म्यानचेस्टर सिटीको जितमा स्टर्लिङको ह्याट्रिक
लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलको शनिबार राति खेलिएको खेलमा म्यानचेस्टर सिटीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी वाट्फोर्डलाई ३-१ गोलले हराएको छ। जितसँगै ‘लिग लिडर’ म्यानचेस्टर सिटीले आफ्नो निकट्तम प्रतिद्वन्द्वी लिभरपुलसँग चार अंकको अग्रता हासिल गरेको छ। यद्दपि, म्यानचेस्टर सिटीको तुलनामा लिभरपुलले एक खेल कम खेलेको छ।
घरेलु मैदानमा खेलिएको खेलमा म्यानचेस्टर सिटीका लागि रहिम स्टर्लिङले ह्याट्रिक गरे। उनले खेलको दोस्रो हाफ सुरु भएलगत्तै केवल १४ मिनेटको बीचमा तीनवटै गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४६औं मिनेटमा स्टर्लिङले पहिलो गोल गरेका थिए।
खेलको ५०औं मिनेटमा स्टर्लिङले टोलीको अग्रता दोब्बर बनाए भने ५९औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए। वाट्फोर्डका लागि भने एकमात्र गोल ६६औं मिनेटमा जेरार्ड डेलोफेउले गरेका थिए। स्टर्लिङले गरेको पहिलो गोल अफ साइड भएको भनी निकै बिबादित बनेको थियो।
हालसम्म ३० खेल खेलेको म्यानचेस्टर सिटीले ७४ अंक जोडेको छ। तालिकाको दोस्रो स्थानमा आसिन लिभरपुलले २९ खेलबाट ७० अंक हात पारेको छ। ३० खेलबाट ६१ अंक बटुलेको टोट्टनहाम तेस्रो र २९ खेलबाट ५८ अंक हात पारेको म्यानचेस्टर युनाइटेड चौथो स्थानमा छन्। वाट्फोर्ड भने ३० खेलबाट ४३ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ।
म्यानचेस्टर सिटीले प्रिमियर लिगमा पछिल्ला ११ मध्ये १० खेलमा जित हात पारेको छ। एक खेलमा भने म्यानचेस्टर सिटी पराजित भएको छ। वाट्फोर्डले भने तालिकाको पहिलो स्थानमा आसिन टोलीसँग खेलको पछिल्ला १० खेलमा पराजय भोगेको छ। यसबीचमा वाट्फोर्डले केवल नौ गोल गरेको छ भने २९ गोल खाएको छ।
जारी सिजनमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा खेलिएका खेलबाट मात्र ४५ अंक जोडेको छ। घरेलु मैदानमा खेलिएको एक खेलमा भने गत डिसेम्बरमा म्यानचेस्टर सिटीलाई क्रिस्टल प्यालेसले हराएको थियो। स्टर्लिङले गरेको ह्याट्रिक सन् २०१६ को सेप्टेम्बरयता प्रिमियर लिगमा भएको दोस्रो छिटो ह्याट्रिक हो। सन् २०१६ को सेप्टेम्बरमा रोमेलु लुकाकुले १२ मिनेटको बीचमा तीन गोल गरेका थिए।
यसैगरी टोट्टनहाम भने आफ्नो पछिल्लो खेलमा साउथ ह्याम्पटनसँग उसैको मैदानमा २-१ गोलले पराजित भएको छ। खेल सुरु भएको २६औं मिनेटमा ह्यारी केनले गोल गरे पनि टोट्टनहामले त्यसलाई जोगाउन सकेन। साउथ ह्याम्पटनका लागि ७६औं मिनेटमा यान भालेरी र ८१औं मिनेटमा जेम्स वार्डले गोल गरेका थिए।
अर्को खेलमा न्युक्यासल युनाइटेडले घरेलु मैदानमा एभर्टनमाथि ३-२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो। लेस्टर सिटीले पनि घरेलु मैदानमै फुलहामलाई ३-१ गोलले पाखा लगायो। बर्नमाउथले हडर्सफिल्ड टाउनलाई उसैको मैदानमा २-० गोलले हरायो भने कार्डिफ सिटीले घरेलु मैदानको फाइदा उठाउँदै वेस्टहाम युनाइटेडलाई २-० गोलले पराजित गर्यो।