मान्डु हाइड्रो बन्यो, कुलेखानी सुस्त
![मान्डु हाइड्रो बन्यो, कुलेखानी सुस्त](https://annapurnapost.prixacdn.net/media/albums/mandu-hydro_20190310005030_ev1tbVaRHj.jpg)
मकवानपुर : निजी क्षेत्रको मान्डु हाइड्रो निर्माण सम्पन्न भएको छ। तर, सरकारी विद्युत् आयोजना कुलेखानी तेस्रोबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन। जबकि कुलेखानी तेस्रो निर्माण थालेको आठ वर्षपछि मान्डु सुरु गरिएको थियो।
१४ मेगावाट क्षमताको कुलेखानी तेस्रोको भीमफेदी गाउँपालिका सानुटारमा निर्माणाधीन छ। भीमफेदीकै इपापन्चकन्यामा २२ मेगावाट क्षमताको मान्डु हाइड्रो निर्माण सकिएर शनिबार बाँधमा पानी जम्मा गर्न सुरु गरिएको आयोजना इन्चार्ज मनोज सिंहले बताए। उनका अनुसार एक साताभित्र परीक्षण उत्पादन सुरु हुनेछ। यसबाट बागमतीको फोहोर पानी पनि सदुपयोग हुने भएको छ।
मान्डु हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाबाट आजदेखि ६६ केभी प्रसारण लाइन चार्जका लागि विद्युत् उत्पादन गरिने इन्चार्ज सिंहले बताए। भीमफेदी–५, ६, ७ र ८ नम्बर वडाको इपापञ्चकन्याबाट बगरबेंसी पावरहाउसम्म पशु–चौपाया नछाड्न तथा जथाभावी नहिँड्न आयोजनाले आग्रह गरेको छ। यहाँबाट उत्पादित विद्युत् कुलेखानी प्रथमको सबस्टेसन धोर्सिङमा राष्ट्रिय प्रसारणमा जोडिनेछ। पावरहाउसबाट साढे १३ किलोमिटर दूरीको सबस्टेसनसम्म विद्युत् पु¥याउन ४४ वटा टावर निर्माण गरिएको छ। दुई साताभित्र नियमित विद्यत् उत्पादन सुरु हुने सिंहले बताए। ‘परीक्षणपछि हामी नियमित उत्पादनमा जान्छौं’, उनले भने, ‘त्यसका लागि १५ दिन लाग्छ।’
जलविद्युत् आयोजना निर्माणमा निजी लक्ष्यभन्दा अगाडि र सरकारी सुस्त देखिएको छ।
मान्डु हाइड्रोपावर र चिनियाँ कम्पनी सिइच्वाङ हेइच्वाङले २०७२ वैशाखमा आयोजना निर्माण थालेका थिए। ४ अर्ब लगानीमा चार वर्षभित्रै काम सम्पन्न भएको हो। २०७६ असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। ‘स्थानीयको सहयोगका कारण लक्ष्यभन्दा अघि निर्माण सकाउन हामी सफल भएका छौं’, उनले भने।
बागमती र कोगटेको पानी इपापञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको वेयर (बाँध) निर्माण गरी सुरुङमार्फत पावरहाउसमा पु¥याइएको छ। मुख्य सुरुङ २ हजार ४ सय २४ मिटर लामो छ। चौडाइ ३.७ र उचाइ ३.८ डायमिटर छ । बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२.४ क्युसेक पानी बग्ने आयोजनाले जनाएको छ।
बाँध, सुरुङ निर्माण र पावरहाउसको सिभिल वर्क नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चरले गरेको इन्जिनियर महेन्द्र अधिकारीले बताए । सिभिल वर्कतर्फ दैनिक २ सय कामदार खटिएका थिए। इलेक्ट्रो मेकानिकलको काममा पाँच चिनियाँसहित ३० नेपाली कामदार र प्राविधिक खटिएका थिए।
आफ्नो ठाउँमा विद्युत् आयोजना निर्माण भएपछि स्थानीय खुसी भएका छन्। ‘स्थानीयले १० प्रतिशत सेयर पाउने भएका छन्’, गाउँपालिका अध्यक्ष हिदम लामाले भने, ‘गाउँपालिका र स्थानीयलाई पनि प्रत्यक्ष फाइदा पुग्ने भएकाले निर्माणमा आवश्यक सहयोग गरेका छौं।’ प्रभावित क्षेत्र ललितपुरका माल्टा, घुसेल र मकवानपुरका इपापञ्चकन्या, सिस्नेरी, कोगटे र भीमफेदीका स्थानीयले १२ करोड रुपैयाँबराबरको सेयर पाउनेछन्। सेयर वितरणको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष लामाले सुनाए।
मान्डु हाइड्रोपावरले विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ४० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता गरेको छ । काठमाडौंमा मेलम्चीको पानी आएपछि आयोजनाबाट थप केही मेगावाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ।
कुलेखानी तेस्रो अन्तिम चरणमा
कुलेखानी तेस्रो निर्माण अन्तिम चरणमा पुगेको आयोजना प्रमुख सुभाष मि श्रले बताए। पूर्वाधार परीक्षणपछि परीक्षण उत्पादन सुरु हुने उनको भनाइ छ। २०६४ चैतमा काम सुरु गरिएको यो आयोजना २०६८ मा सम्पन्न गर्ने गर्ने लक्ष्य थियो।
मकवानपुर इपापञ्चकन्यास्थित मान्डु हाइड्रोको पावरहाउस।
पावरहाउसको ठेक्का पाएको चिनियाँ कम्पनी जेजियाङ जिल्लुन र सिभिलतर्फको काम पाएको सिनो हाइड्रोले ढिलासुस्ती गरेको उनले बताए। ६ पटक म्याद थप हुँदा आयोजनाको लागत ४ अर्ब ६५ करोड पुगेको छ। १ अर्ब ४७ करोड रुपैयाँमा सक्ने गरी आयोजना सुरु गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)