बादी दम्पतीको गुमनाम दशक

बादी दम्पतीको गुमनाम दशक

घरपरिवारको कुरा गर्नासाथ आँखामा उदासी छाउँछ, डिक्राको। मुहार मलिन देखिन्छ, यस्तो बेला। सुस्केरा हाँल्दै यत्ति भन्छिन्-दुःख बताएर पनि कति बताम् ?       


आगमन र विलय

कसैकी बासमती धान

कसैकी कोदे नाई

कसैकी सुनको हार

कसैकी पोते नाई

झन्डै एक दशकपछि श्रोतामाझ डिक्रा बादीको स्वरमा गुन्जिएको यो डेउडाको टुक्रा सुन्दा लाग्थ्यो- यो उनकै जीवनको सार हो। डेउडा र ठाडीमार्फत आमभोगाइका विरह र हर्ष, लोक अनुभूति र डिगाबाच्छाका अनुभव सुसेल्ने डिक्रा २०५२ देखि २०५६ सालसम्म चर्चा कमाएकी गायिका हुन्। यो अवधिमा ठाडी र डेउडाकै पर्याय बनेकी उनी गरिबी, जातीय दलन र पारिवारिक संकटका कारण लामो समय संगीतबाट टाढा बस्न बाध्य भइन्।

पहिलो पटक राजधानीमा यही फागुन ११ गते सम्पन्न आफ्नो ‘एकल डेउडा गायन’ सुरु गर्नुअघि भावुक हुँदै उनले विगत सम्झिइन्, ‘मेमोरी कार्डमा गीत कपी हुन थालेपछि स्टुडियोहरू बन्द भए। गीत गाइदिनू भन्दै आउनेहरू हराए।’ उनीकहाँ गीत गाइदिनू भन्दै धाउनेहरू हराएपछि उनी पनि बजारको ‘मेमोरी’बाट हराइन्।

संवत् पचासको दशक। नेपाली क्यासेटको बजार फस्टाइरहेको समय। राजधानीका क्यासेट कम्पनीहरू शाखा विस्तार गर्दै सुदूरपश्चिमका धनगढी, नेपालगन्ज जस्ता सहरसम्म पुगे। यिनैमध्येको एउटा स्टुडियोमा सारंगीवादकका रूपमा काम गर्थे, डिक्राका श्रीमान् कित्थ्या बादी। क्यासेटको बजार सुकेपछि यो दम्पती नै बेरोजगार भयो।

उनीहरूको परम्परागत पेसा गानाबजाना बन्द भयो। कित्थ्या कहिले चौकीदारी गर्न त कहिले ढुंगागिट्टी कुट्न बम्बई, दिल्ली र गढवालसम्म पुगे। ‘धेरैले चिन्ने कलाकार भएकाले नेपाल (काठमाडौं)मा मजदुरी गर्न सरम हुन्छ भनेर बूढालाई इन्डिया पठाएँ’, पुराना प्रसंग कोट्याउँदा स्टेजमै भावविह्वल बनेकी थिइन् डिक्रा।

आज श्रीमान् कित्थ्याको ठाउँमा कान्छा छोरा मलेसियामा श्रम बेचिरहेका छन्। सारंगीमा पारंगत कित्थ्या र नृत्यमा पारंगत कान्छा छोरा विवश फरक भूगोलमा उस्तै नियति भोग्न बाध्य पात्र हुन्। घरपरिवारको कुरा गर्नासाथ आँखामा उदासी छाउँछ, डिक्राको। मुहार मलिन देखिन्छ, यस्तो बेला। सुस्केरा हाँल्दै यत्ति भन्छिन्, ‘दुःख बताएर पनि कति बताम् ?        ’

बुवाको मृत्युको दुई वर्षपछि आमा, मानसिक रूपमा बिरामी दिदी र तीन बहिनीलाई आफूसँगै राख्नुपर्यो उनले। सुरुमा बहिनी बितिन्। अर्को वर्ष आमा। त्यसपछि पालैपालो दुई बहिनी र दिदी बितिन्। सुन्दै कहाली लाग्ने चरम वियोगका शृंखला भोगेकी डिक्रालाई आज पनि खुसी दिने केही छ भने त्यो गायन नै हो।

खाँदा खाँदा मीठो लाग्छ गइली मूलको पानी

यता न उताको भयो मेरो जिन्दगानी

नौ वर्षसम्म संगीतबाट टाढा, गुपचुप र गुमनाम बस्नुको पीडामा रचिएको गीत हो यो। कुनै बेला चर्चाको शिखरमा पुगेर फेरि ‘हात लाग्यो शून्य’ हुनुको निराशा छ यो गीतमा। यही गीत गुनगुनाउँदै उनले भनिन्, ‘यो गीत मेरो आफ्नै कथा हो।’ कथामा दुःखको मात्रा धेरै भएपछि त्यो व्यथा बन्छ। डिक्राको यो गीत उनको आफ्नै व्यथा हो।

दलितभित्रका पनि दलित

डिक्राको खास नाम मेनुका हो भने कित्थ्याको किशन। मेनुका नामलाई छिमेकीले डिक्रा बनाइदिए। किशनलाई समाजले कित्थ्या। डिक्रा र कित्थ्या नाम नै चढे, नागरिकतामा पनि। जातका आधारमा आफ्नो असली नाम गुमाउने वा बंग्याइने धेरै दलितमध्येका प्रतिनिधि पात्र हुन्, यी दुई।

बाजुरामा जन्मेहुर्केकी डिक्रा विवाहपछि श्रीमान्को घर बझाङ पुगिन्। ‘नाचगान गरेर मागीखाने जात’का रूपमा दुई छाक जोहो गर्न गाह्रो परेपछि ऐलानी जग्गाको खोजीमा उनको परिवार २०४९ सालमा कञ्चनपुर झर्यो। केही ठाउँको अस्थिर र अस्थायी बासपछि जसोतसो टेक्ने जमिन र बस्ने घर बनाए कञ्चनपुरको बंकमा।

समाजमा आर्थिक पुँजी नभएकाहरू कमजोर हुन्छन्। आर्थिकसँगै सामाजिक–सांस्कृतिक हैसियत पनि कमजोर भएकाहरू त झनै लाचार हुने नै भए। बादीहरू वाद्यवादन र नाचगानमा सम्पन्न छन्। तर पहाडी दलितमध्ये पुछारमा पर्छन् बादीहरू। पुछारमा पर्नु दलनमा पर्नु हो। डिक्रा र कित्थ्या पनि धेरै पटक दलिएका छन् ठालुहरूबाट।

नाच्नेगाउने र बाजा बनाउने सीप भएर पनि ‘तल्लो जात’ भएकै कारण समाजमा सम्मान र स्वाभिमानपूर्वक बाँच्न कहिल्यै पाएनन् यिनले। बरु, पटकपटक ‘तिमी भाँडहरू’ जस्ता कटु वचन सुन्नु परिरह्यो। यस्तो अवस्थामा पनि यी बादी दम्पतीसँगै धेरै बादीले परम्परा धानिरहेका छन्, आज पनि। तर विडम्बना ! परम्पराले उनीहरूलाई धानेन।

सारंगी बजाएर डिक्रा बादीलाई साथ दिँदै श्रीमान् कितथ्या बादी (माथि) र डिक्राको गीतमा अभिनय गर्दै माेडल देवु बोहरा ।

डिक्रालाई काठमाडौं निम्त्याउने सूत्रधार हेमन्त विवश लेख्छन्, ‘बादीहरूले गाउँगाउँ डुल्दै गाउँदै गरेका भाका टपक्क टिपेर रेकर्ड गराए कतिपय गायिकाले। जातीय छुवाछूतले निकै नै गाँजेको समाजले के नै दिन्थ्यो र उनको संगीतलाई महत्त्व ? ’

बादी समुदायबाट एमफिल गर्ने एक मात्र गोपाल बादीको चिन्ता छ, ‘लामो समयदेखि बादी समुदाय विशेषमा मात्रै बाँचिरहेको मौलिक संस्कृति र क्षमतालाई न बादीले जोगाउन सके, न त राज्यले त्यसको संरक्षण गर्यो।’

दलित अभियन्ता शिवहरि ज्ञवाली भन्छन्, ‘बजार जुनसुकै होस्, त्यहाँ उच्च जात र टाठाबाठाहरूकै हालिमुहाली छ। डिक्रा र कित्थ्या ओझेल पर्नुमा सतहमा प्रविधिको हेरफेर देखिए पनि अन्तर्यमा जात व्यवस्थाको असर बढी छ।’ जातीय थिचाइकै मारमा बजारमा माग बढेको समयमा पनि पारिश्रमिक लिने कुरामा यो दम्पती ठगिइरह्यो। जाँतोझैं गरिबी र जातको चक्रमा फनफनी घुमिरहेका डिक्रा र कित्थ्या स्वरमा स्वर मिलाउँदै भन्छन्, ‘हामीसँग भाका र लय माग्नेहरू अगाडि बढे। हामी जहाँको त्यैं।’

संगीतबारे ज्ञान र दक्षता राख्ने जात, समूह र समुदायको सशक्तीकरण गर्नेबारे बहस नहुँदा डिक्रा र कित्थ्या जस्ता धेरै कलाकार हराउन बाध्य छन्। लोकसंस्कृतिको जगेर्ना र नेपाली संगीत क्षेत्रको बहसको केन्द्रमा यस्ता कलाकारसँग जोडिएका जातीय मुद्दालाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने आवश्यकताबारे जोड दिन्छन्, ज्ञवाली।

लोकको संकट

हाम्रा प्राचीन मूल्यमान्यतासँग जोडिएका धेरै विषय श्रुति परम्परा र संगीतमा जोडिएर आउँछन्। तर यसको जगेर्नाका लागि धेरै कुरा बाधक बनिरहेका छन्। र, यस्तै बाधाको मारमा परिरहेका छन्, डिक्रा र कित्थ्याहरू।

सुदूरपश्चिमका कलासंस्कृतिको हकमा भौगोलिक दूरी र भाषा–भाषिकाले पनि ठूलो खाडल खडा गरेका छन्। रेडियो नेपालमा गीत रेकर्ड गराउन सुदूरपश्चिमबाट हप्ता दिनभन्दा बढी हिँडेर आएका कलाकारका प्रसंग यहाँनिर सान्दर्भिक छ। भाषाकै कारण कोही ‘राष्ट्रिय’ कलाकार त कोही क्षेत्रीय हुनुपर्ने स्थिति पनि छँदै छ।

काठमाडौं सँगको दूरीकै कारण हिट हुँदा पनि काठमाडौंभन्दा भारतका बम्बई, दिल्ली जस्ता सहर नजिक भए, डिक्रा दम्पतीका लागि। ठूलो संख्यामा आज पनि बादीहरू भारतका विभिन्न सहरमा नाचगान गर्न गइरहेकै छन्, विशेष अवसरहरूमा।

सहरीकरण र माओवादी जनसंघर्षको पृष्ठभूमिमा तीव्र बनेको बसाइँसराइले सहरमा ‘कोठे लोकगीत’ र ‘लोकदोहोरी’को बजार फैलाएको धेरै भएको छैन। त्यो विस्तारित बजारमा डिक्रा जस्ता धेरै सक्कली कलाकार भने लामो समय ‘क्षेत्रीय कलाकार’का रूपमा खुम्चिन बाध्य भए।

डिक्राको एकल डेउडा गायन यस्तै दूरी कम गर्ने प्रयासको कडी थियो। कार्यक्रममा बादी दम्पतीले पाएको सम्मान र आर्थिक सद्भावले यस्ता थप प्रयासहरूको माग गरेको छ। धेरै लोक कलाकार र उनीहरूका सिर्जनामा बाँचिरहेको लोक ज्ञान देशभित्रका बहुभाषा र बहुसांस्कृतिक गतिविधिमा कैद छन्। फरक संस्कृति र फरक भूगोलमा भएका लोककला र लोकज्ञानको जगेर्नाका लागि ‘नेपाली संगीत के हो ?  यसको पहिचानका लागि कसले, कस्तो पहल गर्ने ? ’ भन्ने बहस छेड्नु जरुरी छ।

डेउडाभित्र विम्ब, प्रतीक, मिथक, स्मृति, इतिहास र जनजीवनका किस्साहरू धेरै कुरा पाइन्छ। यसै विषयमा घोत्लिएका हेमन्त विवश भन्छन्, ‘हाम्रो लोकसंस्कृतिको एउटा सानो अंश हो डेउडा, तर डेउडाभित्र के छैन ? संसार अटाएको छ।’

डिक्राको एकल गायनमा गायिका झुमा लिम्बूले दुइटा गीतमा साथ दिइन्, डिक्रालाई। डिक्राको रिहर्सलमा समेत केही दिन बिताएकी रैथाने संगीत समूहकी संयोजक झुमा लिम्बूले स्टेजबाटै भनेकी थिइन्, ‘हाम्रो संगीत र पहिचान जोगाउने असली कलाकार डिक्रा र कित्थ्या बादी नै हो। उहाँहरूलाई पछि पारे हाम्रो संगीत कहीँ पुग्दैन।’

डिक्राहरूलाई बाहिर ल्याउन उनीहरूको खोजी जरुरी छ। यस्तो खोजपछि तिनले गर्ने कामको महत्त्वलाई स्थापित गर्ने जिम्मेवारी पनि डिक्राको खोजी गर्नेहरूकै भागमा आएको छ। डिक्राहरूको खोजी र जगेर्ना लोकसंस्कृतिको खोजी मात्रै होइन, सांस्कृतिक क्षेत्रमा खास समुदायले चाहिरहेको आत्मसम्मानको खोजी पनि हो।

‘बाली बैंस त डेउडा गाउँदागाउँदै गइसकेको छ। नमरी बाँचे, कालले साँचे, साथै सबैजनाको साथ सपोर्ट मिल्यो भने मीठामीठा गीत गाउने धोको छ’, काठमाडौंको केही दिनको बसाइ सकेर फिर्न लाग्दा डिक्रा बादीले लेखेको फेसबुक स्ट्याटस हो यो।

नौ वर्ष ठाडी, डेउडा र श्रोताबाट टाढा बस्नु परेर पनि पुनः गीत गाइरहने डिक्राको धोकोमा एउटा प्रश्न पनि लुकेको छ। डिक्रा जस्ता रैथाने संगीतका धनी कलाकारको धोको पूरा गर्ने जिम्मेवारी कसको ?       
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.