ट्याटुतिर तन

ट्याटुतिर तन

मकवानपुरकी कुमारी तामाङ (२४) ले फागुनको पहिलो हप्ता पाखुरामा भगवान् बुद्धको ट्याटु खोपाइन्। वर्षौंदेखिको सपना पूरा भएकोमा उनी मक्ख छिन्। मकवानपुरमै स्कुल पढ्दाताका उनका दाजुले काठमाडौंबाट घर आउँदा हातभरि ट्याटु बनाएका थिए। उनी त्यसबेलै लोभिएकी थिइन्।

काठमाडौं बस्न थालेको सात वर्ष बित्न लाग्दा पनि उनको रहर ज्यूूँ का त्यूँ थियो। फाइनान्समा काम गर्न थालेकी तामाङले पहिलो तलब खर्चेर ट्याटु खोपाएकी हुन्। ‘आफ्नै कमाइले सोचेको काम गर्न पाउँदा खुसी लाग्दो रहेछ। बुद्धको मुखाकृति भएकाले सबैले प्रशंसा पनि गर्नुभयो।’ उनले भनिन्।

भक्तपुरका सुजन श्रेष्ठ (२०)ले दायाँ हातमा संगीतको चिह्न र बायाँ हातमा लभको चिह्न खोपाएका छन्। कलेज जाँदा उनी प्रायः ट्याटु देखाउँदैनन्। अरू बेला भने ट्याटु देखिने गरी कपडा लगाउँछन्। संगीतको समेत विद्यार्थी रहेका उनी आफ्नो रुचिको ट्याटु रूपमा खोपाउन पाउँदा दंग छन्।

गंगा कार्की (२३)ले घाँटीको पछाडि भागमा गणेशको सानो आकृति खोपाएकी छन्। सानैदखि आफूू गणेशभक्त रहेको बताउने उनी अफिस जाँदा र कलेज जाँदा ट्याटु देखाउँदिनन्। अन्य समयमा भने ट्याटु देखिन कपडा लगाउँछिन्। उनी ट्याटुलाई कलाको रूपमा बुझाउँदै भन्छिन्, ‘कतिपय मानिसहरू अझै पनि ट्याटुलाई राम्रो दृष्टिकोणले हेर्देनन्। उनीहरूले कलाको रूपमा लिन सकेका छैनन्।’ यसबाट मन परेको वा आफूूलाई प्यारो लाग्ने चीज, वस्तु वा विषयसँग भावनात्मक नजिकिन सकिन्छ।

ठमेलस्थित ‘गगन ट्याटु इन्’का म्यानेजर एवं कलाकार जीवन राजवंशी नेवारी, चौधरी र राजवंशी समुदायमा रहेको परम्परागत ट्याटु संस्कृति कलासँग जोडिएको बताउँछन्। ‘पहिले पहिले ट्याटुलाई गहनाको रूपमा लिइन्थ्यो। त्यसबेला मौरी ट्याटु प्रचलनमा थियो। मर्दा पनि सँगै लान सकिने सम्पत्तिको रूपमा यसलाई लिइन्थ्यो। पाहुना जाँदासमेत बनाएर पठाउने गरिन्थ्यो।’

राजवंशीका अनुसार १८ देखि ३५ वर्षसम्मका युवा ट्याटुतिर आकर्षित छन्। बजारमा ट्राइबल ट्याटु, मौरी ट्याटु, जापानिज ट्याटु, ओरेन्टल ट्याटु, फेसनेबल ट्याटु प्रचलित रहेको उनको ठम्याइँ छ। हिजोआज अधिकांश युवा आफैं नयाँ डिजाइन लिएर आउने गरेको बताउँछन्, उनी।

कञ्चनपुरका रोशन मगरले केही वर्षअघि लहडैलहडमा ट्याटु खोपाए। जेनतेन प्लस टु पास गरे। त्यसपछि आयो जागिरको कुरा। पुलिसमा दरखास्त हाले। तर उनी बीचैमा रोकिए। कारण थियो उनको ट्याटु। पछि फेरि उनले रोजगारीका खाडी मुलुक लागि जान मन गरे। त्यहाँ पनि ट्याटु बनाएका कामदार लैजान मेनपावर व्यवसायी राजी भएनन्। उनको जागिरे बन्ने सपना पूरा भएन। त्यसपछि उनले स्नातक पास गरे। हाल एक गैरसरकारी संस्थामा कार्यरत उनी ट्याटु खोपाउन अघि धेरै सोच्न सल्लाह दिँदै भन्छन्, ‘दस पटक सोचेर मात्रै ट्याटु खोपाउनुपर्छ नत्र कुनै पनि बेला फसिने रहेछ।


‘ट्याटु हटाउन मिल्दैन। त्यसका लागि रेजर गर्नुपर्छ। यो डाक्टरले गर्ने कुरा भयो। हामी यसलाई ‘कभर अप’ गर्न सक्छौं अर्थात् नदेखिने र नबुझिने बनाउँछौं।’ एक पटक बनाइसकेको ट्याटु हटाउन नमिल्ने बरु अर्को बनाएर छोप्न मात्र मिल्ने भएकाले धेरै पटक सोच्नुपर्ने बताउँछन् राजवंशी।

आशिष गुरुङ (२१) ले त्यस्तै समस्या झेल्नु पर्‍यो। उनले गर्ल फ्रेन्डको नाम दाहिने हातमा खोपाएको एक वर्ष नबित्दै उनीहरू बीच ‘ब्रेकअप’ भयो। उनी त्यो समस्या लिएर कलाकार कहाँ पुगे। कलाकारले समाधानको बाटो खोजिदिए अनि उक्त नामलाई ‘कभर अप’ गरेर झन्डाको आकृति बनाइदिए।

ठमेलकै मोहन्स् ट्याटुमा भेटिएका राजु गुरुङ (३२) लन्डन बस्दै आएका छन्। हालै मात्र नेपाल आएका उनी दसौं वर्ष अघिदेखि ट्याटु खोपाउँदै आएका छन्। सुरुमा उनले चिनियाँ भाषामा अक्षर खोपाए। हिजोआज उनी उनी धेरैजसो ‘रियालिस्टिक पोट्रेट’ मन पराउँछन्। ट्याटुप्रति समाजको दृष्टिकोण बदलिएको र यो एउटा कलाको अंग बन्दै भएकामा खुसी छन्।

मोहन्स् ट्याटुमा कार्यरत गुञ्जन बजगाईं ट्याटुको हेरचाह राम्रोसँग गर्न नसक्दा कलात्मक नहुने बताउँछन्। यसका लागि सफाइमा ध्यान दिन र सिकारु कलाकारबाट टाढा रहन उनी सुझाउँछन्। उनी पनि ट्याटुतिर ३५ वर्षसम्मका युवाहरू धेरै नै आकर्षित भएको बताउँछन्। युवाहरू आफ्नै रुचिअनुसारका खोप्न रुचाउने गरेको बताउँछन्।

केही वर्ष अघिसम्म ट्याटु खोप्नेलाई गुन्डा, ट्यापे, फटाहाको आरोप लगाइन्थ्यो। समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण राम्रो थिएन। कतिपय उनीहरूसँग तर्किएर हिँड्थे। हिजोआज ट्याटु संस्कृति कलासँग जोडिएको छ। आफ्नो रुचि र क्षेत्रको चिह्न खोपाएर खुला रूपमा देखाएर हिँड्ने वातावरण बन्न थालेको छ। यसमा सबै उमेरसमूहका मानिस सहभागी छन्। युवा आफैं नयाँ नयाँ डिजाइन सिर्जना गर्न थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.