट्सले दोस्रो लेग खेलमा पुनरागमन गर्न सकेको थिएन ।

पछिल्लो पटक सन् २००५÷०६ सिजनमा च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेग खेलमा पराजित भए पनि दोस्रो लेग खेलमा उत्कृष्ट पुनरागमन गर्दै युभेन्ट्स अगाडि बढेको थियो । युभेन्ट्सका डिफेन्डर लियोनार्दो बोनुच्चीले क्लबका लागि यो पाँच सयौं खेल थियो ।

म्यानचेस्टर सिटीले भने जर्मन क्लब साल्केलाई उसैको घरेलु मैदानमा हराएको हो । खेल सुरु भएको १८औं मिनेटमै सर्जियो एग्वेरोले म्यानचेस्टर सिटीका लागि पहिलो गोल गरेका थिए । ३८औं मिनेटमा साल्केका नबिल बेन्टालेबले पेनाल्टीमार्फत जवाफी गोल फर्काएपछि खेल १-१ को बराबरीमा पुगेको थियो ।

पहिलो हाफको खेल सकिनुभन्दा ठिकअघि नबिलले पेनाल्टीमार्फत नै अर्को गोल थपेपछि साल्के २-१ ले अगाडि बढेको थियो । ६८औं मिनेटमा निकोलस ओटामेन्डी लगातार दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा समेटिएको थियो । त्यसअघि उनले ३७औं मिनेटमा पहिलो कार्ड पाएका थिए ।

दुबै टोलीका खेलाडी कलात्मक खेलभन्दा पनि शारिरीक घम्साघम्सीमा बढी ओर्लिएका थिए । त्यसैले खेलका क्रममा रेफ्रीले एकपछि अर्को कार्डको प्रयोग गर्नु परेको थियो । ८५औं मिनेटमा लेरोय सानेले गोल गर्दै म्यानचेस्टर सिटीलाई २-२ को बराबरीमा ल्याएका थिए । खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा अन्तिम समयमा रहिम स्टर्लिङले निर्णायक गोल गर्दै प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई महत्वपूर्ण जित दिलाएका थिए । प्रतियोगिताको दोस्रो लेग खेल मार्च १२ तारिखमा म्यानचेस्टर सिटीको घरेलु मैदानमा खेलिने छ ।

च्याम्पियन्स लिगमा खेलिएका जर्मन प्रतिद्वन्द्वीविरुद्घका पछिल्ला आठ खेलमा म्यानचेस्टर सिटी अपराजित रहँदै आएको छ । पछिल्ला आठमध्ये सात खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक च्याम्पियन्स लिगमा सन् २०१४ को सेप्टेम्बरमा जर्मन क्लब बायर्न म्युनिखले म्यानचेस्टर सिटीलाई १-० गोलले हराएको थियो ।

युरोपियन प्रतियोगितामा यसअघि घरेलु मैदानमा खेलिएका लगातार नौ खेलमा साल्के विजयी हुँदै आएको थियो । १०औं खेलमा आएर घरेलु मैदानमा साल्केको अपराजित यात्रा पनि टुंगिएको छ । पछिल्लो पटक साल्केलाई घरेलु मैदानमा सन् २०१६ को फेब्रुअरीमा साख्तर डोनेस्कले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.