एक्सनमा इमरान खान : मसुद अजहरका भाइ-छोरासहित ४० जना गिरफ्तार
इस्लामावाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चरमपन्थी गतिविधिमा संलग्नविरुद्ध कडारुपमा प्रस्तुत हुने संकेत गरेका छन् ।
छिमेकी मुलुक भारतले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री खानको निर्देशनमा पाक प्रहरीले जैस ए मोहम्मदका संस्थापक मसहुद अजहरका भाइसहित ४० जनालाई हिरासतमा लिएको छ ।
समाचार एजेन्सीका अनुसार हिरासतमा लिइएका चरमपन्थीहरुमा धेरैजसो जैस ए मोहम्मदसँग जोडिएका छन् । पाकिस्तानी विदेश राज्य मन्त्री शहरयार अफ्रिदीका अनुसार प्रतिबन्धित संगठनका सदस्यहरुलाई हिरासतमा लिइएको हो ।
यिनमा मसुद अजहरका भाइ अब्दुल असगर र छोार हमजा अजहर पनि सामेल छन् । अफ्रिदीका अनुसार आतंकवादीविरुद्ध कुनै विदेशी शक्तिको दबाबमा नभइ देशको हितका लागि गरिएको हो ।
आतंकवादीमाथि यस किसिमको कारबाही अबको दुई हप्तासम्म निरन्तर जारी रहनेछ । यो कारबाही पाकिस्तानी भूमिमा कुनै पनि आतंकवादी गतिविधि स्वीकार्य हुन नसक्ने इमरान खानको प्रतिवद्धता अनुसार भएको हो ।
संयुक्त राष्ट्र संघमा पाकिस्तानकी स्थायी प्रतिनिधि मलिहा लोधीले मंगलवार यदि भारतले भने जस्तो आतंकवादीको ठोस प्रमाण भेटिएमा आफूहरु कारबाहीका लागि तयार रहेको बताएकी छन् । तर यदि प्रमाण नमिलेमा आफूहरुले बिनाआधार कारबाही गर्न नसक्ने स्पष्टिकरण उनले दिएकी छन् ।यसभन्दा पहिले पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि भारतको कश्मीरस्थित पुलवामामा भएको हमलामा आफ्नो मुलुकबाट हमला भएको प्रमाण भारतले दिएमा आफू कारबाहीका लागि तयार भएको बताएका थिए । उनले यो मामिलामा हरेक किसिमको जाँच गर्न तयार रहेको बताउँदै तर भारतले ठोस प्रमाण दिनु पहिलो शर्त भएको उल्लेख गरेका थिए ।
सम्पत्ति जफत गर्न आदेश
यसभन्दा पहिले सोमबार पाकिस्तान सरकारले संयुक्त राष्ट्र संघ सुरक्षा समितिबाट प्रतिबन्धित सबै संगठनको सम्पत्ति जफत गर्न आदेश दिएको छ । चर्चित पाकिस्तानी पत्रिका डनको रिपोर्ट अनुसार पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले प्रतिबन्धित संगठनको सम्पत्ति जफत हुने बताइसकेका छन् । यसमा ती संगठनको चन्दा असुल्ने प्रक्रिया र एम्बुलेन्स सेवा पनि बन्द गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !