भारतको टाउको दुखाइ बनेका मसुद अजहर गम्भीर बिरामी

भारतको टाउको दुखाइ बनेका मसुद अजहर गम्भीर बिरामी

नयाँ दिल्ली : पाकिस्तानका विदेश मन्त्री शाह महमूद क़ुरैशीले भारतको सर्वाधिक खोजीको सूचीमा रहेका जैस ए मोहम्मदका संस्थापक भनिएका मसुद अजहर गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । 

अमेरिकी टेलिभिजन सीएनएनलाई दिएको एक अन्तर्वार्तामा कुरैशीले मसुद अजहर घरबाट निस्कनै नसक्ने गरी बिरामी अवस्थामा रहेको खुलासा गरेका हुन् । सीएनएनका पत्रकारले मसुद पाकिस्तानमै छन् ? भनेर सोधिएको प्रश्नमा कुरैशीले भने, 'हो उनी पाकिस्तानमै छन् ।'

अन्तर्वार्ता लिइरहेकी चर्चित पत्रकार क्रिस्टियाना अमनपोरले पाकिस्तानले मसुदलाई गिरफ्तार नगरिएकोबारेमा पनि प्रश्न गरेकी थिइन् । यसमा पाकिस्तानी विदेश मन्त्रीले उत्तर दिँदै भने, 'उनी पाकिस्तानमै छन्, तर गम्भीर बिरामी अवस्थामा । बिरामी भएका कारण उनी घरबाटै बाहिर निस्कन सक्दैनन् । पुरै थला परेका छन् ।'

सीएनएनकी पत्रकारले सबै थाहा भएर पनि मसुद अजहरको नाम आतंकवादीको सूचीमा किन नराखिएको भनेर अर्को प्रश्न पनि गरेकी थिइन् । उनले अर्को पनि प्रश्न गरिन्, 'पाकिस्तानको आग्रहमा चीनले संयुक्त राष्ट्र संघमा उनीसँग जोडिएको प्रस्तावमा भिटो प्रयोग गर्‍यो । के अहिलेको अवस्थामा तनाव कम गर्नका लागि अब तपाईँहरुको रणनीतिमा परिवर्तन गर्नुहुन्न?'

यसको जवाफमा कुरैशीले भने, 'हामी यस्ता हरेक कदमका लागि खुला व्यवहार गर्छौँ, जसले दुवै देश (भारत-पाकिस्तान) बीच तनाव कम हुन सकोस् । यदि भारतसँग कुनै ठोस प्रमाण छ भने बसेर कुरा गरौँ । वार्ताको सुरुवात गर्नुस, हामी पनि हरेक विकल्पका लागि छलफल गर्न तयार छौँ ।'

जब पाक विदेश मन्त्रीसँग सोधियो, 'मसुद अजहरका कारण दुवै देशबीच यति धेरै तनाव बढेका बेला तपाईँहरु किन केही गर्नुहुन्न ? यसको जवाफमा उनले भने, 'यदि उनीविरुद्धत भारतले ठोस प्रमाण दियो भने पाकिस्तानी अदालतले कारबाही अघि बढाउँछ । यदि प्रमाण हामीलाई दिएमा हामी पाकिस्तानी जनतालाई पनि यो मामिलामा मनाउन सक्छौँ । प्रमाण भएमा उनलाई हामी हाम्रै देशको अदालतबाट दण्डित गर्न तयार छौँ ।'

के तपाई उनको भूमिकालाई लिएर शंका गर्नु हुन्न ? भनेर सोधिएको अर्को प्रश्नमा उनलले भने, 'कुरा शंका गर्ने नगर्ने भन्ने होइन, यो मामिला अदालतसम्म जानु ठुलो कुरा हो ।'

१४ फेब्रुअरीमा भारतको जम्मु कश्मीरस्थित पुलवामामा केन्द्रीय रिजर्भ प्रहरी फोर्सको एक गाडीम भएको हमलामा कम्तिमा पनि ४६ जना मारिएका थिए । यस हमलाको जिम्मेवारी जैस ए मोहम्मदले लिएको थियो । 

त्यसपछि भारतले पाकिस्तानको बालकोट क्षेत्रमा हवाई आक्रमण गरेर त्यहाँस्थित जै‌स ए मोहम्मदको क्याम्प ध्वस्त पारेको जिकिर गरेको थियो । पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले यस आक्रमणको पुष्टि गरे पनि हताहतीबारे केही पनि बोलेनन् । पाकिस्तानले यस घटनालाई स्वीकारे पनि भारतले हतार हतारमा डाँडामा बम हानेर हिँडेको जनाएको थियो । 

त्यसपछि पाकिस्तानले आफ्नो आकाशमा छिरेका दुई भारतीय लडाकु जहाजलाई मिसाइलले झारेर त्यसका एकजना पाइलटलाई पक्राउ गरेको थियो । पाकिस्तानले आफ्नो वायु सेनाले बुधबार मात्रै भारत प्रशासित कश्मीरका छ स्थानमा आक्रमण गरेको जनाएको छ।

पाकिस्तानले झारेका लडाकुमध्ये एकका भारतीय पाइलट कमाण्डर अभिनन्दन वर्तमानलाई हिरासतमा लिएको थियो । पाकिस्तानले उनलाई शुक्रबार रिहा गर्ने जानकारी दिएको छ । 

को हुन् मसुद अजहर ?

जैस ए मोहम्मद प्रमुख मसुद अजहरको नाम सबैभन्दा पहिले सन् १९९९ मा चर्चामा आयो । त्यसबेला काठमाडौँबाट अपहरण गरी अफगानिस्तानको कान्धार पुर्‍याइएको एयर इन्डियाको जहाज र त्यसमा सवार १६० यात्रु रिहा गराउन भारतलले उनीसहित तीन चरमपन्थीलाई रिहा गर्न बाध्य भएको थियो । 

भारतीय जेलबाट रिहा भएपछि मसुद अजहरले अफगानिस्तानमा तालिबानको सहयोग लिएर जैस ए मोहम्मद समूह बनाएका थिए । यसभन्दा पहिले मसुद अजहर हरकत उल अन्सारका सदस्य थिए । भारतको कश्मीरमा सन् १९९४ मा मसुदलाई गिरफ्तार गरिएको थियो । त्यसपछि सन् १९९९ मा रिहा हुनुअघिसम्म उनलाई जम्मुको कोट भलवाल जेलमा राखिएको थियो । 

भारतको संसदमा सन् २००१ मा भएकोसहित कयौँ ठुला हमलामा उनको हात रहेको दाबी भारतीय पक्षले गर्दै आएको छ । भारतले पञ्जावको पठानकोटस्थित वायु सेनाको बेसमा भएको हमलामा पनि उनैलाई दोषी ठान्दै आएको छ । भारतले अजहर मसुदलाई अन्तरराष्ट्रिय चरमपन्थी घोषित गर्न खोजेको छ । तर हरेक पटक भारतको योजनालाई चीनले भिटो प्रयोग गर्दै असफल बनाइदिने गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.