दर्शकको दिल जित्दै 'दिले जोडी'
नुवाकोट : केही वर्षदेखि उकालो लागेको मनोरञ्जन उद्योगमा प्रतिस्पर्धा तीब्र भएकोे छ । यो प्रतिस्पर्धासँगै कलाबारबीच दर्शकको मन जित्ने होडबाजी चलिरहेको छ ।
कलाकारितामा जमेसँगै दर्शकलाई समसामयिक हास्य विधाका माध्यमबाट मनोरञ्जन गराउने कलाकारहरु अब्बल सावित भएका छन् । करिब १० वर्ष सुस्त नेपाली चलचित्र क्षेत्रले नयाँ अध्यायसँगै नयाँ नयाँ प्रयोग पनि गर्न थालेको छ ।
कलाकारिता क्षेत्रमा दर्शकहरुले पनि नयाँ र पृथक प्रयोगलाई मन पराउन थालेका छन् । कलाकारिताको भिडमा अहिले सयौं कलाकार थपिने क्रम पनि जारी छ ।
यही भिडमा छुट्टै पहिचान बनाउन सफल दिले जोडी चर्चित हुँदै गएका छन् । एक दशकदेखि कलाकारितामा संलग्न यो जोडीले अहिले चर्चित हास्य टेलिश्रृंखला मेरी बास्सैमा सफल पात्रका रुपमा दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।
कास्कीको ढिकुरपोखरीका ४१ वर्षीय सापटी काका उर्फ दिवाकर भण्डारी र दाङको देउखुरीका २८ वर्षीय घिरौंले उर्फ लेखान्त भुषाल अभिनयमार्फत दर्शकको मन जित्न तल्लिन छन् । दिले जोडीले तीन वर्षदेखि अभिनयमार्फत दर्शकहरुको मन जित्न सफल भइरहेको छ ।
यो जोडीले अहिले सापटी काका र घिरौंले बनेर नेपाली दर्शकमाझ आफूलाई उभ्याइरहेको छ । चर्चित हास्य टेलिश्रृंखला मेरी बास्सै आफैंमा सफल र लोकप्रिय टेलिश्रृंखला हो ।
यी दुवै पात्रले मेरी बास्सैमा आशायोग्य, निरीह र विपन्न नागरिकको भूमिका निभाइरहेका छन् । दुवैको फरक फरक गेटअप र प्रस्तुतिका कारण दर्शकले मन पराउँदै गएका छन् ।
अभिनयबाट दर्शक तान्न माहिर दुवैले आफूलाई यस विधामा स्थापित गरिसकेका छन् । पहिले सडक नाटक, नाटक, छोटा तथा लामा फिल्म र टेलिफिल्महरुमा अभिनय गरेर चर्चा बटुलिसकेका दुवैको एउटै लक्ष्य रहेको छ, सफल र स्थापित कलाकार हुन् । यही लक्ष्यलाई चुम्न लागि परेको यो जोडी देशका विभिन्न स्थानमा स्टेज प्रहसनमा पनि सक्रिय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !