सल्लाका रुख नष्ट गरेको भन्दै भारतविरुद्ध यूएनमा मुद्दा दायर गर्दै पाकिस्तान
इस्लामाबाद : भारत–पाकिस्तान तनाब मत्थर भइरहँदा पाकिस्तान सरकारले युद्ध विमानको हमलाबाट सल्लाका रुखमा क्षति पुर्याउँदै पर्यावरण पर्यटनमा असर पुर्याएकाे भन्दै भारतविरुद्ध मुद्दा दायर गर्ने भएको छ ।
पाकिस्तान सरकारले संयुक्त राष्ट्रसंघमा भारत सरकारविरुद्ध मुद्दा दायर गर्ने कुरा शुक्रबार यहाँका एक मन्त्रीको हवाला दिँदै रोयटर्सले जनाएको छ ।
मंगलबार भारतीय युद्ध विमानले बालाकाुटस्थित जंगलमा गरेको बम हमलाबाट ठूलो संख्यामा सल्लाका रुख नष्ट भएको पाकिस्तानी पक्षबाट उठ्दैआएको थियो । जब कि, भारतले भने पाकिस्तानमा आफूले गरेको हमलाबाट ३ सय भन्दा धेरै विद्रोहीको ज्यान गएको दावी गर्दैआएको थियो । पाकिस्तानमा जैश ए मोहम्मदको क्याम्पमै बमवारी गरेर सयौं ‘आतंककारी’को हत्या गरेको भारतको जिकिर थियो ।
पाकिस्तानका जलवायु परिवर्तन मन्त्री मलिक अमिन अस्लामले भारतीय जेटको बम हमलाबाट जंगलमा ठूलो क्षति भएकाले संयुक्त राष्ट्रसंघ सहित अन्य अन्तर्राष्ट्रिय फोरममा पनि मुद्दा लैजाने बताएका छन् ।
‘त्यहाँ वातावरणीय आतंक भएको छ,’ अस्लामले त्यहाँ थुप्रै सल्लाका रुख नष्ट भएको र गम्भीर वातावरणीय क्षति भएको बताए । घटनापछि त्यस क्षेत्रमा अवलोकन गर्न पुगेका पत्रकारहरुले भने दर्जनौँको संख्यामा सल्लाका रुख बम हमलाबाट जलेर नष्ट भएको बताएका छन् ।