बार्सिलोनाको सजिलो जित, मेसीको २६ औं गोल
बार्सिलोना : स्पेनिस ला लिगा फुटबलको शनिबार राति खेलिएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले रायो भालेकानोमाथि ३-१ गोलको जित हासिल गरेको छ। अर्को खेलमा तालिकाको दोस्रो स्थानमा आसिन एट्लेटिको म्याड्रिडले पनि लेगानेसलाई १-० गोलले पाखा लगायो।
घरेलु मैदानमा खेलिएको खेलमा बार्सिलोनाका लागि जेरार्ड पीके, लियोनल मेसी र लुइस स्वारेजले एक÷एक गोलको योगदान गरे। खेलमा सुरुआती अग्रता भने रायो भालेकानोले लिएको थियो। खेलको २४औं मिनेटमा रायो भालेकानोका लागि राउल डी टोमसले पहिलो गोल गरे। उनी ऋणमा रियल म्याड्रिडबाट रायो भालेकानोमा आबद्ध भएका हुन्।
बार्सिलोनाका लागि ३८औं मिनेटमा पीकेले पहिलो गोल गरी खेल बराबरी गरे। ५१औं मिनेटमा अर्जेन्टिनी स्टार मेसीले पेनाल्टीमार्फत टोलीको अग्रता २-१ बनाए। जारी सिजनमा ला लिगाका सर्वाधिक गोलकर्ता मेसीले २५ खेलमा २६ गोल गरिसकेका छन्। बार्सिलोनाका लागि तेस्रो गोल ८२औं मिनेटमा उरुग्वेका खेलाडी स्वारेजले थपेका थिए।
हालसम्म २७ खेल खेलेको बार्सिलोना ६३ अंकसहित पहिलो र समान खेल खेलेको एट्लेटिको म्याड्रिड ५६ अंकसहित दोस्रो स्थानमा छन्। तालिकाको तेस्रो स्थानमा आसिन रियल म्याड्रिडले भने २६ खेलबाट ४८ अंक बटुलेको छ। गेटाफे २७ खेलबाट ४५ अंक हात पार्दै चौथो स्थानमा छ।
बार्सिलोनासँग पराजित भएको रायो भालेकोनो भने रेलिगेसनबाट जोगिन सँघर्षरत छ। तालिकाको १९औं स्थानमा आसिन रायो भालेकानो २७ खेलबाट २३ अंकमात्र बटुल्न सकेको छ। रायो भालेकानोको यो लगातार छैटौं हार हो।
गेटाफेले शनिबार रातिको खेलमा एसडी हुएस्कालाई २-१ गोलले हरायो। लेगानेसविरुद्घको खेलमा एट्लेटिको म्याड्रिडका लागि ५०औं मिनेटमा सल निग्वेजले निर्णायक गोल गरेका थिए।