सुशासन समितिमा अख्तियार प्रमुखको जवाफ- ‘वाइडबडी प्रकरणमा विस्तृत अनुसन्धान हुन्छ’
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको सम्बन्धमा आरोपीसँग बयान लिन सुरु गरेको छ। अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइडबडी खरिद सम्बन्धमा बयान लिने काम सुरु भएको जानकारी दिए।
संघीय संसद् राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा बोल्दै प्रमुख आयुक्त घिमिरेले निगमको बाइडबडी विमान प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको बताए।
‘वाइडबडीको बयान लिई अहिलेलाई अख्तियारले विस्तृत अनुसन्धान थालेको छ, बयान लिने कार्य भइरहेको छ, ’ उनले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले यो विषयमा थप बोल्न चाहान्न।’ वाइडवडी खरिदमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइएको उनले बताए।
वाइडबडीमा विमान खरिदमा भएको घोटालाबारे अख्तियार समेत मौन रहेको भन्दै सांसदहरूले चिन्ता प्रकट गरेका थिए।सांसद सरिता प्रसाईले वाइडबडीमा अख्तियार किन मौन बसेको भन्दै प्रश्न गरेकी थिइन्।
इन्टेलिजेन्स व्यूरो नै स्थापना गरी अनुसन्धानलाई तिव्रता दिने प्रमुख आयुक्तले बताए। प्रमुख आयुक्त घिमिरेको नेतृत्वमा अख्तियारले १५ जनाको इन्टेलिजेन्स ब्यूरो स्थापना गरिएको छ।
सांसदहरू भैरवसुन्दर श्रेष्ठ, महेश महरा, विमला राई पौडेल, खिमकुमार विक, कालिबहादुर मल्ल लगायतले अख्तियारमा भइरहेका काम कारबाही र पछिल्ला घटनाका विषयमा प्रश्न गरेका थिए।
प्रतिक्रिया दिनुहोस !