मोटर गुड्न थालेपछि समृद्धितर्फ पश्चिम पहाड

मोटर गुड्न थालेपछि समृद्धितर्फ पश्चिम पहाड

कर्णाली ब्युरो । सुर्खेत : पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गको ट्र्याक खुलेसँगै कालोपत्रे सुरु भएको छ। मोटरसमेत गुड्न थालेपछि पश्चिम पहाडमा विकासको ढोका खुलेको छ। विकट बस्ती लोकमार्गमा जोडिएसँगै वर्षौंदेखि अभावमा रुमल्लिएको पश्चिम पहाड विस्तारै समृद्धितर्फ लम्किन थालेको हो।

यो लोकमार्गले छुने कर्णालीका पहाडी जिल्ला रुकुम पश्चिम, जाजरकोट र दैलेखखण्डमा कालोपत्रे सुरु भएको छ। लोकमार्गअन्तर्गत अधिकांश स्थानमा पक्की पुल निर्माण प्रक्रिया अगाडि बढेको छ। मुअब्जाको विवाद मिलाउँदै सडक विस्तार र स्तरोन्नति गर्न थालिएको छ। स्तरोन्नतिसँगै सवारीसाधन गुड्न थालेपछि पश्चिम पहाडका बस्ती राजमार्गसँग जोडिएका छन्। यसबाट नागरिकलाई भारी बोक्नुपर्ने बाध्यता हटेको छ भने हिँड्नुपर्ने समस्या पनि टर्दै गएको छ।

पाँचथरबाट सुरु भएको एक हजार सात सय ६५ किलोमिटर लामो यो लोकमार्ग कर्णालीका पहाडी जिल्ला जोड्दै भारतको सिमाना झुलाघाटसम्म पुगेको छ। लोकमार्गअन्तर्गत कतिपय स्थानमा बजार नै विस्तार भइसकेका छन्। पहाडी क्षेत्रमा समेत राजमार्ग बनेपछि अहिले मानिस सडक छेउछाउमा बस्ती सर्न थालेका छन्। त्यसमा पनि कालोपत्रेको कामै अगाडि बढेपछि हिजोआज दुर्गम गाउँ बजारमा परिणत भएका छन्। गाउँनजिकै बजार विस्तार भएपछि स्थानीयलाई उत्पादन गरेका वस्तु बिक्री गर्न सहज बनेको हो। यसले उनीहरूको आम्दानी पनि बढेको छ। विगतमा सडक नहुँदा निर्माण सामान ढुवानी गर्न नसकेर रोकिएका कतिपय आयोजना पनि हिजोआज सञ्चालनमा आएका छन्।

रुकुममा लोकमार्गको एक सय २० किलोमिटर सडक पर्छ। यहाँबाट अन्य सडकबाट भन्दा लोकमार्ग भएर संघीय राजधानी काठमाडौं आठ घण्टा छिटो पुग्न सकिन्छ। यसले सर्वसाधारणको गाडी भाडा बचत भएको छ भने गाउँमा उत्पादन भएका वस्तु बजारसम्म पुर्‍याउन सहज भएको छ। दुई वर्षभित्र रुकुम खण्डमा कालोपत्रे सक्नेगरी काम भइरहेको मध्यपहाडी लोकमार्ग निर्माण आयोजना पश्चिम खण्डका इन्जिनियर शुभराज न्यौपानेले बताए। रुकुम खण्डमा पर्ने १० वटा पुलमध्ये तीन वटा निर्माण सम्पन्न भएका छन् भने बाँकी निर्माणाधीन अवस्थामा छन्। पर्यटन विकासमा यो मार्गले महत्त्वपूर्ण योगदान गरेको छ। लोकमार्गमा गाडी गुडेसँगै जिल्लामा आउने पर्यटकको संख्या पनि बढेको छ। जाजरकोट र दैलेखमा पनि सडकको कालोपत्रे र स्तरनोन्तीको काम भइरहेको छ।

जाजरकोटखण्डमा पर्ने ८२ किलोमिटर सडकखण्डलाई ३० महिनाभित्र कालोपत्रे गर्नेगरी काम सुरु गरिएको हो। एक अर्ब रुपैयाँमा कालोपत्रे सक्नेगरी शर्मा सिंह एन्ड ब्रदर्श जेबी काठमाडौंले ठेक्का लिएको छ। निर्धारित समयमै काम सम्पन्न गर्नका लागि मुख्य क्याम्प कुदु र सहायक क्याम्प पाँच ठाउँमा राखी करिब पाँचसय जना मजदुरले काम गरिरहेका छन्। सडकको नाली निर्माण, कटिङ, मेसिनरी वाल लगाउने र सडक चौडाइलगायत काम भइरहेको आयोजनाका इन्जिनियर तुला शर्माले बताए। भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले सडक निर्माणमा गुणस्तरीयता कायम गर्न आफूहरूले निगरानी गर्ने बताए।

यस्तै, यो लोकमार्गअन्तर्गत दैलेखको राकमकर्णाली र वेस्तडामा बजार विस्तार भइसकेका छन्। यसले स्थानीयलाई वर्षौंपछि गाउँनजिकै किनमेल र बिक्री गर्न सहज भएको छ। दैलेख सडकखण्डमा पनि निर्माणले तीव्रता पाएको छ। दैलेखमा पर्ने एक सय २६ किलोमिटर सडकमध्ये तत्काल ५१ किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने कार्य सुरु भएको छ। बाँकी ७५ किलोमिटर सडकको कालोपत्रेका लागि पनि टेन्डर प्रक्रिया अगाडि बढेको आयोजनाले जनाएको छ। आयोजनाको दैलेखस्थित कार्यालयका प्रमुख नारायणप्रसाद न्युरेले ०७७ वैशाखसम्म जिल्लाभित्रको एक सय २६ किलोमिटर सडक कालोपत्रे गरिसक्ने बताए। उनले विवादित भनिएको दैलेख सदरमुकाम क्षेत्रको पनि टुंगो लगाइएको जनाए। कार्यालयका इन्जिनियर तुलाराम शर्माले भने, ‘सदरमुकाममा मुआब्जाको विवाद टुंगिएको छ, अब काडाँचौर हुँदै सडक अगाडि जान्छ।’

मध्यपहाडी लोकमार्ग निर्माणले सुदूरपश्चिमका पहाडी जिल्लामा पनि विकासका संकेत देखिएका छन्। अछामको बयाला निवासी हर्कबहादुर थापाले भने, ‘सधैं यो क्षेत्रलाई हेपियो, हामी आजसम्म अभावमै बाँच्यौं। अहिले गाउँ राजमार्गमा जोडिएका छन्, अब हाम्रो क्षेत्रले पनि विकासको काँचुली फेर्ने भयो।’ लोकमार्गको ९० किलोमिटर सडक अछाममा पर्छ। सडक निर्माणपछि अछामका दुर्गम स्थान विनायक, गौरीटार र ठूलासैनमा बजार विस्तार भएका छन्। गाउँमै बजार चम्केपछि गाउँलेलाई दैनिक उपभोग्य सामान खरिद गर्न सदरमुकाम नै पुग्नुपर्ने समस्या हराएको छ। यो लोकमार्ग डोटीको सिलगढी हँुदै डडेलधुरा र त्यहाँबाट बैतडीको पाटन हुँदै भारतको सिमानामा रहेको झुलाघाटसम्म पुगेको छ।

पुल बनाउन अल्टिमेटम
जाजरकोटको कुदु र रुकुम पश्चिमको चौरजहारी जोड्ने भेरी पुल निर्माण थाल्न ठेकेदार कम्पनीलाई एकहप्ते अल्टिमेटम दिइएको छ। साताभित्र काम सुचारु नगरे जिल्ला प्रशासन कार्यालय जाजरकोट र मध्यपहाडी सडक आयोजना कार्यालयले ठेक्का सम्झौता तोड्ने चेतावनी दिएका हुन्। फागुन ९ गते ‘अझै बनेन भेरी पुल’ शीर्षकमा अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशन भएपछि स्थानीय प्रशासनले अलपत्र पुल निर्माणबारे चासो लिएको हो। प्रमुख जिल्ला अधिकारी ललित बस्नेतसहितको टोलीले पुल निर्माणको अवस्थाबारे स्थलगत निरीक्षण गरी सडक विकास आयोजनामार्फत ठेकेदार कम्पनीलाई पुल निर्माण गर्न एकहप्ते समय–सीमा तोकेको हो। सम्बन्धित निकायको चेतावनीपछि ठेकेदार कम्पनीले अलपत्र परेको पुलको काम तत्काल थाल्ने प्रतिबद्धता जनाएको छ।

तीन वषर्मा काम सक्ने गरी ०६९ सालमा पुलको ठेक्का सम्झौता भएको थियो। १३ करोड ४७ लाख लागतको उक्त पुल निर्माण गर्ने जिम्मा वाइपी कन्स्ट्रक्सन प्रालि ललितपुरले लिएको थियो। ठेक्का सम्झौता भएको ६ वर्ष बितिसक्दा पनि पुलको केही पिलरको कामबाहेक अन्य काम अघि बढ्न सकेको छैन। लामो समय सम्पर्कविहीन भएर काम अलपत्र पारेका निर्माण व्यवसायी राजुप्रसाद श्रेष्ठ ठेक्का सम्झौता तोड्ने चेतावनीपछि सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

तोकिएको समयमा काम सुरु नगरे ठेक्का–सम्झौता तोडेर नयाँ प्रक्रियामा जाने प्रजिअ बस्नेतको भनाइ छ। पुरानो डिजाइनअनुसार पिलर तथा स्टिलपार्ट भएको पुल निर्माण गर्नुपर्ने थियो। तर, नदीको वहाव डाइभर्सन गर्न नसकिने भएपछि पिलर निर्माण रद्द गरेर लठ्ठावाला सस्पेन्सन ब्रिज बनाउने नयाँ डिजाइन बनेको हो। सडक विभागकै कारण पुल निर्माण ढिलाइ भए पनि अब तत्काल काम थाल्ने निर्माण व्यवसायी श्रेष्ठले बताए।

सुर्खेतबाट ललितबहादुर बुढा, जाजरकोटबाट राजेन्द्र कार्की, दैलेखबाट यज्ञराज थापा र रुकुम पश्चिमबाट महेश केसी।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.