मनेसँग सेल्फी

मनेसँग सेल्फी

बाबाले पाठो दुवैको हातमा मिलाएर राखिदिनुभयो। मानुषीले एक हातले पाठो समातिन्। अर्को हातले सेल्फी खिचिन्। उनले भनिन्, ‘बाबा, यो फोटो तपाईंको फेसबुकमा राखौं है !


मानुष र मानुषी दिदीभाइ हुन्। मानुषी आठ वर्ष र मानुष ६ वर्षका भए। जाडो बिदामा उनीहरू गाउँ आएका थिए। पोहोर दसैंमा घर आउँदा पेटारीका जोर पाठा थिए। यसपालि एउटा मात्रै पाठो जन्मिएको रहेछ। दुइटा हुँदा पाठा दुब्ला थिए। एउटा मात्रै हुँदा पाठो गुथुमुने रहेछ ।

‘दिदी, तिमी मने समात, म फोटो खिच्छु है ! अँ अँ, उसको कान देखाऊ न, म क्लिक पार्छु ।’ मानुषले भने। मानुषीले भनिन्, ‘अहिले मने भाग्छ। ल ल, छिटो फोटो खिच। काठमाडौं गएपछि साथीहरूलाई देखाउन हुन्छ ।’

मानुषले बाबाको मोबाइल बोकेका थिए। उनी जेको पनि फोटो खिच्दै हिँड्थे। दिदीलाई पाठो बोक्न लगाएर फोटो खिचे। त्यसपछि मानुषले पाठो समाते। दिदीलाई भने, ‘अब मेरो र मनेको फोटो खिच दिदी। राम्रो फोटो खिच है ! म पनि साथीलाई देखाउँछु ।’

दुवै जनाले पालैपालो पाठो बोकेर फोटो खिचे। फेरि पाठो समातेर सेल्फी खिच्ने भए। पाठोको टाउकोतिर मानुषले समाते। खुट्टातिर मानुषीले समातिन्। मानुषले भने, ‘ल दिदी, तिमी सेल्फी हान त ! बाबाको फेसबुकमा फोटो हाल्नुपर्छ ।’

सेल्फी खिच्न मोबाइल मिलाउँदा मिलाउँदै पाठो उनीहरूको हातबाट बुरुक्क उफ्रेर कुद्यो। ऊ माउको थुन चुस्न पुगिहाल्यो। मानुष कुद्दै गए। मानुषीले भनिन्, ‘भाइ, उसलाई भोक लागेको छ। आमाको बुबु खान देऊ। ऊ अघाएपछि सेल्फी खिचौंला ।’

मानुषलाई सेल्फी खिच्न हतार भएको थियो। उनले माउको थुनबाट पाठोलाई ताने। दिदीले गएर भाइलाई तानिन्। उनले भनिन्, ‘आमाको बुबु खान दिनुपर्छ क्या भाइ ! नत्र पेटारी रिसाउँछ ।’ मनेले थुन चुसिसक्यो। ऊ खेल्न थाल्यो। मानुषले समातेर ल्याइहाले। माउ ‘म्याँ’ गरेर करायो। किलामा फनफनी घुम्न थाल्यो ।

पोहोर मानुष फोटो खिच्न जान्दैनथे। बाबाले मोबाइल पनि दिनु हुन्थेन। यो पालि छोराछोरीले मोबाइल बिगार्दैनन् भनेर दिनुभयो। उनीहरूले अनेक पोज बनाएर फोटो खिचे। मनेसित सेल्फी खिच्न तयारी गर्दै थिए। तर मने उनीहरूसँग आउन मानेकै थिएन। ऊ भाग्न मात्रै खोज्थ्यो ।

घरमाथिको पाटोमा फुटबल प्रतियोगिता भइरहेको थियो। गाउँभरिका केटाकेटी पनि त्यहीँ जम्मा भएका थिए। तर मानुष र मानुषीलाई त्यहाँ जान मन लागेको थिएन। उनीहरूलाई मनेसँग सेल्फी खिच्नु थियो। बाबाको फेसबुकमा राख्नु थियो ।

घरका ठूला मानिस आफ्नै कामधन्दामा व्यस्त थिए। आमा र हजुरआमा भान्सामा खाना पकाउँदै हुनुहुन्थ्यो। बाबा तल्लो घरतिर जानुभएको थियो। हजुरबा पसल जानु भएको थियो ।

मानुषको हातबाट फेरि पाठो उम्कियो। उनी समात्न बल गर्दै थिए। पाठो उफ्रेर तीन कान्ला तल गयो। मानुष लखेट्दै गए। दिदीले भनिन्, ‘भाइ, पाठो नलखेट। उसको आमा रिसाउँछ। त्यो अहिले आइहाल्छ नि ! आएपछि सेल्फी खिचौंला ।’

मने आउँदै आएन। बारीमा पनि देखिएन। मने हरायो। नानीहरूले सेल्फी खिच्न पाएनन्। पेटारी बाख्रो पाठो नदेखेर बेस्सरी कराउन थाल्यो। मानुष भान्सामा आए। आमालाई भने, ‘आमा, मनेसित सेल्फी खिच्न खोजेको, मने नै हरायो ।’ आमाले सोध्नुभयो, ‘कहाँ गयो त मने ? त्यतै होला। राम्ररी खोज न ।’

पेटारी उधुम मच्चाउन लागेको थियो। भुइँ खोस्रेर धुलो उडाएको थियो। हजुरआमा बाहिर निस्कनुभयो। उहाँले मनेलाई बोलाउनुभयो। तर मने आएन ।

मने कता गयो ? अरूको घरमा गयो कि ? स्यालले लग्यो कि ? यता खोज्दा पनि छैन, उता खोज्दा पनि छैन। पेटारी कराएपछि पर बाँधिएका अरू बाख्रा पनि कराउन थाले। हजुरआमाले पेटारीलाई घाँस हालिदिनुभयो। तर पेटारीले घाँस खाएन। रोएजस्तो गरी कराई मात्रै रह्यो ।

तल्लो घरबाट बाबा आउनुभयो। अचम्म ! मने बाबाकै पछिपछि आउँदै थियो। ऊ गाउँ डुल्न गएको रहेछ क्यारे ! मनेलाई देखेर दिदीभाइ खुसी भए। बाबालाई भेटेपछि मानुषले भने, ‘बाबा, मने हामीसित सेल्फी खिच्नै मान्दैन। त्यसलाई फकाउनु न है !’ मानुषका कुरा सुनेर बाबा हाँस्नुभयो। आमा र हजुरआमा पनि हाँस्नुभयो ।

बाबाले भन्नुभयो, ‘पाठोले फोटो खिच्न मान्छ त ? त्यसलाई फोटो भनेको के थाहा ? ’ मानुषले सोधे, ‘बाबा मनेलाई के थाहा छ त ? ’ बाबाले भन्नुभयो, ‘यसले माउको थुन चुस्न जान्दछ। अलि ठूलो भएपछि घाँस खान सिक्छ ।’

मानुषीले भनिन्, ‘भाइ अघिदेखि मनेसँग सेल्फी खिच्ने भनेर कराइरहेको छ। साथीलाई देखाउँछ रे ।’ बाबाले भन्नुभयो, ‘खिच न खिच। बाख्राको पाठोसँग खिचेको फोटो राम्रै हुन्छ ।’ मानुषीले भनिन्, ‘दिदीभाइ दुवैले समातेर खिच्न लागेको, मने भागिहाल्यो ।’

बाबाले पाठो दुवैको हातमा मिलाएर राखिदिनुभयो। मानुषीले एक हातले पाठो समातिन्। अर्को हातले सेल्फी खिचिन्। उनले भनिन्, ‘बाबा, यो फोटो तपाईंको फेसबुकमा राखौं है ! आमाले सेयर गरिदिनुहुन्छ। अनि हाम्रो मनेको फोटो धेरैले हेर्छन् ।’

बाबाले फोटो फेसबुकमा अपलोड गर्नुभयो। आमाले फोटो सेयर गर्नुभयो। मनेसँग सेल्फी खिचेर फेसबुकमा राख्ने उनीहरूको चाहना पूरा भयो। फेसबुकको फोटो हेरेर मानुष मुसुमुसु हाँसे ।

सबैजना खाना खान बसे। खाना खाएपछि फेरि फेसबुक खोले। मेरी बास्सै ! फोटोमा लाइक र कमेन्टको ओइरो !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.